BIZMANDU
www.bizmandu.com

फ्लाइङ स्कुल सञ्चालनका लागि अध्ययन समितिले बुझायो रिपोर्ट, दाङको टारीगाउँ विमानस्थल उपयुक्त

२०७६ चैत्र ५

फ्लाइङ स्कुल सञ्चालनका लागि अध्ययन समितिले बुझायो रिपोर्ट, दाङको टारीगाउँ विमानस्थल उपयुक्त
फ्लाइङ स्कुल सञ्चालनका लागि अध्ययन समितिले बुझायो रिपोर्ट, दाङको टारीगाउँ विमानस्थल उपयुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं। फ्लाइङ स्कुल सञ्चालनका लागि दाङको टारीगाउँ विमानस्थल उपयुक्त रहेको अध्ययन समितिले ठहर गरेको छ। नागरिक उड्डयन प्राधिकरणद्वारा गठित समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यस्तो ठहर गरेको हो।  

प्राधिकरणले गत मंसिर ३ गते फ्लाइङ स्कुल सम्भाव्यता अध्ययनका लागि पूर्वनिर्देशक एवं हवाईविज्ञ नारायणसिंह डंगोलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले फ्लाइङ स्कुलका लागि सरकारका तर्फबाट सहयोग हुनु आवश्यक रहेको पनि सुझाव दिएको छ। विमानस्थल सञ्चालनका लागि केही सहुलियतको आवश्यक देखाएको प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणका अनुसार हाल नेपालमा रहेका ९९ वटा वायुयानमा चार सय ५० नेपाली र ३५ जना विदेशी पाइलट कार्यरत छन्। हाल १४ जना नेपाली पाइलट विदेशमा कार्यरत छन्।  

तीन वर्षयता पाइलट प्रशिक्षणका लागि नेपालबाट विदेश जाने विद्यार्थीको संख्या दुई सय ६२ जना रहेको अध्ययन समितिको प्रतिवेदनमा छ। प्रतिवेदनअनुसार वर्षमा औसत ८७ जना नेपाली विद्यार्थी पाइलट अध्ययनका लागि विदेशिएका छन्। त्यसले वार्षिक ५० करोड रूपैयाँ विदेशिने गरेको छ।

पाइलट अध्ययनका लागि अधिकांश नेपाली फिलिपिन्स, दक्षिण अफ्रिका र अमेरिका लगायतका मुलुकमा जाने गरेको प्राधिकरणले जनाएको छ। पाइलटको कोर्स गर्न जानुअघि प्राधिकरणबाट अनुमति लिनुपर्ने प्रावधान छ।

'हामीले नेपालमा फ्लाइङ स्कुलमात्र सञ्चालन गरेर चल्न गाह्रो छ। योसँगै फ्लाइट सिमुलेटरसँगै उड्डयनसँग सम्बन्धित विविध तालिम सञ्चालन गरियो भने उपयुक्त हुन्छ,' प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, 'निजी क्षेत्रसँगै राज्यकै सहभागितामा राष्ट्रिय उड्डयन प्रतिष्ठान स्थापना गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिन सकिन्छ।' प्रतिष्ठान सञ्चालनमा ल्याएपछि नेपाललाई आवश्यक पर्ने जनशक्ति देशभित्रै उत्पादन गर्न सकिने र विदेशी विद्यार्थीलाई पनि यहीँ प्रशिक्षण दिन सकिने उनले बताए।

हाल सानोठिमीस्थित नागरिक उडडयन प्रतिष्ठानलाई नै राष्ट्रिय नागरिक उड्डयन प्रतिष्ठानमा रुपान्तरण गर्ने योजना रहेको जानकारी उनले दिए। हाल संचालित नागरिक उड्डयन प्रतिष्ठानले नेपालीसँगै भुटान लगायतका मुलुकका विद्यार्थीलाई प्रशिक्षण दिँदै आएको छ।

राष्ट्रियस्तरमा फ्लाइङ स्कुल सञ्चालनमा ल्याउँदा फ्लाइङ स्कुल, सिमुलेटर, वायुसेवा संचालकलाई आवश्यक पर्ने तालिम लगायत समावेश गरी तालिमका दायरा बढाउन सकिने उनले जानकारी दिए। 'प्राधिकरणको आफ्नै विमानस्थलहरु छन्। अहिले अध्ययनले दाङस्थित तुलसीपुर विमानस्थल उपयुक्त मानिएको रिपोर्ट आएको छ,' महानिर्देशक पोखरेलले भने, 'अहिले प्राधिकरणले आफ्नै लागतमा तालिम प्रतिष्ठान सञ्चालन गरिरहेको छ। यो प्राधिकरणको एउटा कार्यालयको रूपमा चलिरहेको छ। यसैलाई राष्ट्रिय स्तरको तालिम संस्था बनाउने योजनामा छौं।'

नागरिक उड्डयन प्राधिकरण नियमन र सेवा सञ्चालक निकायका रूपमा बिभाजन हुन लागेको छ। यसका लागि प्रस्तावित प्रावधानका मस्यौदा विधेयक संसद सचिवालयमा दर्ता भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण बनेपछि नयाँ प्रतिष्ठानले थप टेवा पुर्‍याउने उनले बताए।

सरकार, हवाई व्यवसायी कम्पनीको सहभागितामा राष्ट्रिय नागरिक उड्डयन प्रतिष्ठान स्थापना हुने उनले बताए। 'यो प्रतिष्ठानलाई प्राधिकरण अन्तर्गतको कार्यालयभन्दा पनि स्वायत्त प्रतिष्ठानका रूपमा स्थापना गर्न सकियो भने विदेशीसँग पनि सहकार्य गर्नेछौं,' उनले भने, 'प्रतिष्ठानमा विशेष इन्स्ट्रक्टर, प्राधिकरणमा भएका दक्ष जनशक्ति, हवाई उद्योगका प्राविधीक जनशक्ति लगायतको आवश्यक पर्छ। एभिएसन म्यानेजमेन्टको प्रशिक्षण गराउन पनि सकिने हाम्रो सोच छ। त्यहीअनुसार छलफल अगाडि बढाएका छौं।' 

पछिल्लो समय संसारभर उड्डयन क्षेत्रमा आवश्यक पाइलट, मेन्टिनेन्स इन्जिनीयर, एयरट्राफिक कन्ट्रोलर लगायतको अभावलाई मध्यनजर गर्दै फ्लाइङ स्कुलको आवश्यकता महसुस गरिएको उनले बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले  नयाँ पुस्तालाई कसरी उड्डयन क्षेत्रमा आकर्षण गर्ने भनेर 'न्यू जेनेरेशन एभिएसन प्रोफेसनल' योजना अगाडि बढाइसकेको छ। 'हामीले पनि यही कुरालाई मध्यनजर गर्दै दुई वर्षयता विभिन्न शैक्षिक निकायमा उच्च माध्यमिक तहमा अध्ययन गर्दै आएका विद्यार्थीलाई काउन्सेलिङ गर्दै आएका छौं,'' उनले भने, 'मन्त्रालयमा छलफल भइरहेको छ।'

प्राधिकरणले आफ्नो भावि दुई निकाय 'नियामक र सेवा प्रदायक', नेपाल वायुसेवा निगम र निजी क्षेत्रको सहभागितामा फ्लाइङ स्कुल संचालनमा ल्याउन सकिने उनले बताए। 'उड्डयन क्षेत्रमा पचासौं तालिम हुन्छन्। आइकाओको रिक्वायरमेन्ट अनुसार हरेक वर्ष रिफ्रेसनर, ओपरेशन लगायत विविध शिर्षक अन्तर्गत तालिम हुन्छन्। यो एउटा सम्भावनाको संस्था हुने अधिकारीहरूको भनाइ छ। फ्लाइङ स्कुल संचालनका लागि छुट्टै कानुन र संस्थागत संरचनाको भने खाँचो छ।

गणित र विज्ञानमा 'प्लस टु' ले लिन सक्छन् प्रशिक्षण

फलाइङ स्कुलमा गणित र भौतिक शास्त्र (फिजीक्स) संकायमा 'प्लस टु' (१२ कक्षा) उत्तीर्ण विदयार्थीले फ्लाइङ स्कुलमा प्रशिक्षण लिन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको परिक्षा तथा लाइसेन्स महाशाखाका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डेले बताए। यसका लागि प्राधिकरणले प्रशिक्षार्थी भर्ना गर्नुपूर्व विषयगत परीक्षासहित विस्तृत मेडिकल परीक्षण गर्छ।   

उनका अनुसार यो प्रशिक्षण सामान्यतया एक वर्षको हुनेछ। कहिलेकाहीँ मौसम फेरबदलका कारण प्रशिक्षणको अवधि लम्बिन सक्ने उनले बताए। फ्लाइङ स्कुलमा प्रशिक्षार्थीलाई 'ग्राउण्ड क्लास' र 'प्राक्टिकल क्लास' सँगसँगै अगाडि लगिने जानकारी उनले दिए।

'अहिले मुलुकका लागि आवश्यक पाइलटको संख्या कम छ र फ्लाइङ स्कुल सञ्चालनमा ल्याएपछि आन्तरिक रूपमा पाइलट उत्पादनमात्र नभइ विश्वका विभिन्न मुलुकका प्रशिक्षार्थीलाई पनि यहीँबाट तालिम दिन सकिनेछ,' उनले भने।