BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईले पूर्व अर्थमन्त्री विचार मञ्च गठन गर्यो, आर्थिक मुद्दामा पैरवी गर्ने

२०७६ चैत्र ७

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका मुद्दामा वहस र पैरवी गर्न पूर्व अर्थमन्त्री विचार मञ्च गठन गरेको छ।

महासंघमा शुक्रबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीसहितको भेलाले यो मञ्च गठन गरेको हो। भेलामा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई, महेश आचार्य र विष्णु पौडेल भने उपस्थित थिएनन्। भेलामा महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल, किशोर प्रधान र महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति थियो।

भेलाले चार बुँदे निर्णय समेत गरेको छ। मञ्चका माध्यमबाट अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालाहरुसंग नियमित छलफल चलाई त्यसको समाधानका लागि सार्थक पहल गर्ने, कोभिड १९ बाट उत्पन्न हुन सक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, कोभिड १९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने, कोभिड १९ बाट उत्पन्न विपत्तिको अवस्थामा आदरणीय जनसमुदाय तथा व्यवसायिक क्षेत्रका सवै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गर्ने निर्णय समेत गरेको छ।