
पोखरा। जंगलको बीच चट्टान छिचोल्दै निस्केको पानीको स्रोतलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक वन समूहले व्यावसायिक पानी प्रशोधन उद्योग सञ्चालनको तयारी गरेको छ। आवश्यक पूर्वाधार तयार गरेको उद्योगले आगामी चैत पहिलो साताबाट पोखरेली बजारमा अन्य पानी कारखानासँग प्रतिष्पर्धा गर्ने भएको हो।
पोखरा-२५ हेम्जाको फुर्केटारी सामुदायिक वन समुहले वन पैदावारको उपयोगसँगै उद्योग सञ्चालनमा ल्याउन सदस्यबाट लगानी जुटाएको छ।। फुर्केटारीको वनको संरक्षणका कारण पानीको स्रोत बढ्दै गएपछि उद्योग सञ्चालन गर्ने जमर्को गरिएको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमा त्रिपाठीले बताइन। उद्योगका लागि वाटर ट्रिटमेन्ट र प्याकेजिङ प्लान्ट जडानको काम पूरा भएर यतिबेला परीक्षण भइरहेको छ।
वनको बीच भाग महभिरखोला छ। केही भाग मात्र घरायसी प्रयोगका लागि उपयोग गरिएको छ भने त्यही मूलको पानी बजारमा बिक्री गरेर थप आम्दानी गर्ने लक्ष्य समूहले लिएको उनले बताइन। जंगलदेखि करिब चार किलोमिटरको दूरीबाट दुई इन्चको पाइप विस्तार गरेर बस्तीसम्म ल्याइएको पानी शुरुमा पिउनका लागि प्रयोग भए पनि विस्तारै थप आयआर्जन गर्न तरकारी खेतीमा समेत उपयोग गरिँदै आएको बताउँदै उनले पानी उद्योग सञ्चालनसँगै बजारमा बिक्री गरी आम्दानीको स्रोतमा परिणत गरिने जानकारी दिइन।
पानी उद्योगका लागि समूहमा आबद्ध ५२ घरधुरी मिलेर लगानी जुटाएका छन्। फुर्केटारी एक्विफायर नामकरण गरिएको पानी उद्योगमा हालसम्म दुई करोड लगानी भइसकेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष हुतराज त्रिपाठीले बताए। 'पानी उद्योगमा सामुदायिक वन समूहका उपभोक्ताको २५ हजारदेखि पाँच लाखसम्मको सेयर लगानी छ,' उनले भने। समूहले एक लिटर र आधा लिटरको बोतल एवं २० लिटरको जार बजारमा लैजाने तयारी गरेको छ ।
प्रयोगशालामा पानीको नमूना परीक्षण गरी पिउन उपयुक्त भएको प्रमाणपत्र प्राप्त गरेको बताउँदै अध्यक्ष त्रिपाठीले भने 'सामुदायिक वन समूहले उत्पादन गरेको पानी आगामी चैतदेखि बजारमा पुर्याउने तयारी भइरहेको छ ।' वार्षिक एक करोड १२ लाख ६९ हजार आम्दानी गर्ने लक्ष्य लिएको सामुदायिक वनले सञ्चालन गरेको पानी उद्योगमा १५ जनाले प्रत्यक्षरूपमा रोजगारी पाउने छन्।
महभिरखोला खानेपानी तथा मुहान संरक्षण उपभोक्ता समितिका सचिव एवं खानेपानी सञ्चालक मित्रलाल त्रिपाठीका अनुसार खानेपानीको मुहान संरक्षणमा मात्र ५५ लाखभन्दा बढी लगानी भइसकेको छ ।
तरकारीखेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्नर तयारी गरेपछि वन समूहले सिँचाइका लागि डिप बोरिङको समेत व्यवस्था गरेको छ । प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट वन समूहका उपभोक्ताको १६६ रोपनी जमीनलाई सिँचाइको सुविधा पुग्ने समूहको विश्वास छ । ६५ लाखमा बोरिङ खनेर सिँचाइ व्यवस्था गरिएको हो।