BIZMANDU
www.bizmandu.com

ब्यापार वृद्धिसँगै जोखिम बढ्न थालेपछि बैंकहरू बीच मध्यमदेखि माथिका कर्मचारी तानातान

२०७६ माघ २६

ब्यापार वृद्धिसँगै जोखिम बढ्न थालेपछि बैंकहरू बीच मध्यमदेखि माथिका कर्मचारी तानातान
ब्यापार वृद्धिसँगै जोखिम बढ्न थालेपछि बैंकहरू बीच मध्यमदेखि माथिका कर्मचारी तानातान


काठमाडौं। व्यवस्थापन विषय पढेका र दख्खल राख्ने जनशक्तिले नबिल बैंकमा जागिरका लागि 'इन्ट्री' गर्ने दुईवटा मात्र बाटा छन्- ट्रेनी असिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनी। यसबाहेक बैंकले ३५ वर्षमा विरलैमात्र तेस्रो विकल्प प्रयोग गरेर एक दर्जन कर्मचारी माथिल्लो तहमा थपेको छ।

Tata
GBIME
Nepal Life

तर अहिले नबिल फेरिएको छ- धमाधम प्रबन्धकदेखि सहायक महाप्रबन्धकसम्म बाहिरबाट कर्मचारी भर्ना गर्न थालेको छ।

यसको एउटै कारण हो- बैंकमा माथिल्लो तहमा कर्मचारी अवकाश हुन थाले, त्यो खाडललाई पुर्न बाहिरबाट नल्याइ धर छैन। केही महिनामा डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल अवकाश हुँदैछन्। बैंकले दुईजना सहायक महाप्रबन्धक भित्र्याइसकेको छ, अझै आधा दर्जन कर्मचारीलाई 'हन्ट' गरिरहेको छ।

'बहिरको संस्कार छिराउन र बैंकको खालीपना भर्नका लागि हामीलाई माथिल्लो तहमा कर्मचारी चाहिएको हो,' नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बिजमाण्डूसँग भने, 'रणनीतिक रूपमा अगाडि बढ्न पनि हामीलाई ब्यवस्थापन तहमा कर्मचारी चाहिएको छ।'

तीन वर्षयता आक्रामक रूपमा बैंकिङ कारोबार गरिरहेको एनआइसी एसियाले अहिले मध्यम तहका कर्मचारी धमाधम भर्ना गर्न थालेको छ। ग्लोबल आइएमइ बैंकबाट दुईजना लगिसक्यो, अन्य बैंकबाट पनि क्षमतावान दरिएका कर्मचारी तान्दैछ।

सुरूमा तल्लो तहमा कर्मचारी भर्ना गरेर ब्यापार सञ्जाल विस्तार गरेको बैंकलाई अहिले अलिकति 'क्वालिटी मेनपावर' चाहिएको छ। बैंकको सञ्जाल मात्र बढेन, ब्यापार र जोखिम पनि बढ्यो। त्यसलाई ब्यवस्थापन गर्न बैंकले अरू बैंकमा राम्रो गरिरहेकाहरूलाई तान्ने रणनीति बनाइरहेको देखिएको छ।

'हामी अब अलिक फरक पाटोबाट बैंकिङ गर्नेगरी अगाडि बढिरहेका छौं। त्यही भएर पनि फरक फरक ठाउँमा भएका कर्मचारी हामीलाई चाहिएको छ,' एनआइसी एसियाका प्रमुख कार्यकारी रोशनकुमार न्यौपानेले भने, 'त्यही भएर केही नयाँ कर्मचारीहरू हामीले लिएका हौं।'

सनराइज बैंकले सहायक महाप्रबन्धकमा बाहिरबाट एक जनालाई नियुक्त गरिसकेको छ भने प्रबन्धक तहमा केही अरू कर्मचारी बाहिरबाट तान्दैछ। सनराइजमा नयाँ प्रमुख कार्यकारी गएकाले उनले आफ्नो टिम बनाउन मध्यम र माथिल्लो ब्यवस्थापनमा बाहिरबाट कर्मचारी लगेका हुन्।

बाहिरबाट कर्मचारी लैजानुपर्ने सबैको फरक फरक बाध्यता छन्। 

संसदमा पेश भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक 'बाफिया' पास भएमा एकैपटक चार बैंक नेतृत्वविहीन हुँदैछन्। ती बैंकले माथिल्लो ब्यवस्थापन भर्नका लागि पनि कर्मचारी लैजानैपर्ने भएको छ।

बाफिया पारित भएमा हिमालयन, नेपाल इनभेष्टमेन्ट, प्राइम र नेपाल बंगलादेश (एनबी) बैंकको व्यवस्थापनको नेतृत्व गर्ने पद खाली हुँदैछ। दुई कार्यकाल पूरा गर्ने चरणका सीइओ रहेका अरू आधा दर्जन बैंकमा पनि प्रमुख कार्यकारी चाहिएको छ।

हिमालयन बैंक पनि निकै पुरानो भएकाले त्यहाँबाट पनि उमेरका कारण कर्मचारी अवकाश हुँदैछन्। हिमालयनले ब्यवस्थापन तहमा कर्मचारी लैजान केहीसँग कुराकानी गरिरहेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले पनि माथिल्लो तहमा कर्मचारी लैजान कुराकानी सुरु गरिसकेको छ। 

केही ठूला बैंकहरुले बैंकिङबाट बाहिरिसकेका पूर्वबैंकरहरूलाई फेरि प्रणालीमा फर्काउन पहल थालिसकेका छन्। उनीहरुले प्रमुख कार्यकारी भइसकेकाहरुलाई डेपुटीमा आएर पछि नेतृत्व लिन फकाइरहेका छन् भने बीचको तहबाट बाहिरिएकाहरुलाई पनि बैंकिङमा फर्काउन खोजिरहेका छन्।

'पुँजी वृद्धिपछि बैंकहरूको ब्यापार विस्तार लगभग दोब्बरले बढेको छ। यस बीचमा छोटो अवधिमै कर्मचारीहरु माथिल्लो तहमा पुगे, तर उनीहरूसँग पर्याप्त अनुभव अभाव छ,' एक बहालवाला बैंकरले भने, 'माथिल्लो तहमा कर्मचारी आफ्नैबाट मात्र ग्रुप भएकाहरूले पुगेन। त्यही भएर अर्को बैंकका योग्य जनशक्तिमा आँखा लगाउनु पर्ने अवस्था आएको हो।'

केही बैंकले सञ्चालक रहेका कतिपय विज्ञहरुलाई पनि ब्यवस्थापनमा फर्काउन खोजिरहेका छन्। मर्जरको सर्तमा उनीहरुलाई 'कुलिङ पिरियड' नलाग्ने भएकाले पनि विज्ञ सञ्चालक ब्यवस्‍थापन तहमा फर्काउन खोजिएको हो।

'सिइओ र डेपुटी सिइओलाई कुलिङ लाग्छ,' एक बैंकरले भने, 'तर कर्मचारी अभाव हुन थालेपछि राष्ट्र बैंकको निर्देशनको छिद्रमा टेकेर डेपुटी सिइओहरू तान्नुपर्ने अवस्था आएको छ।' डेपुटी सिइओ पनि अर्कोमा जाँदा कुलिङ पिरियड लाग्छ। तर बैंकरले वरिष्ठ र कनिष्ट डेपुटी सिइओ वर्गिकरण गरेर नियुक्त गर्न थालेका छन्। यसलाई राष्ट्र बैंकले पनि आँखा चिम्लिदिने गरेको छ। वरिष्ठलाई लाग्ने र कनिष्टलाई नलाग्ने गरी परिभाषित गर्न थालिएको छ।

पछिल्लो समय मध्यम तहको ब्यवस्थापनमा माछापुच्छ्रे, एनएमबि, सिद्धार्थ र मेगा बैंकले पनि कर्मचारी खोजिरहेका छन्। सेञ्चुरी बैंकले त सार्वजनिक विज्ञापन नै गरेर मध्यम तहमा कर्मचारी माग गरेको छ। 

'अहिले नीति-नियम कडा भइरहेको छ। कम्प्लायन्स (अनुपालन) झन् कडा भइरहेको छ,' डेपुटी सिइओ खोजिरहेका एक बैंकका प्रमुख कार्यकारीले भने, 'ब्यापार बढाउनु पर्ने चुनौती छ। त्यही भएर जसरी हुन्छ मध्यम र माथिल्लो तहमा कर्मचारी तान्नैपर्ने बाध्यता छ।'

बैंकिङ क्षेत्रमा करिअर बनाउनेलाई अवसर
नेपालमा हाल २७ वाणिज्य बैंक छन्। व्यवस्थापनको तल्लो तहबाट कार्यक्षमताका आधारमा प्रमोसन पाइरहेका क्षमतावान कर्मचारीका लागि अघि बढ्ने बाटो खुलेको छ। 

अर्काका दक्ष जनशक्तिका विषयमा बैंकरहरूले सोधिखोजी थालेपछि व्यवस्थापनमा काम गरिरहेकाहरूले राम्रो पदसँगै आकर्षक तलब-सुविधा माग गरेर फड्को मार्न पाएका छन्। अर्काको कर्मचारी तान्दा आफ्नो कारोबारलाई ध्यानमा राख्दै  तलब-सुविधाको 'बार्गेनिङ' मा बैंकहरूले मान्नैपर्ने अवस्था छ। 

बैंकिङ क्षेत्रका बिभिन्न तहमा काम गरेका मत्वाकांक्षी कर्मचारीहरू फाइनान्स, बीमा र लघुवित्तका कम्पनीहरूमा आउने-जाने चलिरहँदा पुनः एउटा लहर वाणिज्य बैंकतर्फ आकर्षित हुने अवस्था छ। कर्मचारी एउटाबाट अर्कोमा जाने क्रम चलिरहँदा खाली हुने पदमा नयाँ जनशक्तिले रोजगारी पाउने बाटो पनि खुल्दैछ।