BIZMANDU
www.bizmandu.com

नेपालमा अवरोध खेपिरहेको सिजीले युरोपमा किन्यो ‘मोल्डसेल’, ३ करोड १५ लाख डलरमा सम्झौता 

२०७६ फागुन ४

नेपालमा अवरोध खेपिरहेको सिजीले युरोपमा किन्यो ‘मोल्डसेल’, ३ करोड १५ लाख डलरमा सम्झौता 
नेपालमा अवरोध खेपिरहेको सिजीले युरोपमा किन्यो ‘मोल्डसेल’, ३ करोड १५ लाख डलरमा सम्झौता 



काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सिजी कम्युनिकेसनले पूर्वी यूरोपेली देश मोल्दोभाको वायरलेस अपरेटर 'मोल्डसेल किन्ने भएको छ। 

Tata
GBIME
Nepal Life

नेपालमा दूरसंचार प्राधिकरणले लिमिटेड मोविलिटी सेवाको सातवटै अनुमतिपत्र खारेज गरिदिएसँगै सिजी कम्युनिकेसनले व्यापारका लागि युरोपेली मुलुक ताकेको हो। सिन्यूजडट कमका अनुसार सिजी सेल टेक्नोलोजिजले स्वीडेनको टेलिया कम्पनीको स्वामित्वमा रहेको फिन्तुर होल्डिङको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर खरिद गर्न लागेको छ। 

टेलिया कम्पनीका अनुसार गत शुक्रबार उसले वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर सिजी सेल टेक्नोलोजिजलाई बेच्ने सहमति गरेको छ।  कम्पनीले मोल्डसेलको शतप्रतिशत सेयर बेच्नका लागि तीन करोड १५ लाख डलर लिने गरी सिजीसँग सम्झौता भएको बताएको छ।

टेलिया कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार दुई कम्पनी बीचको कारोबार सन् २०२० को पहिलो त्रैसासभित्र सम्पन्न भइसक्ने छ।

'म यो घोषणा गर्न पाउँदा खुशी छु कि हाम्रो यूरोसियाबाट वहिर्गमनको यात्रालाई यसले अझ सहज बनाएको छ। अब हामीलाई नोर्डिक तथा बाल्टिक मार्केटमा पूर्णतया केन्द्रित भएर काम गर्न अवसर मिल्नेछ।'- टेलिया कम्पनीका निमित्त अध्यक्ष तथा सिइओ क्रिस्टियन लुइगाले भने। 

सन् २०१७ देखि टेलियाले विस्तारै यूरोसियाबाट आफ्नो सम्पत्ति सिफ्ट गर्दै बाहिरिने प्रक्रिया सुरु गरेको कम्पनीको वेबसाइटमा प्रस्तुत तथ्यांकहरूले देखाउँछ। 

टेलिया कम्पनीको ०.७% सर्विस रेभेन्यू तथा कम्पनीको कुल आर्जन (इबिआइटिडीए)को ०.६% को प्रतिनिधित्व गर्ने 'मोल्डसेल' मोल्डोभाको दोस्रो ठूलो टेलिकम अपरेटर हो । कम्पनीका करिब ९ लाख उपभोक्ता रहेको बताइन्छ। 

सन् १८५३ मा स्थापना भएको टेलिया नास्दाक स्टकहोम तथा नास्दाक हेलसिंकी स्टकमा लिस्टेड टेलिकम्युनिकेसन कम्पनी हो। यसको विश्वभर २ करोड ४२ लाख सब्सक्राइबर तथा २० हजार ८ सय कर्मचारी छन्। 

सिजी सेल टेक्नोलोजिजमा नेपाली ब्यापारिक समूह सिजी कर्पोरेसन ग्लोबलको स्वामित्व  छ। सिजीको छाताअन्तर्गत विश्वभर सयौं कम्पनीहरु छन् भने यसको लगानी एक अर्ब डलरभन्दा माथि रहेको वेबसाइटमा उल्लेख छ। 

पूर्व सोभियत गणतन्त्र रहेको मोल्दोभा साढे तीन करोड जनसंख्या भएको नेपाल जस्तै भूपरिवेष्ठित देश हो। रोमानिया र  युक्रेनको बीचमा पर्ने मोल्दोभा विश्वकै ठूलो मदिरा उत्पादक देशमध्ये पर्छ।  

स्वतन्त्रतापछि मोल्दोभाले आर्थिक सुधारका योजनाहरु लागू गरेर प्रगति गरिरहेको छ। यसले खुला बजार अर्थतन्त्र विकास गरिरहेको छ। सन् २०१९ को आर्थिक स्वतन्त्रताको इन्डेक्समा विश्वभर नै ९७ औं श्रेणीमा रहेको  मोल्दोभा सन् २०२० को इज अफ डुइङ बिजनेसको सूचीमा  विश्वभर नै ४८ औं स्थानमा रहेको छ।