BIZMANDU
www.bizmandu.com

आउँदो गभर्नर कस्तो चाहिन्छ? अनिल शाहको नजरमा गभर्नरमा चाहिने पाँच योग्यता

२०७६ चैत्र ६

आउँदो गभर्नर कस्तो चाहिन्छ? अनिल शाहको नजरमा गभर्नरमा चाहिने पाँच योग्यता
आउँदो गभर्नर कस्तो चाहिन्छ? अनिल शाहको नजरमा गभर्नरमा चाहिने पाँच योग्यता



गभर्नरका लागि ३/४ चार वटा योग्यता अनिवार्य चाहिन्छ। गभर्नर राष्ट्र बैंक बुझेको चाहिन्छ, तर त्यति मात्र बुझेर हुँदैन। राष्ट्र बैंकको कार्यकारी प्रमुख गभर्नर हो। वित्तीय क्षेत्रको 'लिडर' राष्ट्र बैंक आफैमा पनि ठूलो संस्था हो। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका कर्मचारीले 'हामीले यस्तो राम्रो गभर्नर पाएका छौं अब हामीले पनि केही गर्नु पर्छ' भनेर उच्च मनोवल राख्न सक्ने मान्छेलाई गभर्नर बनाउनु पर्छ। जे काम गरे पनि गभर्नर एक्लैले गर्ने होइन, राष्ट्र बैंकभित्रको जनशक्तिले त्यो काम गर्ने हो। वित्तीय क्षेत्रलाई निगरानी राख्नेदेखि लिएर मौद्रिक नीतिलाई कार्यान्वय तथा सरकारलाई सुझाब दिनेसम्म गर्नु पर्छ। विश्व बैंक, मुद्रा कोषसँगको सम्बन्ध बलियो बनाउनु पर्ने हुन्छ। त्यो भनो गभर्नर र उहाँको टिमले हो। राष्ट्र बैंकको टिमलाई मनोबल बढाउने र त्यहाँ 'नेतृत्व' झल्काएर प्रोत्साहित गर्ने मान्छे गभर्नर चाहिन्छ।

गभर्नर हुनका लागि राष्ट्र बैंक बुझेर मात्र पुग्दैन। वित्तीय क्षेत्र बुझेको मान्छे पनि चाहिन्छ। गभर्नरले ल्याएको नीति कार्यान्वयन गर्ने बैंक तथा वित्तीय संस्थाले हो। त्यसैले उहाँले ल्याउने नीति कार्यान्वयनयोग्य र समय सान्दर्भिक हुनु पर्छ।

वित्तीय क्षेत्र बुझेको मान्छे आउनु पर्छ भनेको मतलव बैंकरले भनेको सुन्नु पर्छ भनेर भनेको होइन। गभर्नरले हाम्रो कुरा बुझ्न सक्नु हुन्छ भनेर हो। जे ठिक हो त्यो निर्णय लिनु हुन्छ भनेर हो। किनभने अनिल शाहले आफ्नो संस्थाको हितको कुरा गर्ला, अर्को बैंकको सिइओले आफ्नो हितको कुरा गर्ला। नुनको सोझो हामी सबैले गर्नु गर्छ। तर गभर्नरले देशको हितको कुरा गर्नु पर्छ। समग्र वित्तीय क्षेत्रको हितको कुरा गर्नु पर्छ। त्यो कुरा गर्नका लागि त पहिले बुझ्नु पर्यो। गभर्नरको कार्यकाल पाँच बर्षको हुन्छ। दुई बर्ष वित्तीय क्षेत्र बुझ्नै लाग्यो भने त काम भएन। वित्तीय क्षेत्र बुझेको त्यस हिसाबले हुनु पर्छ।

गभर्नरमा हुनै पर्ने अर्को योग्यता भनेको सरकारसँग समन्वय गर्ने क्षमता पनि हो। सरकारसँग एकदमै राम्रो सम्बन्ध भएको मान्छे चाहिन्छ। सरकार, अर्थमन्त्रालय र योजना आयोगले एउटा आर्थिक भिजन ल्याएको हुन्छ। त्यसलाई कार्यान्वयन गर्ने एउटा महत्वपूर्ण अंग पनि राष्ट्र बैंक हो। सरकारी भिजन नबुझेको मान्छे आयो भने त्यो कार्यान्वयन हुन सक्दैन। सरकारी भिजनमा विश्वास गर्ने मान्छे चाहिन्छ। यस अर्थमा अर्थमन्त्री, सरकार र गभर्नरको समन्वय राम्रो हुनु पर्छ। समन्वय हुन सक्यो भने काम चाँडो हुन्छ। भएन भने बाधा अड्चन र गाँठो फुकाउनै समय लाग्छ। 

अर्थमन्त्रीसँग मिलेको मान्छे हुनु पर्छ वा प्रधानमन्त्रीसँग मिलेको मान्छे हुनु पर्छ भन्ने होइन। अहिले स्थिर सरकार छ। अबको तीन बर्ष यही सरकार हुन्छ। त्यो सरकारको भिजन बुझेको र भिजनसँग मिलेमतो भएको मान्छे गभर्नर चाहिन्छ भन्न खोजेको हो।

अब गभर्नरले वित्तीय क्षेत्र मात्र होइन अर्थतन्त्र पनि राम्रोसँग बुझेको हुनु पर्छ। मैले बैंकहरु राम्रो चलाउँछु, वित्तीय क्षेत्र राम्रो चलाउँछु, राष्ट्र बैंक पनि राम्रो चलाउँछु भनेर मात्र हुँदैन। हामीले गरेको कामले अर्थतन्त्रलाई के प्रभाव पार्छ? त्यो पनि बुझ्नु पर्छ। वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो। मुटुलाई मजबुत कसरी बनाउने? त्यो सोच भएको गभर्नर चाहिन्छ।

बुझेको गभर्नरले होटल एसोशिएसनलाई पनि सकारात्मक प्रभाव पार्न सक्ने नीति ल्याउन सक्छ। एफएनसीसीआइ र सिएनआइलाई पनि राम्रो प्रभाव पार्ने नीति आउँछ। त्यो प्रभाव ब्याज बढाउनु पर्यो भन्दा बढाइ दिने वा घटाउनु पर्यो भने घटाइ दिने होइन। के गर्यो भने सम्पूर्ण अर्थतन्त्रलाई राम्रो हुन्छ त्यो गर्न सक्ने भन्न खोजेको हो। बैंकहरुको नाफा मात्रै बढ्ने वा घट्ने, सरकारको राजश्व मात्रै बढाउने होइन कि नेपालको सबै क्षेत्रलाई समेट्ने खालको हुनु पर्छ। त्यसका लागि अर्थतन्त्रको गहिरो ज्ञान भएको मान्छे चाहिन्छ।

नेपालमा प्रान्तीय सरकारहरु छन्। हरेक प्रान्तमा अर्थमन्त्री, मूख्य मन्त्री छन्। ती सबैको आर्थिक उन्नति गर्ने लक्ष्य छ। त्यो आर्थिक उन्नति गर्नलाई पुँजी पुर्याउने काम राष्ट्र बैंकको मौद्रिक नीति र वित्तीय क्षेत्रले गर्ने हो। त्यो हाँक्न सक्ने क्षमता भएको मान्छे गभर्नर चाहिन्छ। 

नयाँ संविधान आएपछि गभर्नरको भूमिका झन् 'कम्प्लेक्स' भएको छ। पहिला एउटा केन्द्रीय सरकार थियो। एउटा मात्र अर्थमन्त्री थिए। वित्तीय क्षेत्र पनि सानो थियो। अब वित्तीय क्षेत्र ठुलो भइसकेको छ। ७५१ वटा सरकार छन्। सबै सरकारको आफ्नै भिजन छ। ती सबैसँग समन्वय गर्ने भूमिकामा गभर्नर मात्र छन्। 

अर्थतन्त्रको मुटु पनि हो गभर्नर। कुनै अंगमा रगत गएन भने दुई सातामा कुहिएर झर्छ। हाम्रो मुटुले यो हेर्छ कि प्रत्येक अंगमा रगत जाओस्। अबको गभर्नरको काम पनि त्यही हो। अर्थतन्त्रको हरेक अंगमा पुँजी पुर्याउने। जति चाहिने त्यति पुर्याउने, बढि पनि होइन कम पनि होइन। बढि हुँदा पनि नराम्रो, कम हुँदा पनि नराम्रो हुन्छ। त्यही भएर एकदमै कम्प्लेक्स 'जव' हो गभर्नर भनेको।

अहिले ज-जसको नाम चर्चामा उहाँहरु सबै योग्य हुनु हुन्छ। गभर्नर छान्नलाई अर्थमन्त्रीको समिति बन्छ। यसपाली मान्छे छान्न धेरै गाह्रो छ। 

बैंकको सञ्चालक समितिले सिइओ छान्छ। सिइओले राम्रो काम गर्यो भने बोर्डले पनि जस पाउँछ। सिइओले राम्रो काम गरेन भने सिइओले त गाली पाउँछ नै बोर्डले पनि गाल पाउँछ। यो कुरा अहिलेको अर्थमन्त्रीले एकदमै राम्रोसँग बुझ्नु भएको छ। त्यही भएर अहिलेको अर्थमन्त्री कसैको दबाबमा पर्नु होला भन्ने मलाई चै लाग्दैन।

गभर्नर भनेको पाँच बर्षको कार्यकाल हो। डक्टर चिरञ्जिबी नेपालको कार्यकाल सकियो। उहाँ आउने वित्तिकै महाभुकम्प गयो र जाने बेलामा कोरोना छ। नयाँ गभर्नरको आउने बेलामा कोरोना हुन्छ। आएर भान्छामा छिर्दाछिर्दै नयाँ गभर्नरले घरभरी आगो लागेको पाउनु हुने छ। कोरोनाले हाम्रो आर्थिक बृद्धि दरमा नकारात्मक असर पार्न सक्छ।

यसको असर कति पर्छ कसैलाई थाहा छैन। तर जे भएपनि नयाँ आउने गभर्नरले यसलाई ब्यवस्थापन गर्नु पर्ने छ। कमभन्दा कम क्षति हुन दिनु पर्ने छ। भुकम्प आउँदा पनि ब्यवस्थापन भयो। राष्ट्र बैंकमा राम्रो टिम छ। त्यो टिम भएपछि नयाँ गभर्नरलाई काम गर्न पनि सजिलो हुन्छ।

राष्ट्र बैंकको जनशक्तिलाई नेतृत्व दिन सक्ने राम्रो गभर्नर आउनु भयो भने मलाई लाग्छ वित्तीय क्षेत्रले अहिलेसम्म जति योगदान गरेको छ त्यो भन्दा धेरै गर्न सक्छ। राष्ट्र बैंकमा पनि मोडनाइजेसन सुरु भइसकेको छ। अहिले राष्ट्र बैंकमा युवा टिम छ। 'इनर्जेटिक टिम' छ। यो टिमलाई नेतृत्व गर्न 'डाइनामिक लिडर' चाहिन्छ। गभर्नर अब 'इन्नोभेटिभ' चाहिन्छ। 

पहिले गरेको काम अझ राम्रो गरौं र कहिले पनि नगरेको काम पनि थालनी गरौं न भन्ने सोच भएको मान्छे गभर्नर हुनु पर्छ। नेपालमा राम्रोसँग, पारदर्शी, सुशासित ढंगले चलेको भनेको वित्तीय क्षेत्र हो। यसलाई त्यस्तो नेता चाहिएको छ, जो एकदमै सकारात्मक होस्। उहाँलाई बैंकरले गफ दिन नसकुन्। काम गरेर नै देखाउनु पर्ने होस्। उहाँले पनि बैंकरलाई दिशा देखाउनु होस्। 

हामी डाक्टरकोमा किन जान्छौं? हामी र डाक्टरलाई बराबरी थाहा छ भने हामी डाक्टरकोमा जाँदैनौं। डाक्टरलाई हाम्रो शरिरका बारेमा हामीभन्दा बढि थाहा छ भनेर जान्छौं। हामीलाई त्यस्तो गभर्नर चाहिएको छ। हाम्रो सबै राम्रो भएका बेलामा 'वाहवाह' भन्ने गभर्नर चाहिएको छैन। जब समस्या आउँछ गभर्नरलाई समस्या सुनाउँदा उहाँ र उहाँको टिमले समाधान दिओस्। यस्तो भएछ भनेर दण्ड मात्र दिने होइन समाधान पनि दिने मान्छे गभर्नर चाहिएको छ।

(शाह नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।)