BIZMANDU
www.bizmandu.com

ह्याप्पी बर्थडे पीएम: फिदिमबाट मगाइयो केक, जन्म गाउँ आठराईमा सार्वजनिक बिदा

२०७६ फागुन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदैछन्। केहीबेरमा हेलिकोप्टरबाट प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्रीको टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री वीना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ लगायत छन्। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि सचिवालयका केही सदस्य यसअघि नै तेह्रथुम पुगिसकेका छन्।   

आजै पाँचथरको एक खानेपानी आयोजनाको पनि उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ।

यस्तो छ जन्मोत्सको कार्यक्रम
तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काका अनुसार ओलीको जन्मोत्सवको तयारी पूरा भइसकेको छ। प्रधानमन्त्री ओली जन्मिएको ईवास्थित निवासको करिब ५० मिटरको दूरीमा हेलिप्याड निर्माण गरिएको छ। जहाँ प्रधानमन्त्री अवतरण गर्नेछन्। 

बिहान साढे ११ बजे प्रधानमन्त्री ईवा पुग्ने सम्भावित कार्यतालिका छ। 

अवतरणपछि प्रधानमन्त्री ओलीले स्थानीय आठराईदेखि ढुंगेसाँघुसम्मको कच्ची बाटो स्तरोन्नतीका लागि शिलान्यास गर्ने कार्यक्रम छ। यस्तै, नेपाल बैंक लिमिटेडको शाखा कार्यलयको भवन पनि उद्घाटन गर्नेछन्। 

औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्रीको जन्मोत्सवको कार्यक्रम सुरु हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नेछन्। ज्येष्ठ नागरिकलाई कपडा पनि वितरण गर्नेछन्। 

यस्तै, स्थानीय विद्यार्थीहरुलाई प्रधानमन्त्रीले शैक्षिक सामाग्री पनि वितरण गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्रीको जन्मदिनका लागि पाँचथरको फिदिमबाट केक मगाइएको छ। 

जन्मोत्सव कार्यक्रम सकेर अपराह्न ४ बजे काठमाडौँ फर्कँने तयारी प्रधानमन्त्रीको रहेको सहायक सिडिओ खड्काले बताए। 

सार्वजनिक बिदा
प्रधानमन्त्रीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यद्यपि कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई भने जन्मोत्सव समारोहमा अनिवार्य उपस्थितिका सूचना गाउँपालिकाले गरेको छ।

कार्यरत कर्मचारी तथा मातहतका शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन  पनि गाउँपालिकाले निर्देशन दिएको छ।