BIZMANDU
www.bizmandu.com

पाँच तारे होटल बन्द गर्न थालियो, हायात ६ सातालाई बन्द, सोल्टीको एउटा विङ बन्द

२०७६ चैत्र ६

पाँच तारे होटल बन्द गर्न थालियो, हायात ६ सातालाई बन्द, सोल्टीको एउटा विङ बन्द
पाँच तारे होटल बन्द गर्न थालियो, हायात ६ सातालाई बन्द, सोल्टीको एउटा विङ बन्द


काठमाडौं। पाँच तारे होटल हायात बन्द भएको छ। हायात ब्यवस्थापनले आगामी ६ साताका लागि होटल बन्द गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन होटल बन्द गरिएको हो। होटलले ६ सातापछि पनि अवस्था हेरेर मात्र आवश्यक निर्णय गर्ने जनाएको छ।

'कोरोना प्रकोपले होटल अकुपेन्सी छैन' सञ्चालक डिजे श्रेष्ठले भने, 'सञ्चालन खर्च पनि उच्च छ। त्यही भएर ६ सातालाई बन्द गर्ने भएका हौं।'

अर्को पाँच तारे होटल सोल्टीले दुई वटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। बत्तीसपुतलीस्थित होटल द्वारिकाज्ले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ।

अन्य पाँच तारे होटलले पनि ब्यवसाय बन्द गर्ने भएका छन्। सरकारले हिजो २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। अहिले कोरोनाका कारण पर्यटक आवगमन ठप्प छ।

नेपाल सरकारले पनि पर्यटक भिसा दिन बन्द गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।

सबैतिर त्रासको वातावरण बन्दै गएपछि मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ। 'बन्द गर भनिसकेको अवस्था छ। तर होटल भनेको इमरजेन्सीमा पनि चाहिन्छ भनेर हामीले खोलिरहेका हौं' सञ्चालक शशिकान्त अग्रवालले भने, 'भोलि डब्लुएचओकै मान्छे आए भने बस्ने ठाउँ हुँदैन। त्यही भएर खोलेको हो।'

उनले अहिले बिजुली र पानीकै खर्च पनि धेरै भएको भन्दै अन्य खर्च पनि उस्तै हुने भएकाले बन्द गर्नुको बिकल्प नरहेको बताए। बन्द गरेपछि कर्मचारीलाई के गर्ने भन्ने बिषय टुङ्ग्याउन बाँकी रहेकाले पर्खिरहेको बताए।

अर्को होटल र्याडिसन पनि भोलि सञ्चालक समितिको बैठक बसेर बन्द गर्ने पक्षमा छ। त्यहाँ पनि कर्मचारीसँग कुराकानी मिलाएर बन्द गर्ने तयारी भैरहेको छ। र्याडिसनमा अहिले ३ वटा कोठामा मात्र पाहुना छन्। अन्नपुर्ण र याक एण्ड यति होटलले पनि अहिले कर्मचारीसँग कुराकानी गरिरहेका छन्। बन्द गर्ने भएपछि उनहरुलाई के कति हर्जाना दिने भनेर छलफल भइरहेको छ।

'पुरै तलब दिन सकिँदैन' अग्रवालले भने, 'सबैसँग कुराकानी गरेर हामी निर्णय गर्ने छौं।'

यता चन्द्रागिरि केवालकार पनि बन्द गर्ने तयारी भइरहेको छ। औपचारिक निर्णय भने भइसकेको छैन। ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द गर्ने भइएको छ। साथै झम्सिखेलाका होटल पनि बन्द गर्न थालिएका छन्।

सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। 

अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ। 

सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई रोक लगाउने भएको छ। सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ।