BIZMANDU
www.bizmandu.com

राजस्वको लक्ष्य पूरा गर्न सचिवकै दौडधुप, व्यवसायीलाई ‘एडभान्स ट्याक्स’को दबाब

२०७६ पुष २९

राजस्वको लक्ष्य पूरा गर्न सचिवकै दौडधुप, व्यवसायीलाई ‘एडभान्स ट्याक्स’को दबाब
राजस्वको लक्ष्य पूरा गर्न सचिवकै दौडधुप, व्यवसायीलाई ‘एडभान्स ट्याक्स’को दबाब

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम  दिन राजस्व सचिव शिशिर ढुंगाना तोकिएको राजस्वको लक्ष्य पूरा गराउन दौडधुपमा छन्।

उनी आफ्नो कार्यकक्षमा बसेर राजस्वको हिसाब गर्दै आफ्ना मातहतका विभाग र कार्यालयलाई राजस्व उठाउन ताकेता गरिरहेका छन्। चालु आर्थिक वर्षमा राजस्व लक्ष्यको खाड्ल बढ्दै गएका कारण पनि सचिव ढुंगाना दबाबमा छन्। उनको दबाब आन्तरिक राजस्व विभागदेखि राजस्व कार्यालय र भन्सार विभागदेखि कार्यालयसम्म परिरहेको छ।

राजस्वको लक्ष्य पूरा गर्नका लागि कार्यालयले समेत उद्योगी/व्यवसायीलाई कर तिर्न आउन निरन्तर आग्रह गरिरहेका छन्। पुस मसान्तसम्मको राजस्वको तथ्यांकले वर्षभरिको संकलनको तस्विर देखाउने भएकाले समेत राजस्वका कर्मचारीले यो समयमा दबाब बढाउने गर्छन्।

अग्रिम कर(एडभान्स ट्याक्स) उठाउन करका हाकिमले व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छन्। आन्तरिक राजस्व विभाग अन्तर्गतका ५९ करदाता सेवा कार्यालयहरु आयकर उठाउन व्यस्त छन्। पुस महिनामा मात्रै ८१ अर्ब राजस्व संकलन लक्ष्य लिएको विभागले सोमबार साँझ (पुस २८) सम्म ५२ अर्ब राजस्व संकलन गरेको छ।

यो महिनाको अन्तिम दिन मंगलबार पनि कर उठाउन ताकेता गरिरहेको विभागले बताएको छ। अन्तिम दिन सबैभन्दा बढी कर आउने भएकाले लक्ष्य पूरा हुनेमा अधिकारीहरु विश्वस्त छन्।

 ‘हामी मातहतको ५९ कार्यालयले धेरै मेहनत गरिरहेका छौं,’ विभागका एक कर्मचारीले भने, ‘हामीले आज एकै दिनमा २८ अर्ब संकलन गर्ने लक्ष्य लिएका छौं। त्यो पूरा हुनेमा विश्वस्त छौं।‘ विभागले चालु आर्थिक वर्षको अहिलेसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्य भन्दा ५९ अर्बले कम हो।

राजस्वका अधिकारी मात्रै होइन अग्रिम करको चटारोमा उद्योगी/व्यवसायी पनि छन्। राजस्वका अधिकारीको आग्रह अनुसार नै करका लागि व्यवसायीले समेत बैंक ऋण लिएर रकमको जोहो गरिरहेका छन्। ‘अग्रिम कर तिर्नु व्यवसायीका लागि पनि राम्रो हो। कर कार्यालयबाट फोन आउनु स्वभाविक नै हो,’ चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बिजमाण्डूसँग भने, ‘यो सरकारलाई मात्रै होइन व्यवसायीका लागि समेत राम्रो हो।’

भन्सारले उठायो २६ अर्ब

भन्सार विभाग अन्तर्गतका कार्यालयले सोमबारसम्म २६ अर्ब राजस्व असुल गरेको छ। विभागले यो महिना ३६ अर्ब राजस्वको लक्ष्य लिएको छ।

राजस्व संकलन गर्न विभागले सबै कार्यालयहरुलाई भन्सारबाट सवारी लगायत भन्सार बढी उठ्ने सामाग्री छिटो छोड्न निर्देशन दिएको छ। यद्यपी लक्ष्यमा पुग्न भने असम्भव देखिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा भन्सार विभागले २ खर्ब ४४ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ। हालसम्मको अवस्था हेर्दा १ खर्ब ७९ अर्ब राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा ६४ अर्बले कम संकलन हो ।

पुस मसान्तमा अग्रिम आयकर समेतले गर्दा केही राजस्व बढ्ने देखिए पनि लक्ष्य भने पुरा नहुने भएको छ। यो ‍६ महिनामा सरकारले ३ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। सोही अवधिमा सरकारले ४ खर्ब ७० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

अग्रिम आयकर तिर्न देशका कर कार्यालयमा कर तिर्नेको भीड छ। पुसको अन्तिम दिन ठूला करदाता कार्यालयमा कर तिर्नेको भीड बढेको कार्यालयका कर संकलन अधिकृत देवीप्रसाद शर्माले बताए। उनका अनुसार एक दिन ढिलो तिर्दा आयकर ऐन अनुसार १५ प्रतिशत ब्याज तिर्नुपर्ने भएकाले कर तिर्न व्यवसायीहरु कर कार्यालय पुगेका छन्।