BIZMANDU
www.bizmandu.com

वीरगंजमा ब्रोइलर कुखुरा मासु १६० रुपैयाँमै पाइन थाल्यो,दुई दिनमै हरियो तरकारीको मूल्यो दोब्बर

२०७६ चैत्र १२


वीरगंज। सरकारले कोरोना रोगको रोकथामको लागि लगाएको लक डाउनको कारण वीरगंज आसपासको बजारमा हरियो तरकारी तथा फलफूलको दाम ह्वातै अकाशिएको छ।

Tata
GBIME
Nepal Life

ब्रोइलर कुखुराको खपत भने घटेको छ। खपत कमसँगै भाउ सस्तिएको छ। साथै कुखुराको मासुबाट पनि कोरोना रोग सर्ने हल्ला चलेपछि ब्रोइलर कुखुराको माग कम भएको छ। 

वीरगंज माछा मासु व्यवसायी संघका सचिव ग्याँसु मिया देवानका अनुसार वीरगंज बजारमा अहिले एक सय ६० रुपैयाँ किलोमा कुखुरा र ९ सय रुपैयाँ किलोमा खसीको मासु बिक्री भइरहेको छ। लकडाउनले माछा मासु पसल बन्द भएका छन्। 

सरकारले लक डाउन गरेसँगै खाद्य आपूर्ति ब्यवस्थापन गर्न नसक्दा सर्वसाधारण मारमा परेको वीरगंजका सेराज अहमदले बताए। उनले वीरगंजमा अहिले हरियो तरकारीको मूल्य दोब्बरले वृद्धि भएकाले सर्वसाधारण अप्ठेरोमा परेको बताए। 

उनले भने,‘हिजोसम्म ३० रुपैया पर्ने आलु आज ६० रुपैयाँमा पनि पाउन छोडेको छ, प्याज, काउली, गोलभेडा, कटहर, भिन्डी, करेला,परवल,सागलगायत सबै तरकारीको दाम बढेको छ।’

सस्तोमा सामान उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्नु पर्ने उनको माग छ।

वीरगंज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बाहिरबाट आउने तरकारीको आपूर्ति  रोकिएपछि भाउ बढेको बताए।

‘व्यवसायीले दाम बढाएका होइनन्,पर्सा, बारा जिल्लाबाट साइकलमा आउने हरियो तरकारी र आलु बन्दको कारण रोकिएको हो,’ उनले भने,‘सरकारले तरकारीको सवारीसाधन र किसानलाई बजारसम्म आउन दिनु पर्छ,नत्र अझै तरकारीको भाउ बढ्छ।’

तरकारी तथा खद्यान्न व्यसायीहरुले उपभोक्ताहरुलाई नआत्तिन पनि सुझाव दिएका छन्। उनीहरुले धेरै दिनको भण्डारणको चक्करमा लाग्दा बजारमा खद्यान्न तथा तरकारीको चरम अभाव भएको हो।