काठमाडौं। पाँचवटा देश मिलेर खोलेको ब्रिक्स बैंकका अध्यक्ष केबी कामथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रीमण्डलमा सामेल हुने भएका छन्। वरिष्ठ बैंकर कामत वित्त मन्त्रालयमा राज्य मन्त्री हुने भएका छन्।
राज्यमन्त्रीमा नियुक्त भएपछि विस्तारै उनको भूमिका बढाइने भएको छ। कामथ आइसीआइसीआइ बैंक र इन्फोसिसका अध्यक्षसमेत थिए। उनलाई भारतमा प्रभावशाली बैंकरका रूपमा चिनिन्छ। उनी आइसीआइसीआइ बैंकको गैरकार्यकारी अध्यक्ष थिए।
ब्राजिलमा भएको ब्रिक्स सम्मेलनमा ब्रिक्स देशका लागि १०० अर्ब डलरको विकास बैंक खोल्ने निर्णय भएको थियो। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको ब्रिक्स सम्मेलनमा भएको निर्णयअनुसार भारत यो बैंकमा आगामी ६ वर्षका लागि अध्यक्ष नियुक्त गर्ने छ। यो बैंकको मुख्यालय चीनको संघाइमा छ।
इकोनोमिक टाइम्समा छापिएको समाचार अनुसार, मन्त्रीमण्डलमा विशेषज्ञहरूलाई थप्ने क्रममा मोदी सरकारले हरदीप सिंह पुरी, केजे अल्फोस र एमजे अकबरलाई पनि भित्र्याएको थियो। सरकारले नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तलाई पनि मन्त्रीमण्डलमा भित्र्याउने तयारी गरेको छ। यसअघिको सरकारमा उद्योग वाणिज्य तथा रेल मन्त्रालय चलाएका सुरेश प्रभु पनि भित्रिने सम्भावना छ।
मोदी सरकारले निकै कम गैरराजनीतिज्ञलाई सरकारमा भित्र्याएको छ। पछिल्लो समय भने विज्ञहरूलाई पनि मन्त्रीमण्डलमा ल्याउन थालेको छ । कमजोर अर्थतन्त्रलाई सुधार दिनका लागि पनि विज्ञहरुलाई सरकारमा ल्याउन पहल थालिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।
मेकानिकल इन्जिनियर रहेका कामथले आइआइएमबाट एमबीए गरेका छन्। ६७ वर्षका उनले १९७१ बाट करियर सुरु गरेका थिए। १९९८ मा आइसीआइसीआइ बैंकमा राजीनामा गरेपछि उनी एसियाली विकास बैंकमा आबद्ध भएका थिए।
अहिले भारतीय अर्थमन्त्रको नेतृत्व वित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले काम गरिरहेकी छन्। मोदी सरकारको दोस्रो कार्यकालमा अर्थतन्त्र र वित्तीय क्षेत्रमा समस्या देखिएको छ। लगातार आर्थिक वृद्धिदर घटिरहेको छ। यस्तोमा रोजगारी, उत्पादन, प्रत्यक्ष वैदेशिक लगानी बढाएर अर्थतन्त्रलाई उकास्नु पर्ने दबाबमा सरकार छ। त्यही भएर कामथलाई वित्त मन्त्रालय भित्र्याउन खोजिएको हो।