BIZMANDU
www.bizmandu.com

मालसामान आयातका लागि तातोपानी र केरुङ नाका खोल्ने निर्णय, खाद्यान्न होम डेलिभरी गरिने

२०७६ चैत्र १२

मालसामान आयातका लागि तातोपानी र केरुङ नाका खोल्ने निर्णय, खाद्यान्न होम डेलिभरी गरिने
मालसामान आयातका लागि तातोपानी र केरुङ नाका खोल्ने निर्णय, खाद्यान्न होम डेलिभरी गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले चीनतर्फको व्यापारिक नाका खोल्ने निर्णय गरेको छ। बुधबार बसेको कोरोना समन्वय समितिको बैठकले यो नाका खोल्ने निर्णय गरेको हो।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात गर्ने निर्णय गरेको हो। नाका खोल्दा आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने उल्लेख छ। चीनमा कोरोना भाइरस देखिएपछि नेपाल-चीनको व्यापारिक नाका बन्द गरिएको थियो। बैठकले अति आवश्यक बैंकिङ सेवा गृह र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय समेत भएको छ।

बैठकले औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने र यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय समेत गरेको छ।

औषधि उत्पादन, ग्यास बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने र  गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने निर्णय बैठकले गरेको छ।

बैठकले ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय समेत भएको छ।

बैठकले स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न आग्रह गरेको छ।

अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ, ऊर्जा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ।

बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने निर्णय समेत गरेको छ। यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा उनीहरुकै खर्चमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। 

बैठकले स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने निर्णय गरेको छ। स्थानीय स्वास्थ्य संयोजकले कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

 यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपत्‌कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउनुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ।