BIZMANDU
www.bizmandu.com

इन्द्रावती नदीको बहाव थुनेर ‘मिनी फेवाताल’: मिनी रेल पनि चलाउने, १३ अर्ब रुपैयाँ लागत

२०७६ फागुन ७

इन्द्रावती नदीको बहाव थुनेर ‘मिनी फेवाताल’: मिनी रेल पनि चलाउने, १३ अर्ब रुपैयाँ लागत
इन्द्रावती नदीको बहाव थुनेर ‘मिनी फेवाताल’: मिनी रेल पनि चलाउने, १३ अर्ब रुपैयाँ लागत


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा इन्द्रावती नदीलाई थुनेर मिनी फेवाताल बनाइने भएको छ। 

Tata
GBIME
Nepal Life

'मेलम्ची सपना सरोवर' नाम दिइएको उक्त योजनाका लागि सम्भाव्यता अध्ययन (फिजिविलिटी) प्रतिवेदनसमेत तयार भइसकेको छ। सम्भाव्यता अध्ययन डिजाइन एनट आर्किटेकले गरेको गरेको हो। सम्भाव्यता रिपोर्टले आयोजना निर्माण हुनसक्ने देखाएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको मेलम्ची नगरपालिकाका प्रवक्ता जितेन्द्रबहादुर कार्कीले बताए। 

'डीपीआरका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ,' उनले भने, 'परामर्शदाता छनोट गरेर डीपीआर बनाउने काम जिम्मा दिन सूचना निकाल्ने तयारीमा छौं।'यसका लागि 'बिडिङ डकुमेन्ट' तयार भइरहेको उनले जानकारी दिए। 'चालु आर्थिक वर्षभित्रै डीपीआर तयार पारेर आगामी वर्षबाट निर्माण थाल्ने योजना छ,' उनले भने।

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार कृत्रिम ताल निर्माणका लागि करिब १३ अर्ब रूपैयाँ लाग्ने अनुमान छ। मिनी फेवा लेक बाहुनेपाटीबाट मेलम्ची नगरपालिकासम्म इन्द्रावतीमा फैलनेछ। बाहुनेपाटीबाट मेलम्ची करिब साढे पाँच किलोमिटर दुरीमा पर्छ।

नगरपालिकाको योजनाअनुसार बाहुनेपाटीको केही माथि इन्द्रावती नदिमा बाँध बाँधिनेछ। त्यहाँ बाँध बाँधेपछि करिब ४ किमि मेलम्चीतिर ताल बन्नेछ। ताल करिब १२ हजार वर्गमिटरमा फैलनेछ। तालमा डुंगा र बाहिर वरिपरि मिनी ट्रेन चलाइनेछ। वरिपरि होटल र रिसोर्टहरु सञ्चालन हुनेछन्। कृत्रिम झरना पनि बनाइनेछ।

मेलम्ची दोभानमा मेलम्ची र इन्द्रावती खोलाको दोभान छ। त्यसको तलतिर ताल निर्माणको योजना बनाइएको हो। मेलम्ची नगरपालिकामा बन्ने यो तालले इन्द्रावती गाउँपालिका समेत छुनेछ। योजना अगाडि बढाउँदा त्यहाँ डुबान हुने जग्गा यकिन गरेर अधिग्रहण गर्ने प्रक्रिया समेत थालिएको कार्कीले बताए। 

'धेरैजसो जग्गा सरकारी रहेकाले योजना अघि बढाउन गाह्रो नपर्ने अनुमान गरिएको छ।' डीपीआर तयार भएर योजना अघि बढ्ने निश्चित भएपछि  उक्त क्षेत्रमा पर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया औपचारिक रूपमा थालिनेछ। व्यक्तिका नाममा रहेको करिब साढे दुई सय रोपनी अधिग्रहण गर्नुपर्ने देखिएको कार्कीले बताए।

मेलम्चीदेखि बाहुनेपाटीमसम्म इन्द्रावती नदीमा नौवटा क्रसर उद्योग छन्। ती क्रसर उद्योगले वातावरणीय हिसाबले फाइदा नपुर्‍याएको नगरपालिकाले जनाएको छ। 'अब ती क्रसर बिस्थापन हुनेछन्। खोलाले ल्याउने ढुंगा र बालुवा ठाउँ ठाउँमा ट्रयाप बनाएर निकाल्दा नगरपालिकाका लागि आन्तरिक स्रोत बढ्ने विषयमा छलफल भइरहेको छ,' उनले भने।' 

काठमाडौंबाट नजिकैको पर्यटकीय सम्भावनाले बोकेको नगरपालिका हो- मेलम्ची । जुन काठमाडौंको चाबहिलबाट करिब ४५ किलोमिटर दुरीमा पर्दछ। मेलम्चीसम्म जाने सडकहरु पीच गर्ने तयारी भइरहेको छ। दुईवटा सडक भएर मेलम्ची पुग्न सकिन्छ।

चाबहिलबाट जोरपाटी, थली, साँखु, जरसिंहपौवा र बाहुनेपाटी हुँदै मेलम्ची पुग्न सकिन्छ। एकपटक कालोपत्रे भइसकेको भएपनि अहिले उप्किसकेका कारण सडक कच्चीको अवस्थामा छ। पीच गर्ने योजना भने बनिरहेको सडक विभागका अधिकारी बताउँछन्।

अर्को बाटो चाबहिलबाट कोटेश्वर, बनेपा, जिरोकिलो र ढाडखोला हुँदै पनि मेलम्ची जान सकिन्छ। यो सडक पहिलोको तुलनामा केही लामो पर्छ। तर यो बाटो अधिकांश कालोपत्र भइसकेको छ। बाँकी खण्डमा कालोपत्रे भइरहेको छ। चालु वर्ष कालोपत्रे गरिसक्ने लक्ष्य छ। 'काठमाडौंबासी नै हाम्रा मुख्य टार्गेट ग्रुप हुन्,' प्रवक्ता कार्कीले भने, 'यहाँ आउने आन्तरिक वा बाह्य पर्यटकलाई दुई दिनसम्म स्टे गराउने प्याकेज बनाउन लागेका छौं।'

नगरपालिकाले आयोजनाका विषयमा प्रदेश र केन्द्रसँग समन्वयन गर्नेछ। सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने योजना बनाइएको कार्कीको भनाई छ। सञ्चालन साझेदारीमा सेयरका केही हिस्सा भने नगरपालिकले पनि राख्नेछ। 'यो ड्रिम प्रोजेक्ट हो, जनप्रतिनिधिहरू अघि बढाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,' उनले भने, 'ठूलो लागत आउने भएकाले प्रदेश र केन्द्र सरकारको सहयोग मागिनेछ।'