BIZMANDU
www.bizmandu.com

चीन-अमेरिका पहिलो व्यापार सम्झौता : दोस्रो चरणको वार्ता अझै अनिश्चित

२०७६ माघ २

Tata
GBIME
Nepal Life

चीनमा मध्यरात हुँदा अमेरिकामा चीन र अमेरिकाबीच पहिलो चरणको व्यापार सम्झौता भयो। मध्यरातमा भएको सम्झौता बिहानमात्र चीनमा चर्चामा आयो।

दुई वर्षसम्म चलेको व्यापार युद्धको अन्त्यको प्रयासका लागि भएको भनिएको सम्झौताले व्यापार युद्धको मुख्य कारणलाई भने सम्बोधन गर्न सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सम्झौता त गरे तर यो सम्झौतामा उनले चिनियाँ उत्पादनमा लगाएको करलाई भने सम्बोधन नगरिएको सिएनएनले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता अमेरिकाको अर्थव्यवस्थामा परिवर्तन ल्याउन महत्त्वपूर्ण हुने बताए। यो सम्झौताले ३७० बिलियन डलर बराबरको चिनियाँ उत्पादन माथि लगाइएको करमा छुट हुने अपेक्षा गरिएको छ। जुन अमेरिकाले चीनबाट हुने कुल आयातको दुई तिहाइ हो। करले बेसवल ह्याट, लगेज, साइकल, टिभी, स्निकरलगायतका सामाग्रीको मूल्य बढाएको छ।

उक्त सम्झौताका कारण चीनले आफ्नो आयातमा २०० बिलियन डलरसम्म बढाउने वाचा गरेको छ। सम्झौताअनुसार अमेरिका केही वस्तुमा लगाएको उत्पादन शुल्क ५० प्रतिशतसम्म कम गर्न सहमत भयो पनि।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग भएको सम्झौतालाई 'ब्रेक थ्रु' भनेका छन्। यद्यपि यसले नै समस्याको सम्बोधन नहुने तर्क गरिएको छ।

‘सम्झौता हुनु भनेको विश्वव्यापी रुपमा पछिल्लो समय चर्किएको व्यापार युद्ध अन्त्य भएको भन्ने होइन,’ सिएनएनको अर्को आलेखमा उल्लेख छ।

करिब ८५ पेज लामो सम्झौतालाई अन्तिम समयसम्म सार्वजनिक गरिएको थिएन। ‘के हामी आदर्श विन्दुमा छौँ? होइन,’ अमेरिकी राष्ट्रपति ट्रम्पका मुख्य व्यापार वार्ताकार रोबर्ट लाइथिजरले भनेका छन्, ‘यो असल सुरुवात हो?, हो।’

चीनमा पनि यस सम्झौताको विषयमा चर्चा भइरहेको छ। चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीयमार्फत सम्झौतालाई संरक्षण गर्न सुझाएको छ।

सम्झौताले व्यापार युद्धलाई शुन्यमा नझार्ने सम्पादकीयमा उल्लेख छ।

सम्झौता भए पनि अनिश्चितताहरु अझै बाँकी छन्। ग्लोबल टाइम्समा प्रकाशित अर्को आलेखमा उल्लेख छ।

‘व्यापार युद्का अनिश्चितताहरु अझै पनि कायम छन्। यो सम्झौताले दुबै देशलाई पुन ट्र्याकमा ल्याउन दबाव दिएको छ, ’ चीनको अन्तर्राष्ट्रिय व्यापार एसोसिएसनका विज्ञ कमिटीका उपाध्यक्ष ली योङले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘म अहिलेको मुडलाई नकरात्मक बनाउन चाहन्नँ। तर, अझै धेरै गर्न बाँकी नै छ।’

उनले सम्झौताको पूर्ण कार्यान्यवन गर्नु पर्नेमा जोड दिए। ‘चीन यसबाट पछि हट्दैन र अमेरिका पनि हट्नुहुन्न।’

८५ पृष्ठ लामो सम्झौतालाई असल सुरुवात भन्दै चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सम्झौतालाई एउटा असल सुरुवातको रुपमा मात्र लिन सकिन्छ।’

चीनको जेडी फाइनान्सका प्रमुख अर्थविज्ञ सेन जियानगुनले सम्झौता कार्यान्वयनमा वाधाहरु रहिरहने बताएका छन्।

‘निरन्तर रुपमा भइरहेका व्यापार तनावहरु भविष्यमा पनि आउँछन्। यदि सम्झौता तत्काल कार्यान्यवयन भए पनि व्यापार युद्धले दिएको घाउ निको हुन गाह्रो छ।’

ह्वाइट हाउसमा भएको सम्झौतासँगै अमेरिकी अधिकारीहरुले दोस्रो चरणको वार्ता सुरु भएको बताए पनि चीन 'पर्ख र हेर'को अवस्थामा रहेको बताइएको छ। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दोस्रो चरणको वार्ता सुरु भएको बताए पनि चिनियाँ अधिकारीहरु यस विषयमा मौन नै रहेको ग्लोबल टाइम्सले जनाएको छ।

चीनले दोस्रो चरणको वार्ता सुरुवात गर्ने सहमति जनाए पनि अमेरिकाले लगाएको कर पूर्ण खारेजीको माग चीनले अगाडि सार्न सक्ने समाचारमा उल्लेख छ।

‘पहिलो चरणको सम्झौतामा नसमेटिएका विषयहरुबारे अध्ययन गरेर दोस्रो चरणको वार्ता घोषणा हुने छ,’ चिनियाँ वाणिज्य मन्त्रालयका सल्लाहकारले भनेका छन्।

त्यस्तै चिनियाँ विज्ञहरुले पनि चीनलाई दोस्रो चरणको वार्ताका लागि हतारो नभएको बताएका छन्। ‘चीनलाई दोस्रो चरणको वार्ताको सुरुवात गर्न कुनै हतारो छैन। यस वार्तामा थप गहन छलफल हुने छन्। त्यसैले पनि यसका लागि सतर्क भएर अगाडि बढ्नु पर्छ,’ चीनको रनमिन विश्वविद्यालयका सिनियर रिसर्च फेलो दोङ साओपङले भने’, ‘चीनका लागि अमेरिकाले लगाएको कर खारेजी आवश्यक छ।’