चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) बाट हालसम्म विश्वका दशौं हजार मानिस प्रभावित भइसकेका छन्। मानिसको मृत्यु र संक्रमण त तथ्यांकले देखाइरहेको छ, तर यसदेखि बाहेक यसले वैश्विक ब्यापारमा पारेको असरबाट कति लगानी गुम्यो भन्ने बारे अनुमान गरिसक्न पनि गाह्रो अवस्था छ।
विश्वभर अर्थतन्त्रमा वृद्धि भइरहेको छ भने त्यसको सामान्य अर्थ हुन्छ थप पुँजी र अझ बढी नयाँ रोजगारी।
तीन महिनादेखि एक वर्षको अवधिमा कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तन, वस्तुको मूल्य तथा सेवा वा उत्पादनमा आएको परिवर्तनबाट यसको मापन तथा तय हुने गर्छ।
तर विश्वको अर्थतन्त्र हेर्ने हो भने यतिबेला सन् २००९ यताकै सबैभन्दा मन्द गतिमा चलिरहेको छ।
कोरोना भाइरसको संक्रमण सुरु भएयता विश्व अर्थतन्त्र डामाडोल छ। यसको गिरावटको रफ्तार सन् २००९ कै अवस्थामा पुगेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसनस एण्ड डेभलपमेन्ट (ओइसिडी) को तथ्यांकले देखाएको छ।
थिंक ट्यांक ओइसिडीको प्रक्षेपणअनुसार सन् २०२० मा आर्थिक वृद्धिदर जम्मा २.४ प्रतिशमात्र रहनेछ जुन गत नोभेम्बरको २.९ भन्दा पनि कम हो।
ओइसिडीले कोरोनाको त्रास अझ लामो समय र गम्भीर रूपमा रहिरहने हो भने सन् २०२० मा आर्थिक वृद्धिदर केवल १.५ प्रतिशतमा सीमित हुने समेत प्रक्षेपण गरेको छ।
हाल विश्वभरका ठूला उद्योहरुले आफ्नो काम स्थगित गरेका छन् भने कामदारहरु भाइरसको संक्रमणबाट जोगिन फ्याक्ट्री नगइ घरमै बसेका छन्। यसबाट उद्योगहरुको दैनिक संचालन रोकिएको छ।
विश्व सेयर बजारका लगानीकर्ताहरुमा पनि कोरोनो भाइरसको त्रास फैलिएको छ। त्यसको असर विश्वका ठूला सेयर बजारहरुमा स्पष्ट देख्न सकिन्छ। हाल विश्वका सेयर बजारहरुमा सेयरहरु किन्ने र बेच्ने कामै प्रभावित भएको छ। फेब्रुअरीको अन्तिम साता विश्वका मुख्य सेयर बजारको गिरावट सन् २००८ ताकाको वित्तीय संकटकै अवस्थामा पुगेको थियो। अमेरिकी केन्द्रीय बैंकले आफ्नो ब्याज दरमा नै कटौती गरेको छ।
चीन विश्वमै तेस्रो ठूलो उत्पादक राष्ट्र मानिन्छ भने विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता देश पनि हो। तर त्यहाँको न्यून ब्यापारिक गतिविधिका कारण विश्वभरको 'सप्लाई चेन' प्रभावित भइसकेको छ। उद्योगहरु बन्द छन् भने निर्यात रोकिएको छ।
नासाको प्रदूषण मापन गर्ने स्याटेलाइटहरुले पनि चीनको आकाशमा नाइट्रोजन डाइ-अक्साइडको मात्रामा उल्लेख्य कमी आएका तस्वीरहरु पठाएको छ। यस्तो तस्वीरहरुलाई चीनको आर्थिक गतिविधि न्यून भएको प्रमाणका रूपमा लिन सकिन्छ।
चिनियाँ उत्पादनमा भर पर्ने विश्वका ठूला कम्पनीहरु जस्तै डियागो, जेसिबी तथा निसानहरुको सप्लाई चेन निकै प्रभावित भएको छ । ती कम्पनीका ३० करोड कामदारहरु आप्रवासी भएकाले पनि उत्पादनमा असर परेको छ।
ज्यागुआर ल्याण्डरोभरले पार्टपूर्जाको अभाव भएपछि हवाई सेवामार्फत सुटकेसमा पार्टपूर्जाहरु बिभिन्न फ्याक्ट्रीमा पठाएको समेत बताएको छ। यसबाट विश्वको सप्लाई चेन कतिसम्म प्रभावित भएको छ सहजै अनुमान लगाउन सकिन्छ।
कोरोना भाइरसको संक्रमण फैलिने डरले मानिसहरु घर बाहिर निस्कन एकदमै कम गरिरहेका छन्। इन्फेक्सन हुने डरले उनीहरुले किनमेलका लागि जान समेत बन्द गरेका छन्। रेष्टुरेन्ट, कार डिलरसीप तथा पसलहरु समेत उपभोक्ताको मागमा आएको कमीका कारण बन्द छ।
चिनियाँ कार निर्माता कम्पनीहरुको बिक्री हाल ९२ प्रतिशतले घटेको पाइएको छ। टेस्ला वा जिली जस्ता कम्पनीहरुको बिक्री पनि अनलाइनमा मात्र सीमित छ। उपभोक्ताहरु शोरुमसम्म आउन नचाहेपछि उनीहरुले यस्तो उपाय अपनाएका हुन्।
यस्तै स्मार्टफोनहरुको सिपमेन्टमा पनि कोरोना प्रभाव देखिएको छ। एप्पल जस्ता ठूला टेक जायन्टहरुको पनि बिक्रीमा गिरावट देखिएको छ। उपभोक्ताको न्यून मागका कारण स्मार्ट फोनको बिक्रीमा कमी आएको हो।
यस्तै कोरोनाले विश्वभरको पर्यटकीय गतिविधिमा कमी आएको छ। धेरैजसो देशहरुले यात्रमा प्रतिबन्ध नै लगाएका छन् भने कतिपय देशहरुले पर्यटकहरुको आवागमनमा कडाइ गरेका छन्।
बेलायती सरकारले चीनको हुवेइ प्रान्तमा यात्राको लागि प्रतिबन्ध लगाएको छ भने इटालीमा समेत जान समेत स्पेसल ट्राभल एडभाइस जारी गरेको छ । इटाली यूरोपेली देशहरुमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिइसकेको देश भएकाले पनि त्यहाँ जानबाट बेलायतले सचेत गराउन थालेको हो।
विश्वभरको ट्राभल एजेन्सी तथा पर्यटकीय उद्योग कोरोनाबाट ब्यापक प्रभावित छ। हवाइ जहाज कम्पनीहरुले आफ्नो उडानहरुमा कटौती गरिरहेका छन् भने पर्यटकहरुले पनि बिजनेस ट्रिप र बिदाको प्याकेजहरु स्थगित गरेका छन्।
चीनले पनि विश्वका सबै देशहरुतर्फ आफनो उडानहरुमा ब्यापक कटौती गरेको छ।
फरवार्ड की फर्मको तथ्यांकअनुसार सन २०१९ मा भन्दा हाल चीनबाट बुक भएका उडानहरुमा ५५.९ प्रतिशतले कमी आएको देखिएको छ।
यस्तै बेयालतको पर्यटकीय उद्योगका विज्ञहरुले समेत चिनियाँ पर्यटकहरुको आवागमनमा कमी आउने कारण देशको पर्यटकीय गतिविधिमा कमी आउनेतर्फ इंकित गरेका छन्। सन् २०१९ को सेप्टेम्बरमा चीनबाट बेलायत जानेहरुमध्ये ४ लाख १५ हजार चिनियाँ पर्यटक थिए। उनीहरुले बेलयातमा गर्ने एक भिजिटमा औसतमा १६८० डलरभन्दा बढी खर्च गर्ने भएकाले पनि उनीहरुको आवागमनमा कमी आउने भएपछि पर्यटकीय क्षेत्रमा असर पर्ने विज्ञहरुले चिन्ता ब्यक्त गरेका हुन्।
विश्वभरका ठूला सभा समारोहहरु हाल स्थगित भएका छन् भने फ्लाइट क्यान्सिलेसन पनि तीव्र रूपमा बढिरहेको छ।
कोरोनाका कारण मानिसको ज्यान त गुमेको छ नै, लाखौं मानिसको रोजगारी समेत गुमेको छ।
बिजनेसको टर्ममा हेर्ने हो भने चाहिँ बादलमा थोरै चाँदीको घेरा समेत देखिएको छ। कन्जुमर गुड्स जायन्ट रेकिट बेन्किसरको डिटोल र लाइजोल जस्ता उत्पादनहरुको बिक्रीमा तीव्र वृद्धि भएको छ। ।
हुन त यस्ता उत्पादनहरुले संक्रमण रोक्ने र सुरक्षा दिनेबारे प्रमाणित भइनसकेको भएपनि यसको उच्च प्रयोग हुन थालेको छ, जसबाट यो कम्पनीको बिक्रीमा रेकर्ड नै कायम हुने देखिन्छ।
यस्तै सुरक्षित लगानी मानिने सुनको भाउ पनि रेकर्ड कायम गर्नेतिर अग्रसर छ। सुनले यो समय बिगत सात वर्ष यताकै उच्च मूल्य बनाएको छ। फेब्रुअरीमा सुन प्रतिऔंस १६८२.३५ डलर मूल्यसम्म पुगेको थियो।
विश्वभरका लगानीकर्ताहरु अझै पनि सशंकित छन् किनभने कोरोनाको संक्रमणका कारण विश्व अर्थतन्त्रमा माग र आपूर्तिमा अझ बढी असर देखिने खतरा टरिसकेको भने छैन।