BIZMANDU
www.bizmandu.com

म्युचुअल फण्डभन्दा ठूलो लगानी रहेको हाथवेबाट किन अलग्गिए अम्बिका पौडेल?

२०७६ माघ ५

म्युचुअल फण्डभन्दा ठूलो लगानी रहेको हाथवेबाट किन अलग्गिए अम्बिका पौडेल?
म्युचुअल फण्डभन्दा ठूलो लगानी रहेको हाथवेबाट किन अलग्गिए अम्बिका पौडेल?


काठमाडौं। पुँजी बजारमा अर्बौं लगानी गर्दै आएको संस्था हाथवे इन्भेष्टमेन्टको प्रबन्ध निर्देशकबाट अम्बिकाप्रसाद पौडेल अलग्गिएका छन्। उनी सञ्चालक मात्र रहने छन्।

Tata
GBIME
Nepal Life

सेयर बजारमा हाथवे र अम्बिका पौडेल पर्यायवाचीजस्तै हुन्। हाथवेले लगानी गर्‍यो भने अरु पनि पच्छ्याउने र सेयर बेच्न थाल्यो भने अरूले पनि बेच्न थाल्ने अवस्था बनेको थियो। पौडेल लगानीकर्ताहरूको संगठन इन्भेस्टर फोरमका अध्यक्ष पनि भइसकेका छन्।

सरकारले पुँजी बजार सुधारका लागि समिति बनाउँदा उनी त्यसका सदस्य थिए। पुँजी र मुद्रा बजारसँग सम्बन्धित ५८ बुँदे सुधार प्याकेज ल्याउन पौडेलले ठूलो मेहेनत गरेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको समितिको संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ थिए।

समितिको सुझाव कार्यान्वयन हुन थालेपछि कार्यकाल बाँकी छँदै पौडेलले फोरमबाट राजीनामा गरेर नेतृत्व हस्तान्तरण गरेका थिए।

२०६५ सालमा संस्था स्थापना गरेर पुँजी बजार, रियलस्टेट र अन्य दीर्घकालीन लगानीको क्षेत्रमा पैसा लगाउँदै आएको हाथवेको नयाँ ब्यवस्थापन प्रमुखमा चार्टर्ड एकाउन्टेन्ट नुमनाथ पौडेल नियुक्त भएका छन्।

सुरूमा हाथवेको चुक्ता पुँजी ७ करोड रूपैयाँ थियो। चन्द्र ढकालको आइएमइ समूह, देवी भट्टचनको प्रभु समूह, कमल ज्ञवालीको किस्ट समूह, केही चार्टर्ड एकाउन्टेन्ट, बैंकर र पुँजी बजारमा काम गरिरहेका ब्यवसायीहरुको लगानीमा संस्था खोलिएको थियो। 

सञ्चालन लाइसेन्स पाएको ४५ दिनमै कम्पनीले ५ प्रतिशत लाभांश बाँडेको थियो। तर यो उत्साह धेरै टिक्न सकेन। सेयर बजार सूचक ११७५ बाट क्रमशः घट्न थालेको थियो। बजार २९२ अंकसम्म ओर्लियो।

सात करोडको कम्पनीले लाभांश बाँडेपछि फेरि अर्को सात करोड हकप्रदबाट जुटाएर पुँजी १४ करोड रूपैयाँ पुर्‍याएको थियो। १४ करोडमा १२ करोड ऋण थपेर लगानी रकम २६ करोड पुर्‍याइयो।

२६ करोडमध्ये कम्पनीले ११ करोड जग्गा जमिनमा लगायो। बाँकी पैसा पुँजी बजारमा लगायो। यता सेयर बजार घटेर लगानी संकटमा परिसकेको थियो भने जग्गा जमिनले पनि प्रतिफल दिन छाडेको थियो।

कम्पनी करिब ५ करोड रूपैयाँ घाटामा गएको थियो। २०६७ सालतिर कम्पनी बन्द हुने अवस्थामा पुगिसकेको थियो। तर लगानीकर्ताहरूले हार खाएनन्। फेरि हकप्रद हालियो।

१०० रूपैयाँ अंकित दरको हकप्रद ५० प्रतिशत 'डिस्काउन्ट' सबै जनाले हाले। त्यसपछि संस्था एउटा स्तरमा पुग्यो। कागजमा चुक्ता पुँजी माथि भए पनि बजार घाटाले वास्तविक पुँजी ५ करोडमा झरिसकेको थियो। 

सेयर बजार उकालो लाग्न थाल्यो। जग्गा जमिनबाट पनि प्रतिफल आउन थाल्यो। त्यसपछि पौडेलको ब्यवस्थापकीय नेतृत्वमा रहेको कम्पनीले ५० प्रतिशत लाभांश दियो। अर्थात हकप्रदको डिस्काउन्ट बापतको रकम बोनस सेयरबाट पूर्ति गरियो।

'एउटा अप्ठेरो अवस्थाबाट कम्पनी आज सबल अवस्थासम्म आइसकेको छ। २९२ अंक ब्योहोरेको बजार १८ सय ८८ अंकसम्म पुग्यो,' पौडेलले भने,'समस्या भयो भनेर बन्द गरेको भए लगानी डुब्थ्यो। त्यसबाट पार लगाएपछि समस्या भोग्नु परेको छैन।' 

केही समयअघि बजार ११ सय अंकसम्म आएर अहिले १३ सय अंक उक्लिसकेको छ। बजारको उतारचढावसँगै हाथवेले लगानी विविधीकरण पनि गर्दै लगेको छ।

'अहिले आएर कम्पनीलाई समस्या भयो भनेर महसुस गर्नु परेको छैन,' उनले भने, 'दीर्घकालीन लगानीका क्षेत्रमा हामी विस्तार भइरहेका छौं। २४ करोडको पुँजी आज ८२ करोड पुगिसकेको छ। यो पुँजी अधिकांश बोनस सेयर र केही मात्रामा हकप्रदबाट बढाइएको हो।'

अहिले कम्पनीको पुँजी जति सबै दीर्घकालीन लगानीका क्षेत्रमा लगाइएको उनले जानकारी दिए। घरजग्गा, बैंक, संस्थापक सेयर, रीइन्स्योरेन्स कम्पनी, चन्द्रागिरि केबलकार र होटल, डिस होम, हिमालयन पावरमा हाथवेको लगानी छ। 'यसले हामीलाई लगानी गरेदेखि प्रतिफल दिएको छैन, तर दिने चरणमा पुगेको छ,' उनले भने, 'ऋण लिएको पैसा भने दोस्रो बजारमा लगानी गरिरहेका छौं।' 

हाथवेले दोस्रो बजारको लगानी गरेको रकम कुनै पनि सामुहिक लगानी कोषको भन्दा ठूलो छ। 

'आरोहअवरोह आएपछि हामीले लगानीलाई विविधीकरण गरेका छौं। वास्तविक मूल्यांकन गर्ने हो भने जति लगानी गरिएको छ त्यसो दोब्बर प्रतिफल आर्जन भएको छ,' उनले भने। 

कम्पनी राम्रो भएपछि अम्बिकाले ब्यवस्थापकीय जिम्मेवारीबाट बिदा लिएका हुन्। उनका अनुसार, अब नीतिगत तहमा बसेर काम गर्नका लागि कम्पनी छाडेको हो।

'मैले असाध्यै अनुकूल समयमा कम्पनी छाडेको छु। कम्पनी एउटा गतिमा पुगेको छ। कम्पनी ठूलो भइसकेपछि अलिक ब्यवसायिक रूपमा चल्नु पर्छ। त्यसैमा प्रतिबद्ध मान्छे चाहिन्छ भनेर छाडेको हो,' उनले भने, 'मैले आफ्नै खालको अरू कामले गरिरहेको छु। पुँजी बजार हिजोभन्दा आज कम्प्लेक्स भइरहेको छ। म धेरै ठाउँमा बाँडिइसकेको छु। ब्यक्तिगत लगानी पनि छन्। त्यसमा समय दिन नसकेको सन्दर्भमा योग्य ब्यक्तिलाई हस्तान्तरण गरिएको हो।'

उनले लगानीलाई अझ बिस्तार र प्रतिफलमुखी बनाउनका लागि नीतिगत तहमा बसेर काम गर्न खोजेको सुनाए। 'अबको ३/४ वर्ष पुँजी बजारमा आफ्नो पोर्टफोलियो म्यानेज गर्न लाग्छु,' उनले भने, 'नीतिगत तहमा बसेर काम गर्छु।'