BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकमा गौतम अध्यक्ष, एफपिओ होइन संस्थापकलाई साधारणमा परिणत, मर्जर सिडिसीपछि

२०७६ फागुन १

हिमालयन बैंकमा गौतम अध्यक्ष, एफपिओ होइन संस्थापकलाई साधारणमा परिणत, मर्जर सिडिसीपछि
हिमालयन बैंकमा गौतम अध्यक्ष, एफपिओ होइन संस्थापकलाई साधारणमा परिणत, मर्जर सिडिसीपछि


काठमाडौं। हिमालयन बैंकको साधारणसभाबाट सञ्चालक निर्वाचित भएका पाँचमध्येबाट तुलसीप्रसाद गौतम अध्यक्ष चयन भएका छन्। उनी कर्मचारी सञ्चय कोषका प्रमुख हुन्।

Tata
GBIME
Nepal Life

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षबाट १६ वर्षपछि मनोजबहादुर श्रेष्ठ बाहिरिएका छन्। उनी २६ वर्षदेखि बैंकको सञ्चालक पनि थिए। खेतान समूहको प्रतिनिधि भएर आशिष शर्मा सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। 

बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) लाई जसरी पनि हिमालयन बैंकमा ल्याउन राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन गरिएको थियो। 

हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र सञ्चालक समेत रहेका उनका भाइ प्रचण्डबहादुर श्रेष्ठ सिडिसी भित्र्याउन बाधक भएपछि राष्ट्र बैंकले निर्वाचन गर्न निर्देशन दिएको थियो। 

खेतान समूहबाट सञ्चालक समिति सदस्यमा आएका आशिष शर्मा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरा हुन्। उनी केही समयअघि नबिल बैंकको पनि सञ्चालक समिति सदस्य थिए। हबिबबाट फैजल एन ललानी सञ्चालक बनेका छन्। पूर्वमन्त्री सुनिल थापा पनि सञ्चालक चयन भएका छन्। 

विजयबहादुर श्रेष्ठ सर्वसाधारण सेयरधनीबाट छानिएका हुन् भने राधाकृष्ण पोते स्वतन्त्र सञ्चालक हुन्।

हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर किनेर सिडिसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको थियो। सबै प्रक्रिया ठिकठाकसँग चलिरहेका बेला सञ्चालक समितिमा आफ्नो समूहको प्रतिनिधित्व घट्ने भएपछि श्रेष्ठ दाजुभाइ सिडिसीलाई रोक्न उभिएका थिए। त्यसपछि राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिनुअघि राखेका तीन प्रमुख सर्तमध्ये सञ्चालक समितिको निर्वाचन थियो। 

हिमालयन बैंकमा २६ वर्षदेखि साझेदारी गरिरहेको पाकिस्तानको हबिब बैंकले आफ्नो सेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेको छ। 

हबिब जसरी पनि बाहिरिने र सिडिसीलाई जसरी पनि भित्र्याउनु पर्ने दोबाटोमा रहेको राष्ट्र बैंकले समस्याको हल खोज्दै सहमतिमा गठन हुने गरेको सञ्चालक समितिमा यसपाली निर्वाचन नै गराउन निर्देशन दिएको थियो। 

श्रेष्ठ समूहबाट कुल तीन जनामात्रै सञ्चालक बनेका छन्। यसो हुँदा सात सदस्यीय सञ्चालक समितिले बहुमतका आधारमा निर्णय गरेर हबिबलाई 'एक्जिट' र सिडिसीलाई 'इन्ट्री' दिने निर्णय गर्ने छ। नयाँ समीकरण अनुसार खेतान समूहको बोलबाला सञ्चालक समितिमा चल्ने छ। प्रमुख कार्यकारी अधिकृत अशोक राणा भने कार्यकाल सकेर मात्र बाहिरिने भएका छन्।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ। कोषको १४ प्रतिशत लगानी छ। यसपछि एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१, म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ। बाँकी लगानीकर्ताको सेयर १ प्रतिशतभन्दा तल छ।

संस्थापकलाई साधारणमा परिणत
बैंकमा सर्वसाधारणको हिस्सा १५ प्रतिशत मात्र छ। यसलाई ३० प्रतिशत पुर्‍यउन राष्ट्र बैंकले निर्देशन दिएको छ। यसका लागि बैंकले एफपिओ नभइ संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने भएको छ।

'एफपिओ जारी गर्दा जोइन्ट भेञ्चर कम्पनीको लगानी खुम्चिन्छ। त्यसो हुँदा संस्थापकलाई नै साधारण सेयरमा परिणत गरेर ३० प्रतिशत पुर्‍याउने छौं,' प्रमुख कार्यकारी राणाले भने, 'यसले गर्दा कुनै अप्ठेरो पर्दैन।'

मर्जर के गर्ने ?
हिमालयन बैंकले साधारणसभामा मर्जरको प्रस्ताव लगेन। त्यसैले धेरैको विश्लेषण हिमालयन बैंक मर्जरमा जाँदैन भन्ने बन्यो।

तर बैंकका प्रमुख कार्यकारी राणाले भने फरक रणनीति अख्तियार गरेकाले अहिले नै मर्जरको प्रस्ताव साधारणसभामा नलगेको बताएका छन्।

'पहिले सिडिसीलाई भित्र्याएपछि उनीहरुसँग छलफल गर्नेछौं। सिडिसी आएपछि हामी मर्जरको औपचारिक निर्णय गर्ने छौं,' उनले भने, 'एकैपटक जोइन्टभेञ्जर फेर्ने र मर्जरमा जाने निर्णय गर्दा गाह्रो हुन्छ। त्यसैले पहिले जोइन्टभेञ्चरको काम सक्छौं।'