BIZMANDU
www.bizmandu.com

सरकारको निर्देशन स्थानीय प्रशासनले मानेनन्, विराटनगर र वीरगंजमा रहेका खाद्यान्न उद्योग बन्द


सरकारको निर्देशन स्थानीय प्रशासनले मानेनन्, विराटनगर र वीरगंजमा रहेका खाद्यान्न उद्योग बन्द
सरकारको निर्देशन स्थानीय प्रशासनले मानेनन्, विराटनगर र वीरगंजमा रहेका खाद्यान्न उद्योग बन्द


Tata
GBIME
Nepal Life

विराटनगर। सरकारले खाद्यान्न लगायतका  उद्योग पूर्ण संचालनका लागि आह्वान गरेपनि विराटनगर र वीरगंज औद्योगिक कोरिडरका अधिकांश उद्योग बन्द भएका छन्।

सरकारको आह्वानपछि उद्योग संचालन गर्न खोजे पनि स्थानीय प्रशासनको असहयोगका कारण बन्द गर्नुपर्ने अवस्था आएको हो। कतिपय उद्योगमा सुरक्षा निकायले मजदुरलाई कुटपिट समेत गरेका कारण उद्योग बन्द गर्न संचालक बाध्य भएका हुन्। मन्त्रालयले खाद्यान्नका उद्योग सञ्चालन गर्न ११ गते आह्वान गरेकोमा सोही दिनदेखि यस्ता उद्योगहरू बन्द हुन थालेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यकारी सदस्य श्रवण अग्रवालले आफ्नो सञ्चालनमा रहेका दुई चामल उद्योग ११ गतेदेखि नै बन्द भएको जानकारी दिए। अग्रवाल संचालक रहेको मोरङको कटहरीस्थित शिव भगवती खाद्य उद्योग र सुनसरीको खनारस्थित स्वस्तिक खाद्य उद्योग बन्द भएका छन्।

त्यस्तै उनी संचालक रहेको विराटनगर महानगरस्थित तोरीको तेल उद्योग श्याम एग्रो प्रोडक्ट इन्डस्ट्रिज प्रालि पनि ११ गतेदेखि नै बन्द भएको छ।
विराटनगरको चन्द्र शिव राइस एन्ड आयल मिल ११ गते संचालनमा आए पनि बुधबारदेखि बन्द भएको छ। विराटनगरकै अत्याधुनिक प्रविधिको राधाकृष्ण राइस मिल पनि ११ गते बन्द गरिएको छ। राधाकृष्णका संचालक सुधीर तोदीले भने, ‘भएको चामल बिहान ८ देखि ११ बजेसम्म बिक्री गरिरहेका छौं, नयाँ उत्पादन गरेका छैनौं।’

आटा-मैदा उत्पादन गर्ने गोमती फ्लोर मिलका नरेश राठी र न्युट्री फुड प्रालिका प्रदीप शारडाले आआफ्ना उद्योग बन्द गरेको जानकारी दिए।उद्योगी अग्रवालका अनुसार लकडाउनका कारण प्रहरीले मजदुरलाई बाटो हिँड्न नदिएपछि उद्योग बन्द गर्न बाध्य हुनु परेको हो। संचालन गर्न अत्यावश्यक मानिएका उद्योगका मजदुर र कर्मचारीलाई स्थानीय प्रशासनले पास दिनुपर्ने उनले बताए।

उनको प्रश्न छ, ‘सरकार आह्वान एकातिर छ, अर्कातिर प्रहरीले हाम्रा मजदुर र कर्मचारीलाई उद्योगसम्म आउन दिएको छैन। अनि कसरी कारखाना सञ्चालन गर्न सकिन्छ ?,’ उनले सुनसरी र मोरङमा खाने तेल, चामल र पिठोका गरी पक सयवटा भन्दा बढी उद्योग रहेको जानकारी दिँदै सबैजसो उद्योग बन्द भइसकेको दाबी गरे।

उनले भने, ‘हामीले गरेको उत्पादन ढुवानी गर्ने साधनलाई पनि चल्न दिइएको छैन। उत्पादन गरेर केमा ढुवानी गर्ने र कहाँ पुर्‍याउने भन्ने समस्या छ। त्यसैले पनि उद्योग बन्द गर्न बाध्य हुनुपरेको हो।'

खाद्यान्न र खानेतेल उत्पादन गर्ने उद्योगसित बढीमा २ हप्ताको कच्चा पदार्थ भएको र संचालन गर्न दिएमा २ हप्ता गर्न सकिने उनले दाबी गरे। अग्रवालका अनुसार खाद्यवस्तुका उद्योग खोल्न मन्त्रालयले आग्रह त गरेको छ, तर प्याकिङ म्याटेरियलका उद्योग सञ्चालन गर्न अनुमति छैन। जुट र प्लास्टिकका बोरा, कार्टुन, प्लास्टिक प्याकेजिङका सामग्री र जर्किन लगायतका प्याकिङ म्याटेरियलका उद्योग बन्द छन्।

एमएम प्लास्टिकका सञ्चालक सुयश प्याकुरेल, बोरा उत्पादन गर्ने रघुपति जुट मिल्सका राजकुमार गोल्छा, कार्टुन उद्योगका पारस लुनियाँ र प्लास्टिक प्याकेजिङका वीरेन्द्र राठीले आआफ्ना उद्योगहरू बन्द गरिसकेको जानकारी दिए। चामल, पिठो र तेल सँगसँगै चाउचाउ र  बिस्कुटजस्ता खाद्यवस्तुका उद्योग पनि बन्द भएका छन्।

‘मन्त्रालयले खाद्यवस्तुका उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ,’ गुडलाइफ बिस्कुट र रमपम चाउचाउका सञ्चालक महेश जाजूले भने, ‘तर उद्योगमा वडाध्यक्ष, मेयर र प्रहरीसमेत आएर बन्द गर्नूस् भने पछि हामीले बन्द गरेका हौं ।’‘मन्त्रालयको आह्वान लिएर हामी प्रमुख जिल्ला अधिकारीसमक्ष पनि गयौं’,' उद्योगी जाजूले भने, ‘हाम्रो धारणा के थियो भने मन्त्रालयले खाद्यवस्तु भनेपछि चाउचाउ र बिस्कुटका उद्योगहरू सञ्चालनमा ल्याइनु पर्छ, तर प्रजिअ मदन भुजेलले स्पष्ट उत्तर दिन सक्नु भएन। यसपछि हामी उद्योग बन्द गर्न बाध्य भयौं।’

वीरगंजमा पनि समस्या त्यस्तै

यस्तै वीरगंज–पथलैया औद्योगिक करिडोरका अतिआवश्यक तथा खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योगहरू धमाधम बन्द हुन थालेका छन्।

स्थानीय प्रहरी प्रशासनले उद्योग सञ्चालनको लागि चाहिने आवश्यक सुविधा उपलब्ध नगराउँदा औषधि, चामल, तेल, दाल, दाना र साबुनलगायत उद्योगहरू बन्द गर्ने मनस्थितिमा पुगेको वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए।

दुई दिनदेखि जारी लकडाउनले गर्दा उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थहरूको आपूर्ति प्रभावित भएको छ भने अर्कोतर्फ उद्योगबाट उत्पादित सामानहरू अन्य ठाउँमा लैजाने अवस्था नरहेकोले उद्योग चल्न समस्या भइरहेको हो। साथै प्रहरी प्रशासनले ठाउँ–ठाउँमा उद्योगमा काम गर्न आउने मजदूरहरूलाई कुटपिट गर्न थालेपछि काममा आउन डराएको उनले बताए।

इलाका प्रहरी कार्यालय,जीतपुरले छातापिपरामा संचालित आरती सोप एन्ड केमिकल्स उद्योगमा काम गर्ने मोहन आचार्य, गोविन्द यादव, नथुनी सरदार र मधु गुप्तालगायत चारजना मजदूरहरूलाई कुटपिट गरी घाइते बनाएको समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीले बताए। 

श्रम कार्यालय, वीरगंजका निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले सरकारबाट अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगहरूलाई बन्द नगर्न निर्देशन दिएपनि स्थानीय प्रहरी प्रशासनको असहयोगको कारण जेनतेन हिसाबले केही उद्योगहरूमा मात्र चलिरहेको जानकारी गराए। 'एक त अवस्था सामान्य छैन, अर्को भारतीय मजदुरहरू सबै गइसकेका छन्। नेपाली मजदूरहरूलाई पनि धरपकड र कुटपिट भइरहेको अवस्थामा श्रमिक वर्ग त्रसित छन्। उद्योगलाई चाहिने गाडी, पैसा, मजदुर, कच्चा पदार्थ र तयारी सामान ढुवानीमा प्रशासनले सहयोग गर्नुपर्छ। नत्र अवस्था जटिल बन्छ,' उनले भने। 

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगको विषयमा बुधबार छलफल भएको बिहीबारदेखि मजदुर वर्ग र उद्योगको गाडी आवतजावतमा रोक नलगाउने प्रतिबद्धता पाएको बताए।

वीरगंज कोरिडरमा नेशनल हेल्थ केयर प्रालि, नेपाल फर्मास्युटिकल्स, क्वेस्ट, आर्या, युनिक, म्याग्नस, मारूती लगायत एक दर्जनभन्दा बढी औषधि उद्योग छन्। निम्बसको प्रोप्राइटर, रूगँटा समूहको ओम चाओ विरो इन्डस्ट्रिज ओसिबी फिड्स एन्ड फूड्स, केडिया समूहको सुशील वनस्पति घ्यू, ऋद्धिसिद्धि ग्रुपको अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप, चाचान समूहको नारायणी रिफाइनरी र दाल मिल, चावो सति, शिवशक्ति रिफाइनरी लगायत उद्योगले खाद्यान्न सामग्री उत्पादन गर्दै आएका छन्।

उद्योगीका अनुसार, पर्सा, बारा, रौतहटमा संचालित करीब अढाइ सय चामल उद्योगमध्ये धेरै बन्द भइसकेका छन्। राइस मिलबाट उत्पादन हुने धानको भूस बजारमा जान नसकेर मिल बन्द हुन थालेको नेपाल चामल, तेल, दाल संघका अध्यक्ष समेत रहेका उद्योगी सुबोध गुप्ताले बताए। 

निम्बसले मजदूरहरूलाई यसरी दिंदैछ सुविधा
निम्बस समूहको प्रोवायोटिक इन्डस्ट्रिजमा अहिले एक सिफ्टमा ३५ जना मजदुरहरूलाई मात्र राखेर आवश्यक सामग्री, दाना, तेल र दाल उत्पादन भइरहेको उद्योगका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बताए। 

 उनका अनुसार हरेक मजदुरलाई एक दिनका लागि एउटा मास्क, एउटा ग्लोब्स, सेनिटाइजर र एक–एक घण्टा हात धुन साबुन–पानीको व्यवस्था मिलाइएको छ। उद्योगमा काम गर्नुभन्दा अघि र काम गरेर घर फर्कने बेलामा सरसफाइमा विशेष ध्यान दिन उद्योगले सचेत पारेको उनले बताए।