BIZMANDU
www.bizmandu.com

भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि मलेशिया संकटमा,समाधानको कुटनीतिक उपाय खोज्दै

२०७६ पुष २९

Tata
GBIME
Nepal Life

क्वालालम्पुर। भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि मलेशिया समस्यामा परेको छ। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले अब यसको कुटनीतिक समाधान खोजिने बताएका छन्।

उनले तेल निर्यातको समस्या सुल्झाउन कुटनीतिक प्रयास थाल्ने बताएपनि कुनै पनि गलत कुराहरुको बिरुद्ध बोल्न नछोड्ने अडान समेत लिए। उनले भने -'भलै यसबाट देशलाई आर्थिक रुपमा घाटा होस्।'

विश्वकै सबैभन्दा ठूलो खाने तेलको आयातकर्ता देश भारतले गत हप्तामात्रै  पाम तेल आयातमाथि प्रतिबन्ध लगाएपछि मलेशियाको पाम तेल निर्यात संकटमा परेको हो।

इन्डोनेशियापछि विश्वकै दोस्रो ठूलो पाम तेलको उत्पादक तथा निर्यातकर्ता देश मलेशिया हो।

भारतको नागरिकता कानुनबारे प्रतिक्रिया दिँदै मलेशियाका प्रधानमन्त्री महाथिरले भारत सरकारको आलोचना गरेपछि यसबारे नयाँ दिल्लीले आपत्ति जनाएको थियो। त्यस लगत्तै भारत र मलेशियाको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ।

९४ वर्षका  मलेशियाली प्रधानमन्त्री महाथिर आफूलाई गलत लागेका कुरामा टिप्पणी गरिहाल्ने स्वभावका छन्। यसैकारण भारतभन्दा अघि उनको साउदी अरेबियासँगको सम्बन्ध पनि बिग्रिएको छ।

तर मलेशियाका पाम तेल उत्पादकहरु भने आप्नो ब्यापार घाटालाई लिएर चिन्तित भैरहँदा महाथिरले सरकारले यसको समाधान खोज्ने आश्वासन समेत दिएका छन्।

'हामी तेलको निर्यातबारे चिन्तित छौं। तर हामीलाई कुनै कुरा गलत लाग्छ भने  हामी पैसाको बारेमा मात्र सोचेर खराब कुराहरुको आलोचना गर्न छोडन् सक्दैनौं ।'- उनले भनेका छन्।

भारतले भने आफ्ना ब्यापारीहरुलाई कडा रुपमा मलेशियाको पाम तेल आयात नगर्न कडा निर्देशन दिएको छ।  महंगो परेपनि भारतीय व्यापारीले मलेशियाको साटो इन्डोनेशियाबाट कच्चा पाम तेल ल्याउने खरिद सुरु गरेका छन्।

मलेशियाको बिदेश मन्त्रालयका अनुसार  कुनै पनि बाणिज्य तथा ब्यापार कारोबार ब्यापार मात्र नभई दुई देशबीचको सम्बन्धको  संकेत पनि हो।  सन् २०१९ मा भारत  नै मलेशियाको सबैभन्दा ठूलो पाम तेल खरिदकर्ता  देश थियो।

उसले त्यस अवधिमा ४४ लाख टन पाम तेल किनेको तथ्यांक छ। तर सन् २०२० मा  दुई देशबीच सम्बन्ध सुधार नभएको खण्डमा यो  एक  परिमाण घटेर दश लाख टन भन्दा कम मात्र कारोबार हुने देखिएको भारतीय ब्यारीहरुको भनाई छ।

संभावित घाटालाई रोक्न मलेशियाका अधिकारीहरुले पाम तेललाई पाकिस्तान, फिलिपिन्स, म्यानमार, भियतनाम, इथियोपिया, साउदी अरेबिया, इजिप्ट, अल्जेरिया र जोर्डनमा बजार खोज्न थालेका छन्।

तर भारतजस्तो  टप बायरलाई बिस्थापित गर्न मलेशियालाई सजिलो भने छैन।

मलेशियन ट्रेडर्स युनियन कंग्रेसका सदस्यहरुले दुई देशबीचको कुराकानीबाट यसलाई टुंगग्याउनुपर्ने बताएका  छन्।

युनियनमा आबद्ध पाम तेल कम्पनीका कामदार समेतले दुई सरकारबीचको समस्या कुटनीतिक तवरले समाधान होस् भन्ने चाहेका छन्।

मलेशियाको बिदेश मन्त्रालयले पनि भारतीय समकक्षीसँग यस बिषयमा कुरा गरी समाधानको उपाय खोज्ने पहल गरिरहेको जनाएको छ। तर यसबारे थप बिवरण भने मन्त्रालयले दिएको छैन।