BIZMANDU
www.bizmandu.com

कोरोना प्रभावले हेलिकोप्टर व्यवसायमा मन्दी, दुई सातादेखि दैनिक ५ वटामात्र फ्लाइट


कोरोना प्रभावले हेलिकोप्टर व्यवसायमा मन्दी, दुई सातादेखि दैनिक ५ वटामात्र फ्लाइट
कोरोना प्रभावले हेलिकोप्टर व्यवसायमा मन्दी, दुई सातादेखि दैनिक ५ वटामात्र फ्लाइट


Tata
GBIME
Nepal Life

काठमाडौं। चीनमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपालमा पर्यटक घट्दा दुई सातायता हेलिकोप्टर व्यवसायी तनावमा छन्।

पर्यटक नै नभएपछि पर्यटकीय गन्तब्यहरुमा सीमित मात्र उडान भएको सिम्रीक हेलिकोप्टरका महाप्रबन्धक प्रेम थापाले जानकारी दिए।  दुई सातामा डेढ सयभन्दा बढी फ्लाइट मुभमेन्ट हुँदै आएको हेलिकोप्टर व्यवसायमा १५ दिनयता दैनिक अधिकतम पाँच वटामात्रै फ्लाइट मुभमेन्ट हुँदै आएको महाप्रबन्धक थापाले बताए।

कोरोनासँगै केही समययता अन्नपूर्ण बेस क्याम्पमा भएको हिमपहिरोको घटनाका कारण पर्यटकको संख्या घटेको बताउँदै थापाले भने,'अहिले अफ सिजन हो। तर यही समय गत वर्ष पोखरामा मात्र दैनिक १० वटा भन्दा बढी फ्लाइट मुभमेन्ट हुन्थ्यो। अहिले धेरैमा भए दुईवटा मात्र उडान भइरहेको छ। चिनियाँ पर्यटक पोखरा भ्रमणका लागि हेलिकोप्टर प्रयोग गर्छन् तर अहिले कोरोनाको कारण चिनियाँ पर्यटक नै छैनन्। एक महिना अगाडि अन्नपूर्ण बेसक्याम्पमा घटेको घटनाका कारण पनि पर्यटकको आवगमन कम भएको देखिएको छ।'

'अहिले यो अवस्थाका कारण बीमा र बैंक लगायत क्षेत्रसँगको वित्तीय व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ,' उनले भने । कम्पनीले दुई महिना अगाडि दुईवटा नयाँ हेलिकोप्टर झिकाउन अर्डर गरेको थियो । खस्किएको व्यापारको अवस्था हेर्दै तत्काल ल्याउने/नल्याउने कुरामा अब भने अलमल छ। दुई महिना अगाडि सिम्रीकले बेल कम्पनीको ५०५ मोडलको 'जेट रेन्जर एक्स' सिरीजको हेलिकोप्टर ल्याउनका लागि उत्पादक कम्पनीलाई अर्डर दिइसकेको थियो।

धमाधम लगानी बढाएर हेलिकप्टर थपेका सबै कम्पनीका सञ्चालक यतिबेला तनावमा छन्। २० दिन यता विभिन्न मुलुकका पर्यटकले १७ वटा अग्रिम बुकिङ रद्द गरेको हेलि एभरेष्टका संचालक योगराज कँडेलले बताए। गत वर्ष यो समयमा टुरिष्ट सिजनको पिक अप सुरु भइसकेको थियो । यो वर्ष व्यवसाय नै संकटमा परेको कँडेलको भनाइ छ।

'पोहोर यतिखेर पर्यटक आवागमन सुरु भइसकेको थियो। यतिखेर फ्लाइट मुभमेन्ट सुरु भइसकेकको थियो। तर यो वर्ष विभिन्न कारणले गर्दा हेलिकोप्टर क्षेत्र मात्र नभइ पर्यटन क्षेत्र नै स्लो डाउन भइरहेको अवस्था छ,' उनले भने, 'बुकिङ भइसकेका टिकट धमाधम रद्द भइरहेका छन्। अब आन्तरिक पर्यटकलाई थप आकर्षित बनाउने उद्देश्यले प्याकेज बनाउने तयारीमा छौं।'

पर्यटक नभएपछि दुई सातायता फ्लाइट मुभमेन्ट नै गर्न नसकिएको अर्को कम्पनी एयर डाइनेष्टीले जनाएको छ। अन्नपूर्ण बेस क्याम्प घटना र कोरोना भाइरस संक्रमण सूचना प्रवाहका कारण एयर डाइनेष्टीको साइट सिन र अन्नपूर्ण बेस क्याम्प फ्लाइट नै हुन छोडेको कम्पनीका अपरेसन मेनेजर वालकृष्ण पण्डितले बताए।

गएका वर्षमा यो समयमा दुईदेखि तीनवटा फ्लाइट मुभमेन्ट सुरु भइसक्दा यो वर्ष भने एउटै फ्लाइट उडान  हुन पनि धौधौ परिरहेको पण्डित बताउँछन्। 'यतिखेर मुलुकको पर्यटन क्षेत्रमा आबद्ध सबै क्षेत्र प्रभावित भएका छन्,' उनले भने।

कोरोनाका कारण चिनियाँ पर्यटकको संख्या न्यून भएका कारण आउँदो मार्चदेखि पर्यटन क्षेत्र अझ बढी प्रभावित हुन सक्ने कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले बताए।

गत वर्षको तुलनामा यतिखेर व्यवसायमा ३० प्रतिशत गिरावट आएको उनले बताए। 'यो अफ सिजन हो। सर्भिस यसै पनि डाउन हुन्छ। यतिखेर साइट सिनमा हेलिकोप्टर प्रयोग भइरहेको छ,' उनले भने, 'कोरोनाको प्रभावले भएको आर्थिक मन्दी हवाई क्षेत्रमा मात्र नभइ होटल क्षेत्रमा झन् पर्ने देखिएको छ।'