BIZMANDU
www.bizmandu.com

सर्वोच्च अदालतले भन्यो-‘निजी अस्पताल कोरोनाको उपचारबाट पन्छिन पाउँदैनन्’

२०७६ चैत्र १८

Tata
GBIME
Nepal Life

काठमाडौँ। सर्वोच्च अदालतले निजी स्वास्थ्य संस्था कोरोना संक्रमितको उपचारबाट पन्छिन नपाउने भन्दै सोही अनुसार प्रबन्ध गर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालत बार एशोसिएशनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले  उपचारको दायित्वबाट पन्छन नमिल्ने आदेश गरेको हो। इजलासले आवश्यक व्यक्तिगत सुरक्षाको प्रबन्ध गरी उपचारमा संलग्न गराउन आदेश दिएको हो।

कुनै नीतिगत प्रबन्धको आवश्यक परेमा तत्काल गर्न पनि अदालतले भनेको छ। निजी स्वास्थ्य संस्थामा उपलब्ध भएका बेड, आइसियू कक्ष, भेन्टिलेटर लगायत कोरोना संक्रमितको उपचारमा व्यवस्था मिलाउन पनि आदेशमा भनिएको छ।

सर्वोच्चले भनेको छ, ‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन । त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आइसियु कक्ष, भेन्टिलेटर लगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा दिन आवश्यक व्यवस्था मिलाउनु।’

अदालतले विपदसम्बन्धी अन्य नीतिगत निर्णयका लागि तत्काल अध्यादेश जारी गर्न माग गरिएको विषयमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। चैत २३ गते दुबै पक्षलाई अदालतले बोलाएको हो।