BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले तयार पार्‍यो तीन वर्षे गुरुयोजना, विकट गन्तब्यमा एटिआरको नयाँ जहाजबाट उडान गर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। बुद्ध एयरले तीन वर्षको गुरुयोजना तयार पार्दै विभिन्न विकट गन्तब्यमा उडान गर्ने भएको छ।

एटिआरले उत्पादन गर्न लागेको एटिआर-४२ एस-६०० मार्फत मलुकको विभिन्न विकट गन्तब्यमा उडान गर्ने योजना बनाएको कम्पनीका प्रवक्ता रुपेश जोशीले बताए।

कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा १० वटा विकट गन्तब्यको सम्भाव्यता अध्ययन सुरु गरिसकेको जोशीले बताए। 'हामीले प्राधिकरणको समन्वयमा मुलुकका विभिन्न विकट गन्तब्यको सम्भावित अध्ययन सुरु गरिसकेका छौँ। सम्भाव्यता अध्ययनका आधारमा ती गन्तब्यमा व्यवसायिक उडान सुरु गर्नेछौँ।' प्रवक्ता जोशीले भने।

कम्पनीले बझाङ, जुम्ला, हुम्ला, रुम्झाटार, बैतडी, ताप्लेजुङ, दाङ, जोमसोम लगायत विमानस्थलमा अध्ययन सुरु गरिसकेको उनले बताए। 'एटिआर-४२-एस-६०० जहाजले न्यूनतम आठ सय मिटर लम्बाई धावनमार्गमा ४० जना यात्रु लिएर सहजै उडान अवतरण गर्न सक्छ। मुलुकका लागि यो नौलो किसीमको जहाज  हुनेछ। हाल टेक्निकल टिमले भइरहेका विमानस्थलको लम्बाई र विस्तार सम्भाव्यताको अध्ययन गर्दै हुनुहुन्छ,' जोशीले भने।

उनका अनुसार अप्रिल पहिलो साता एटिआर कम्पनीका प्राविधिक समुह छलफलका लागि नेपाल आउने छन्। जहाज उत्पादक कम्पनीसँगको छलफलपछि बुद्धले सुरुमा दुईवटा जहाज अर्डर दिने उनले बताए। 

बुद्धले यसअघि जहाज निर्माता कम्पनी ट्विनअटर र सेस्नासँग छलफल गरिसकेको थियो। जोशीले भने, 'एटिआरले गत अक्टोबरमा स्टोल रुटका लागि एटिआर-४२एस-६०० सिरीजको जहाज उत्पादन गर्ने घोषणा गर्‍यो। २० दिन अघि एटिआर कम्पनीका प्रतिनिधी यहाँ आएर प्रेजेन्टेसन दिए। त्यो कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधी पनि हुनुहुन्थ्यो। एटिआरले लुक्ला वाहेकको एयरपोर्टमा उडान गर्न सक्ने सुझाव दिएको छ।'

जोशीका अनुसार यो जहाज सन् २०२२ को अन्तिममा विक्री वितरण गर्नेछन्। 'अहिले यो जहाज बनाउन सुरु भएको छ सर्टिफिकेसनका लागि एक वर्षको समयावधि लाग्छ। सन् २०२२को अन्तिममा यो जहाजको विक्री वितरण सुरु हुनेछ।'उनले भने।

प्राविधिक रिपोर्ट तयार गरेर सरकारलाई बुझाउने योजना रहेको उनले बताए। 'सरकारले इजाजत दिएपछि सरकारसँग अनुमति लिनेछौँ। सबै विकट विमानस्थलमा यो जहाजमार्फत उडान गर्न नसकिएपनि केहि विमानस्थलमा उडान गर्नेछौँ। त्यसै अनुसार जहाज खरिद सम्झौता गर्नेछौँ।' उनले भने।

एटिआरकै जहाज ल्याउँदा कम्पनीलाई मर्मत संभार, पाइलट व्यवस्थापन गर्न सहज हुने उनले बताए। मूल्यको हिसाबले जहाज महँगो पर्न आउने भएपनि जहाजको क्षमता राम्रो रहेको उनले जानकारी दिए।

उनले भने, 'यो जहाजको उत्पादन भर्खरै सुरु भएको छ। ब्राण्ड न्यू जहाज ल्याउँदा मूल्य भने तुलनात्मक हिसाबले महंगो हुनेछ। यो जहाज प्रेसराइज भएको कारण उचाई सहजै उडान गर्न सकिन्छ। पाइलटको सबै इक्विपमेन्ट भएको यो जहाजमा पुर्ण रुपमा डिजिटल ककपिट जडान गरिएको छ। इन्जिन पावर त्यत्तिकै राम्रो रहेको छ।'

हाल बुद्धले बीचक्राफ्ट, एटिआर-४२, एटिआर-७२ लगायतका १३ जहाजमार्फत पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा, भरतपुर, चन्द्रगढी, जनकपुर, भद्रपुर, धनगढी लगायत विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ कम्पनीले साताको दुईवटा काठमाडौं-वनारस उडान गर्दै आएको छ।                      

यस्तो छ जहाज

एटिआर कम्पनीले गत वर्ष अक्टोबर नौ तारिखमा (सर्ट टेक अफ एण्ड ल्याण्डिङ 'स्टोल') प्रयोजनका लागि एटिआर-४२ एस-६०० सिरिजको जहाज उत्पादन गर्ने घोषणा गरेको थियो।

स्टोल रुटलाई मध्यनजर गर्दै उत्पादन गर्न लागिएको यो जहाज अन्य साना जहाजको तुलनामा सिट र प्रस्तुतिको हिसाबले राम्रो रहेको कम्पनीले जनाएको छ।

निर्माता कम्पनीका अनुसार यो जहाजले ४० जना यात्रु बोकेर आठ सय मिटर लम्बाईको धावनमार्गमा सहजै उडान अवतरण गर्न सक्नेछ। जहाजको सिरिजमा राखिएको 'एस'ले स्टोलको संज्ञा दिने कम्पनीले जनाएको छ। कम्पनीले निकट भविष्यमा कार्गो प्रयोजनका लागि एटिआर-७२-६००एफ सिरीजको जहाज उत्पादन गर्ने योजना रहेको जनाएको छ। कम्पनीले यो जहाज सन् २०२२ को पहिलो छ महिनामा तयार गरेर विक्री गर्ने योजना बनाएको छ।

जहाजमा जडान गरिएको राडर(पाङ्रा)मार्फत जहाजलाई न्यून बेगमा पनि सहजै नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ। नयाँ संस्करणको जहाजमा पनि एटिआर-४२ र ७२ को इन्जिन जडान गरिने कम्पनीले जनाएको छ। अटो ब्रेक सिस्टम समावेश भएको यो जहाज अवतरणका क्रममा सहजै फुल ब्रेकिङ पावर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।