काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक समीक्षा आउँदो साता मात्र गर्ने भएको छ। यसै साता सक्ने तयारी भएपनि केही काम बाँकी रहेकाले आउँदो साता गर्ने भएको हो।
राष्ट्र बैंकले सरोकारवालाहरुसँग छलफल गरिसकेको छ। पुस मसान्तसम्मको सम्पूर्ण तथ्यांकहरू तयार पारिसके पनि केही योजनाहरुका बारेमा छलफल गर्न बाँकी रहेकाले एक साता सारिएको हो। राष्ट्र बैंकभित्रको अनुसन्धान विभागले मौद्रिक समीक्षाको तयारी गरेको हो।
गभर्नरका रूपमा डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल चैत ५ गते सकिँदैछ। त्यसअघि नै सरकारले गभर्नर नियुक्त गरेमा उनी बिदामा बस्ने मुडमा थिए। तर सरकारले गभर्नर छान्ने समितिसमेत बनाएको छैन। यस बीचमा राष्ट्र बैंकले मौद्रिक समीक्षा सक्दै एउटा अन्तर्राष्ट्रिय सम्मेलन पनि सक्ने योजना बनाएको छ।
यसपालीको मौद्रिक समीक्षामा गभर्नर नेपालले ऋण विस्तारका केही योजनाहरु अगाडि सार्ने सम्भावना छ। सरकार पनि गाडी र घर कर्जालाई सहज बनाउनुपर्ने पक्षमा रहेका कारण गभर्नरले यसलाई केही सहज बनाउने नीति लिने सम्भावना छ।
पुँजी पर्याप्तता अनुपात (सीएआर) पछि पनि थप साढे २ प्रतिशत काउन्टर साइक्लिकल बफर लगाउने ब्यवस्थाले कर्जा लगानीमा कठिनाइ हुन थालेपछि यसमा पनि समय दिने वा एक प्रतिशत विन्दुले घटाउने योजा राष्ट्र बैंकको छ।
समीक्षामा मूल्यवृद्धि लक्ष्य संशोधन गरेर थोरै बढाइने भएको छ।