BIZMANDU
www.bizmandu.com

फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्ने जिओ अटोमोबाइलको प्रस्ताव, डेढ सय गाडी निकासी गर्न

२०७६ माघ ५

फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्ने जिओ अटोमोबाइलको प्रस्ताव, डेढ सय गाडी निकासी गर्न
फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्ने जिओ अटोमोबाइलको प्रस्ताव, डेढ सय गाडी निकासी गर्न


Tata
GBIME
Nepal Life

काठमाडौं। फोर्ड गाडीको नेपालको अधिकृत बिक्रेता जिओ अटोमोबाइलले फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न अनुमति मागेको छ।

कम्पनीले राजस्व सचिव शिशिर ढुंगानालाई पत्र पठाउँदै तत्कालै सयदेखि डेढ सय गाडी निकासीका लागि अनुमति मागेको छ। कम्पनीका संचालक आकाश गोल्छाले बंगलादेशमा फोर्ड गाडी निकासीको सम्भावना देखेर अनुमति मागेको बताए।

‘हामीले भारतबाट ल्याएर बंगलादेश गाडी निकासीको सम्भावना देखेर अनुमति मागेका हौं। यहाँबाट निकासी हुँदा त्यसले मुलुकलाई नै फाइदा हुन्छ,’ उनले बिजमाण्डूसँग भने,’हामीले बंगलादेशमा सम्भावना देखेर निकासीको प्रक्रिया अघि बढाउन खोजेका हौं।’

आर्थिक ऐनमा कुनै व्यक्तिले नेपालमा पैठारी भएको मालवस्तुहरु बैकिङ प्रक्रियामार्फत भुक्तानी हुने गरि निकासी गर्न चाहेमा पैठारी मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गरि निकासी वापतको विदेशी मुद्रा अग्रिम रूपमा प्राप्त भइसकेको वा सो वापत खोलिएको प्रतीतपत्रका आधारमा विदेशी मुद्रा प्राप्त हुने प्रमाण पेश गरेमा निकासी गर्न दिइने उल्लेख छ। यही ऐनको व्यवस्था टेकेर कम्पनीले गाडी निकासी गर्न खोजेको हो।

कम्पनीका अनुसार भारतको चेन्नइ र गुजरातबाट फोर्ड ब्राण्डको सवारी नेपालको भन्सार कार्यालयमा केही समय राख्नेछ। यसरी आयात गरिएको सवारीलाई कम्पनीले आवश्यक कागजात तयार गरी बंगलादेश निर्यात गर्नेछ। तर सो सवारी नेपाल भने भित्रिने छैन।

यसैगरी कम्पनीले नेपालको भन्सार कार्यालयसम्म आयात गरी नेपाल नभित्र्याई निर्यात गर्दा  आयात तथा निर्यात शुल्क नलाग्ने गरी भन्सार कार्यालयमा व्यवस्था मिलाइदिन आग्रह गरेको छ।

नेपाललाई फाइदा पुग्ने कम्पनीको दाबी

भारतबाट सवारीसाधन आयात गर्दा भारतीय मुद्रामा जारी भई आउने बिलमा अतिरिक्त ५ प्रतिशत थप हुनेछ। यस्तै बंगलादेशतर्फ अमेरिकी डलरमा भुक्तानी हुनेछ। यसले मुलुकभित्र विदेशी मुद्राको सञ्चिती समेत बढ्ने कम्पनीको दाबी छ। यस्तै आयात-निर्यातको सबै आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने र त्यसबाट बैंकहरू समेत लाभान्वित हुने कम्पनीको दाबी छ।

कम्पनीले पहिलोपटक सवारी दोस्रो मुलुकबाट खरिद गरी तेस्रो मुलुक निर्यात गर्ने योजना बनाएको हो। यो योजना सफल भएमा अन्य देशमा पनि सवारी निर्यात गर्न सकिने कम्पनीले दाबी गरेको छ।