BIZMANDU
www.bizmandu.com

कोरोना भाइरसले चिनियाँ नाका ठप्प भएपछि फलफूलमा पर्‍यो असर, ८५ प्रतिशत स्याउमा चीनमै निर्भर


कोरोना भाइरसले चिनियाँ नाका ठप्प भएपछि फलफूलमा पर्‍यो असर, ८५ प्रतिशत स्याउमा चीनमै निर्भर
कोरोना भाइरसले चिनियाँ नाका ठप्प भएपछि फलफूलमा पर्‍यो असर, ८५ प्रतिशत स्याउमा चीनमै निर्भर


Tata
GBIME
Nepal Life

काठमाडौ। चिनियाँ पर्व ल्होसार र कोरोना भाइरसका कारण सीमामा शिलबन्दी भएपछि बजारमा यतिबेला सबैभन्दा बढी चासो फलफूल व्यवसायीलाइ छ।

नेपाली बजारमा बिक्ने स्याउमा ८५ प्रतिशत चीनबाटै भित्रिने गरेको तथ्यांक छ। यतिबेला नाकामा आवतजावत बन्द भएकाले व्यापारीले चिनियाँ स्याउ ल्याउन पाएका छैनन्।   

नेपालमा धेरैले रुचाउने फुजी स्याउ चीनबाटै आयात हुन्छ। चिनियाँ नाका ठप्प भएपछि स्याउको थोक बिक्रीवितरण हुने काठमाडौंको कुलेश्वरस्थित फलफूल थोक व्यवसायी संघको कम्पाउण्डमा चहलपहल छैन। स्याउको आयात ठप्प भएपछि मूल्यमा विस्तारै प्रभाव पर्न थालिसकेको छ।

केही वर्ष अघिसम्म नेपालको फलफूल बजारमा भारतबाट आयातितको एकाधिकार नै थियो। सिन्डिकेटका कारण नेपालसम्म आइपुग्दा महँगो पर्न जान्थो। व्यापारीहरुले चीन पुगेर सामान ल्याउन पाउने भएयता बजार सहज हुनुका साथै केही सस्तो पनि हुँदै गएको छ। 'चीनबाट ल्याउँदा तुलनात्मक रूपमा सस्तो परिरहेको अवस्था हो, त्यसैले हामी नाका छिटै खुलेर स्थिति सहज हुने दिन कुर्दैछौं,' नेपाल फलफूल थोक व्यवसायी संघका व्यवस्थापक महेश खड्काले बिजमाण्डूसँग भने, 'इण्डियाबाट पनि नआउने भन्ने होइन तर, चिनियाँ फलफूल ल्याउन पाउँदा राम्रो नाफा छ।' नाका बन्द भएयता स्टकमा रहेको फलफूलले बजारको माग धानिरहेको उनले बताए।  

उनका अनुसार भारतबाट आयात गरिने फलफूलले वर्षमा चार महिनामात्रै बजारको माग धान्छ। बाँकी समय चीनदेखि न्युजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकासम्मका स्याउ नेपाली बजारमा आइपुग्छ। केही वर्षयता ठूलो परिमाणमा ल्याइने चीनबाटै हो।  

हाल चीनबाट वार्षिक २० हजार टनभन्दा बढी स्याउ नेपाल आयात हुने गरेको छ। तरकारी जसरी मूल्य नबढेकाले उपभोक्ताले अहिल्यै थाहा नपाएपनि आयात लामो समयसम्म खुलेन भने भाउ बढ्ने खड्काले बताए। 'केही वर्षयता बजार बढेर फलफूलको आयात पहिलेभन्दा दोब्बर भइसकेको छ,' उनले भने, 'चीनबाट आएका फलफूलको ढुवानी खर्च कम, ग्रेडिङ र प्याकिङ राम्रो हुने भएकाले बेच्न सजिलो हुन्छ।'

अन्य मुलुकबाट ल्याइएको तुलनामा चिनियाँ फुजी स्याउको मूल्य अहिलेसम्मकै सस्तो भएको उनले बताए। अहिले फुजी स्याउ किलोको एक सय ५० रुपैँयादेखि  दुई सय ५० रुपैँया सम्ममा बिक्री भइरहेको छ । गत वर्ष फुजी प्रतिकिलो तीन सयदेखि पाँच सय रुपैयासम्म पुगेको थियो।

लगातार बढेको चिनियाँ फलफूलको बजार

भन्सार विभागका अनुसार नेपाली बजारमा चिनियाँ स्याउको हिस्सा उक्लिएको छ। आर्थिक वर्ष २०७४/७५ मा चीनबाट ४ अर्ब ६६ करोड रूपैयाँ बराबरको ७ करोड ९८ लाख किलो र भारतबाट ९३ करोड ७६ लाख रूपैयाँ बराबरको एक करोड ३४ लाख किलो स्याउ आयात भएको थियो।

नेपाली बजारमा चिनियाँ स्याउको हिस्सा ८५.४४ प्रतिशत देखिएको छ भने भारतीयको हिस्सा १४.३४ प्रतिशतमा खुम्चिएको छ। यतिबेला चिनियाँ स्याउ नपाइँदा मात्रै व्यवसायीले भारतबाट ल्याउँछन्।

२०७०/७१ को तुलनामा आव ०७४/७५ मा नेपालमा स्याउको आयात ३४.७१ प्रतिशतले बढेको छ । आव २०७१/७२ मा एक अर्ब ९४ करोड रूपैयाँ बराबरको स्याउ आयात भएको रेकर्ड छ। ०७४/७५ मा दुई अर्ब ६१ करोड रूपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको थियो।

चालु आर्थिक वर्षकै चार महिनामा मात्रै दुई अर्ब ६१ करोड रूपैयाँ बराबरको स्याउ आयात भएर नेपाली बजारमा आएको छ। यसमा चीनबाट एक अर्ब ३७ करोड र भारतबाट एक अर्ब २३ करोडको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा छ । पहिलो त्रैमासमा चीन र भारतबाट आयात बराबरी जस्तो देखिए पनि पछिल्ला त्रैमासमा भने चिनियाँ स्याउले बजार लिएको छ।