BIZMANDU
www.bizmandu.com

विकास आयोजनामा कोरोना ‘इफेक्ट’: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त


विकास आयोजनामा कोरोना ‘इफेक्ट’: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त
विकास आयोजनामा कोरोना ‘इफेक्ट’: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त

Tata
GBIME
Nepal Life

काठमाडौं। चीनमा फैलिएको कोरोना भाइरसले राष्ट्रिय गौरवका आयोजना ढिलाइका लागि नयाँ बहाना बन्न थालेको छ। चिनियाँ ठेकेदार रहेका कतिपय विकास आयोजनामा चीनकै कामदार छन्।

चीनको नयाँ वर्ष मनाउन गएका कतिपय कामदार नफर्किएको र इक्विपमेन्ट समेत ल्याउन नसकिएको भन्दै आयोजनाको म्याद थप्ने बहाना बनाउन सुरु भएको छ।

कोरोना भाइरसका कारण निर्माणको अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुस्त भएको छ। ठेकेदार कम्पनीका लागि कोरोना नयाँ बहाना बन्ने भएको छ। सन् २०२० को जनवरीमै संचालनमा आउने भनिएको यो आयोजना विभिन्न कारणले ढिलाइ भइरहेको थियो।

अब चिनियाँ कम्पनीका लागि कोरोना नयाँ बहाना बन्ने र म्याद थपका लागि बल पुग्ने देखिएको छ। स्रोतका अनुसार यही अवस्था रहेमा सन् २०२०सम्म पनि यो विमानस्थल संचालनमा आउन कठिन छ। कोरोना भाइरस अघिनै विमानस्थल संचालनमा आउन एक वर्ष ढिला हुने देखिएको थियो। यही कारण विमानस्थलको पूर्वाधार निर्माण पूरा हुन अझै कति समय लाग्ने हो टुंगो लाग्न सक्ने अवस्था छैन। यो आयोजनाको काम चैत १८ गतेसम्म थपिसकिएको छ।

निर्माण कार्य ९० प्रतिशतले सकिँदा कोरोना भाइरसका कारण कामले सुस्त गति लिइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। आयोजनामा तत्काल जडान गर्नुपर्जे ब्यागेज ह्याण्डलिङ सिस्टम र धावनमार्गमा जडान गर्नुपर्ने विद्युतीय उपकरण नआउँदा निर्माणमा सुस्तता आएको उनले बताए।

'अहिले ब्यागेज ह्याण्डलिङ सिस्टम र रनवे लाइट जडान गर्ने योजना थियो। हामीले अर्डर गरेको समय अनुसार अहिलेसम्म सामान आइसक्थ्यो। तर कोरोना भाइरस संक्रमणका कारण सिपिङ एजेन्सी, ट्रान्सपोर्ट लगायतका निकाय बन्द रहेको जानकारी आएको छ, आयोजना प्रमुख अधिकारीले बिजमाण्डूसँग भने,' कम्पनीसँग पत्राचार भइरहेको छ। कम्पनीले कोरोना भाइरस नियन्त्रणमा आए लगत्तै सामान उपलब्ध गराउने बताएको छ।'

अधिकारीका अनुसार यतिखेर निर्माणस्थलमा टर्मिनल भवन बाहिरका काम भइरहेका छन्।समय अपुग रहेको अवस्थामा कम्पनीले म्याद थपको प्रस्ताव गर्न सक्ने बताउँदै अधिकारीले भने,'वर्ल्‍ड हेल्थ अर्गनाइजेशनले सर्कुलर जारी गरेको मितिदेखि काममा ढिलाइ भइरहेको छ। निर्माता कम्पनीले म्याद थपका लागि कानुनी आधार पाएको छ। अचानक यो समस्या आइलाग्दा हामी पनि तत्काल केहि सोच्ने अवस्थामा छैनौँ।'

उनका अनुसार चीनमा गएका प्राविधिक नेपाल फर्कन सकेका छैनन्। ’४९ जना चिनियाँ प्राविधिकमध्ये २२ जना मात्रै नेपालमा छन्। १७ जना प्राविधिक नेपाल फर्किन सकेका छैनन्’ अधिकारीले भने, ‘तर जनशक्ति नभएका कारण कामनै रोकिएका छन्।’

उनका अनुसार यतिखेर विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोनको सिभिलको काम लगभग सकिएको छ भने बाँकी रहेको विद्युतीय काम प्रभावित भएको छ।

के-केमा कति समय लाग्ने ?

सन् २०१४ मा तीन वर्षमा पूरा गर्नेगरि निर्माण सुरू भएको विमानस्थलको म्याद सरेको सरेकै छ। सुरूमा २०१७ डिसेम्बर १७ को म्याद पाएको विमानस्थल निर्माण पूरा गर्न म्याद थपेर १८ जुन २०१८ लाई तोकिएको थियो।

एडीबीको सहुलियत ऋणमा ६ अर्ब २२ करोड ५१ लाख लागत रहनेगरि निर्माणाधीन विमानस्थल पूरा भएर सञ्चालनमा आउँदा काठमाडौंको त्रिभुवन विमानस्थलको हवाइ चाप व्यवस्थापनको विकल्प हुने भनिएको छ। लगातार मिति सर्दै जाँदा गौरवको आयोजनामा सरकारी तयारी नपुगेको देखिएको छ।

गत साउनमा पर्यटन मन्त्री नियुक्त भएलगत्तै निरीक्षणका लागि पुगेका योगेश भट्टराइले विमानस्थल आगामी चार महिनामा सञ्चालनमा आउने घोषणा गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चासो रहेको उक्त विमानस्थललाई भ्रमण वर्ष २०२० सुरू हुनुअघि नै सञ्चालनमा ल्याउने गरि काम गर्नुपर्ने उनको भनाइ थियो।

पूर्वाधार र सञ्चालनका आन्तरिक व्यवस्थापनमा अझै वर्षदिन लाग्न सक्ने अनुमान आयोजनाको छ। विमानस्थलको संरचना तयार भएपछि दुई महिना अगाडि नै विश्वव्यापी रूपमा एयरनोटीकल इन्फर्मेसन पब्लिकेसनमा जाने उनले बताए। त्यसपछि पाइलट इन्जिनियर आएर अध्ययन गर्नेछन्। एयरोड्रोम सर्टिफिकेसन र फाइनल ट्रायल सफल भएपछि विमानस्थल सञ्चालनमा आउने छ। ग्राउण्ड ह्याण्डलिङ दिने विषयमा समेत सार्वजनिक खरीदमा जाँदा लामो समय लाग्छ।

एटीसी तयारका लागि सूचना प्रकाशनदेखि रिक्रुटमेन्टसम्म करिब १० महिना लाग्नेछ। उक्त अवधिमा प्राधिकरणले हाल भइरहेकै जनशक्तिमार्फत काम गराउने योजना छ।