BIZMANDU
www.bizmandu.com

लकडाउनले ‘ओरिजिनल’ कागजपत्र पठाउन नपाउँदा कोलकातामा रोकियो सामान

२०७६ चैत्र १६

लकडाउनले ‘ओरिजिनल’ कागजपत्र पठाउन नपाउँदा कोलकातामा रोकियो सामान
लकडाउनले ‘ओरिजिनल’ कागजपत्र पठाउन नपाउँदा कोलकातामा रोकियो सामान

काठमाडौं। संसारका अधिकांश देश लकडाउन भएपछि नेपालले मगाएका तयारी वस्तु तथा कच्चा पदार्थ कोलकाता बन्दरगाहमा रोकिएको छ।

Tata
GBIME
Nepal Life

लकडाउनले गर्दा 'ओरिजिनल' कागजपत्र पठाउने माध्यम बन्द भएको छ। ओरिजिनल कागजपत्र नभइ वस्तु छुटाउन सकिँदैन। त्यसैले कोलकातामा सामान रोकिन थालेको हो।

'बैंकबाट ओरिजिनल डकुमेन्ट जानु पर्छ। तर कागजपत्र पठाउने सेवा पनि बन्द भएकाले पठाउन सकिएको छैन,' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बिजमाण्डूसँग भने, 'सामान उतै अड्किन थालेको छ।'

सामान कोलकातामा रोकिँदा व्यवसायीले अतिरिक्त शुल्क (डिटेन्सन चार्ज) तिरिरहेका छन् । कोलकाता सामान आएपछि तोकिएको समयमा सामान नल्याए प्रतिकन्टेनर ७५ अमेरिकी डलर तिर्नुपर्छ। व्यवसायीले कन्टेनरमा तिरेको अतिरिक्त शुल्क वस्तुको बिक्री मूल्यमा जोडिएर आउँदा पछि उपभोक्ताले तिर्नुपर्छ।

कोरोना भाइरसको संक्रमण रोक्न अहिले भारतले पनि लकडाउन गरिरहेको छ। नेपालले गत मंगलबारदेखि लकडाउन गरिरहेको छ। लकडाउनका कारण कागजपत्र आदानप्रदान गर्ने माध्यम 'डीएचएल' पनि बन्द छ।

'लकडाउनअघि नेपाली बैंकले तयारी तथा कच्चा पदार्थका लागि प्रतितपत्र (एलसी) खोलेका थिए,' पाण्डेले भने, 'त्यसअघि खोलिएका एलसीको सामान आएर कोलकातामा रोकिन थालेको हो।'

नेपाल समुद्रपार निकासी पैठारी संघले डिटेन्सन चार्जमा भन्सार छुट दिन पहल सुरु गरेको छ। उनीहरुले बैंकरलाई पनि पहल गरिदिन आग्रह गरिरहेका छन्।

सामान छुटाउन नपाउँदा व्यवसायीले अनावश्यक रुपमा बिलम्ब शुल्क तिर्नुपर्दा व्यवसायको लागत बढिरहेको बेला त्यसलाई समेत जोडेर भन्सार असुल्दा व्यवसायी र उपभोक्ता दुवैलाई मर्का पर्ने संघको भनाइ छ।

कोरोनाका कारण  ट्रक र कन्टेनर ब्यवसायीले पनि सामान उठाउन मानिरहेका छैनन्। कागजपत्रको समस्या हल हुने हो भने उनीहरुलाई मनाउन सकिने कुरा आयातकर्ताले बैंकसँग गरेका छन्।

अप्ठेरोमा 'चार्ज' नलिन कुटनीतिक पहल

संसार नै अप्ठेरोमा परेकाले भारतसँग कुराकानी गरेर कुनै शुल्क नलाग्ने ब्यवस्था मिलाउनु पर्ने ब्यवसायी र बैंकर बताउँछन्।

यस्तो बेलामा भारत सरकारले पनि मान्ने भएकाले सरकारले कुटनीतिक पहल गरेर शुल्क नलाग्ने वातावरण बनाउनु पर्ने एक ब्यवसायीले बताए।

चीनका लागि टीटीको माग

सबैतिर भुक्तानीका लागि कुनै माग नआइरहेका बेला चीनबाट भने माग आउन थालेको छ। अत्यावश्यक सामाग्री आयातका लागि बैंकहरुले टीटी जारी गर्न थालेका छन्।

'नेपाल एयरलाइन्स गएर सामान ल्याउने भएपछि टीटी जारी गर्न थालेका छौं,' पाण्डेले भने, 'चीनतिर ब्यापार सुरु हुन थालेको छ। अन्यत्र भने माग छैन।'

उनका अनुसार, संसार नै लकडाउनमा परेका कारण एलसी खोल्न कोही पनि नआएका हुन्। 'सबैतिर बन्द छ। त्यही भएर सामान मगाउन पनि गाह्रो भएको छ,' उनले भने, 'अहिले कसैले पनि एलसी खोलेका छैनन्। लकडाउन अघि भने एलसीको कारोबार थियो।'