BIZMANDU
www.bizmandu.com

भेरी करिडोर अन्तर्गत पासागाड–रिम्ना सडक कालोपत्र शुरु, पहिलो चरणमा २८ किमी सडक बन्ने

२०७६ पुष २९

Tata
GBIME
Nepal Life

जाजरकोट। अस्थायी रूपमा ट्रयाक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्ड कालोपत्र गर्ने काम सुरू भएको छ ।

भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम सुरू गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।

डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर मंगलबार कामको सुरूवात गरेको हो । जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत बहुवर्षे ठेक्कामार्फत काम थालिएको छ ।

पहिलो चरणमा पासागाड–रिम्ना सडकखण्डको काम सुरू गर्ने प्रक्रिया अगाडि बढेको छ भने दोस्रो चरणमा रिम्ना–चिसापानी हुँदै तल्लुसम्मको काम सुरू हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

छिन्चु–जाजरकोट सडकखण्डमा पासागाडसम्म कालोपत्र भएकाले त्यहाँबाट रिम्नासम्म पहिलो चरणमा कालोपत्र गर्न लागिएको हो ।

भेरी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम यो आर्थिक वर्षबाट सुरू भइसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए।

भेरी करिडोरमा तत्काल कालोपत्र गर्ने मन्त्री बस्नेतको चुनावी नारा थियो । अस्थायी ट्रयाक खोलेको १४ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यस सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।

जाजरकोट–डोल्पा सडकखण्डकको मुख्य भाग रहेको यस खण्डमा कच्ची तथा साँघुरो सडक हुँदा आधा दर्जन दुर्घटनासमेत भइसकेका छन् । वर्षायाममा वर्सेनी अवरुद्ध हुँदै आएको यस खण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

२८ किलोमिटर सडकमा पहिलो चरणमा काम हुने छ । बहुवर्षे ठेक्काअनुसार काम पूरा गर्दै अगाडि बढ्दै जाने लक्ष्यका साथ काम सुरू भएको मन्त्री बस्नेतले जानकारी दिए ।

कालोपत्रसँगै पुल निर्माण पनि अघि बढेको छ । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण सुरू गरिएको छ ।

जाजरकोटतर्फको नलगाड नदीमा डीपीआरको काम सकेर बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको बाँकेज्यूलामा पुल निर्माणकार्य अगाडि बढेको छ ।

भेरी नदीमा ठूला पुल निर्माणका लागि डीपीआरको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बोलपत्र आह्वान गरेर काम सुरू गरिने जनाइएको छ । आगामी असोजमा पुल निर्माणकार्य पूरा गर्ने उद्देश्यका साथ काम भइरहेको सडक विभागले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करपगाड खोला, खदाङको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाडखोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग र बीएनबी कन्सल्टेन्सीले पुलको अन्तिम नक्सांकन सम्पन्न गरी काम अगाडि बढाउन लागेको जानकारी दिएको छ ।

करीब १ सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले २०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो ।

निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ गते सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो ।

 विद्युत आयोजना निर्माणमा सहजता आउने भेरी करिडोरभित्रका सडकमा कालोपत्र पुलको काम सुरू भएसँगै सडकभित्र पर्ने नलगाड जलविद्युत् आयोजना र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सजिलो हुने भएको छ ।

आयोजना निर्माणका लागि लग्नुपर्ने कच्चा पदार्थ तथा आवश्यक उपकरण र विद्युत् लैजानसमेत सजिलो हुने भएको छ ।