BIZMANDU
www.bizmandu.com

व्यापारिक घराना ज्योति समूहमा जग्गा विवादपछि भागबण्डा, हिमालयन बैंकको सेयर हस्तान्तरण


व्यापारिक घराना ज्योति समूहमा जग्गा विवादपछि भागबण्डा, हिमालयन बैंकको सेयर हस्तान्तरण
व्यापारिक घराना ज्योति समूहमा जग्गा विवादपछि भागबण्डा, हिमालयन बैंकको सेयर हस्तान्तरण


काठमाडौं। ज्योति समूहले हिमालयन बैंकको संस्थापक सेयरको पारिवारिक कारोबार गरेको छ। समूह अन्तर्गतको स्याकार कम्पनीको सेयर परिवारको अन्य दुई कम्पनीमा बिक्री गरिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको दुईवटा कारोबार भएका छन्। यो सेयर ४० र ४३ नम्बर ब्रोकर कार्यालयबाट किनबेच भएको हो। सुरुमा ४३ नम्बर ब्रोकरले ४० नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७५३ कित्ता सेयर बिक्री गरेको थियो। 

अर्को कारोबारमा भने ४० नम्बर ब्रोकरले ४३ नम्बर ब्रोकरलाई ४ लाख २१ हजार ७५४ कित्ता बिक्री गरेको छ। दुवै कारोबार प्रतिकित्ता २९० रूपैयाँका दरमा भएका छन्। हिमालयन बैंकमा स्याकारको कुल एक (०.९९) प्रतिशत सेयर छ। अब स्याकारको हिस्सा घटेर ज्योति समूहको अन्य दुई कम्पनीमा गएको छ।

परवानीपुरको हिमाल आइरन एण्ड स्टीलको सह-वित्तीयकरणमा हिमालयन बैंकमा ऋण लगानी छ। ज्योती समूहको हिमाल स्टिलमा स्याकार कम्पनीको पनि शेयर छ। 

त्यही बैंकको सेयरधनीले त्यहीँबाट ऋण लिन नपाउने कानुनी ब्यवस्था छ। त्यही भएर स्याकारले आफ्नो सेयर ज्योति समूहका अन्य सदस्यहरुको लगानी रहेको कम्पनीलाई बिक्री गरेको हो।

यो देखाउने कारण भएपनि भित्री कारण भने अर्कै छ। स्रोतका अनुसार भाइ डा. रूप ज्योति जग्गा विवादमा फँसेपछि यो समूहमा विवाद चर्किएको थियो।  विवाद चर्किएपछि औपचारिक रूपमा सगोलमा रहेका कतिपय कम्पनीको सेयर बाँडफाँट गर्ने प्रक्रिया अघि बढेको हो। 

समूहका कतिपय कम्पनी अझै पनि सगोलमै संचालनमा छन्। हिरो र होण्डा वाइक भारतमै छुट्टिएपछि नेपालमा पनि छुट्टै कम्पनी स्थापना गरेर कारोबार गर्नुपर्ने बाध्यताले मात्रै फरक/फरक बनाउनुपरेको थियो। तर हिमाल आइरन एण्ड स्टील, हिमाल वायर, ज्योति स्पिनिङ लगायतका कम्पनी संयुक्त रुपमै संचालित थिए। स्रोतका अनुसार अब यी सबै कम्पनीको बाँडफाँट हुनेछ। कतिपय जग्गाजमिनको बाँडफाँड सुरु भइसकेको छ।

हिमालयन बैंकको संस्थापक सेयरको बाँडफाँटले नेपालको सबैभन्दा पुरानो घराना ज्योति समूहको अंशबण्डा औपचारिक रुपमै सुरू भएको देखिन्छ। मणिहर्ष ज्योति कंसाकारले १९४० मा यो समूह स्थापना गरेका थिए।

अंशबण्डको अवस्थामा पुर्याउने त्यो बिबाद के थियो? पढ्नलाई यहाँ क्लिक गर्नुुस्

ज्योति समूह निकट एक उद्योगीका अनुसार केही दिनअघि  ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले घरायसी कामका लागि केही साता सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएका थिए। 

‘केही घरायसी काम सकाउनुपर्ने भएकाले केही दिन म सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्दिन,’ उनले कोर व्यापारीको समूहसँग भनेका थिए। 

उनले राष्ट्रिय व्यवसायिक पहल (एनबिआइ)को नेतृत्व छाड्ने बेलामा भनेका थिए-‘व्यक्तिका कारण संस्थामा दाग लाग्नु हुँदैन।’ स्रोतका अनुसार रूप ज्योतिका कारण आफू पनि जेल जानुपर्ने अवस्था आएको भन्दै उनी असन्तुष्ट थिए। 

त्यही भएर स्याकारबाट भाजुरत्न र स्याकार ट्रेडिङ कम्पनीमा सेयर हस्तान्तरण भएको छ। भाजुरत्न भाइ रूप ज्योतिको कम्पनी हो भने स्याकार ट्रेडिङ छोरा सौरभको नाममा छ। स्याकार ट्रेडिङले होन्डा बाइक र होन्डा गाडी बिक्री गर्छ।

'आजको सेयर कारोबार दाजुभाइ बीचको आन्तरिक भागबन्डा मिलाउनका लागि हो,' स्रोतले भन्यो, 'अझै केही कम्पनीको सेयर हस्तान्तरण हुन बाँकी छ।'

रूप ज्योतिले किनेको बाँसबारीस्थित ६ रोपनी ११ आना जग्गाको एउटा प्लटका कारण उनलाई ठगी मुद्दा लागेको थियो। त्यही कारण उनलाई प्रहरीले अदालतको स्वीकृतिमा थुनामा राखेर अनुसन्धान समेत गरेको थियो।

सिंगापुरबाट फर्किँदै गर्दा रूप ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो। उनीसँगै छोरी सुरूचि ज्योति पनि पक्राउ परेकी थिइन्। यसपछि दाजुभाइबीच छुट्टीभिन्न हुने वातावरण तयार भएको हो।