BIZMANDU
www.bizmandu.com

हिमालयन डिस्टिलरी अहिलसम्मकै उच्च, बोटलर्स ७०२ रुपैयाँले बढ्यो, बजार २५ महिनाको उच्च

२०७६ फागुन ७

हिमालयन डिस्टिलरी अहिलसम्मकै उच्च, बोटलर्स ७०२ रुपैयाँले बढ्यो, बजार २५ महिनाको उच्च
हिमालयन डिस्टिलरी अहिलसम्मकै उच्च, बोटलर्स ७०२ रुपैयाँले बढ्यो, बजार २५ महिनाको उच्च


काठमाडौं। सेयर बजार २५ महिनायताकै उच्च विन्दु १४०५ अंकमा पुगेको छ। बुधबार सूचक ५.२५ अंकले बढ्दा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ।

Tata
GBIME
Nepal Life

हिजोअस्तिको तुलनामा कारोबार रकम केही कम देखिएपनि एक अर्ब ६२ करोड ८८ लाख रुपैयाँको किनबेच आफैंमा उच्च हो। दिनभरीमा १७७ कम्पनीका सेयर कारोबार भएका छन्।

वाणिज्य बैंक, होटल, फाइनान्स, बीमा र म्युचुअल फण्ड कम्पनीको मूल्य घट्दासमेत बजार उक्लिएको हो। उत्दादन तथा प्रशोधन, अन्य र लघुवित्त सूचक उक्लिँदा बजारले २५ महिनाको रेकर्ड ब्रेक गरेको हो। 

सामुदायिक लघुवित्त र आशा लघुवित्तको सेयर मूल्यमा बढेर सर्किट ब्रेकर लागेको छ। सर्वाधिक कमाउने १० कम्पनीमा तीन बाहेक सबै लघुवित्त छन्। लघुवित्त सूचक १०५ अंकले बढेको छ।

बोटलर्स नेपाल तराइको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। अर्थात प्रति कत्ता ७०२ रुपैयाँका दरले बढेर ७७२७ रुपैयाँ पुगेको छ। एक महिनामा १३ दिन किनबेच भएको बोटलर्सको बुधबार ७०२० रुपैयाँसम्म सेयर आएको थियो। पछि बढेर ७७२७ रुपैयाँसम्म पुगेको हो। 

कम्पनीको सेयर मूल्य १० कित्ता कारोबारबाट बढाइएको छ। दिनभरीमा दुइपटक २० कित्ता र एकपटक ५० कित्ता कारोबार भएको छ। बाँकी १९ वटा कारोबार १० कित्ताका दरमा भएको छ। एकाध कारोबार 'म्याचिङ' छन् भने बाँकी छुट्टाछुट्टै ब्रोकर कम्पनीबाट भएको छ। पछिल्लो दुई वर्षमा बोटलर्सको मूल्य सर्वाधिक उचाइमा बुधबार पुगेको हो।

यसपछि कालिका माइक्रोफाइनान्स र सिभिल लघुवित्तको सेयर ९ प्रतिशतमाथि बढेको छ। मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशतका दरले गुमाएका छन्।

कारोबार रकममा शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। शिवम् एक्लैको १४ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यसपछि हिमालयन डिस्टिलरीको १२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १५७० रुपैयाँसम्म पुगेको थियो। पछि १५५० रुपैयाँमा फर्किएर बन्द भएको हो।

कम्पनीको एकपटकमा १६०५ कित्तासम्म कारोबार भएको छ। बीचमा मूल्य घटेर १४१६ रुपैयाँसम्म आएको थियो। बुधबारको मूल्य अहिलेसम्मकै उच्च हो।