BIZMANDU
www.bizmandu.com

विपी राजमार्ग विस्तारको तयारी, डीपीआरका लागि परामर्शदाता छनोट गरिँदै, सुरुङमार्ग पनि बन्ने

२०७६ पुष २९

विपी राजमार्ग विस्तारको तयारी, डीपीआरका लागि परामर्शदाता छनोट गरिँदै, सुरुङमार्ग पनि बन्ने
विपी राजमार्ग विस्तारको तयारी, डीपीआरका लागि परामर्शदाता छनोट गरिँदै, सुरुङमार्ग पनि बन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। जापानले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिदिएको विपी हाइवे (धुलिखेल-सिन्धुली-बर्दिवास सडक ) दुई लेनमा विस्तार गरिने भएको छ।

 
सडक विस्तारका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाले टेण्डर आह्वान गर्दा १२ वटा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका मध्येबाट सर्टलिष्ट गरेर केहीसँग आशयपत्र माग्ने तयारी भइरहेको आयोजना प्रमुख सूर्य भाटले बताए ।

'दुई महिनामा कम्पनी छनोट भएर अध्ययनको काम सुरू हुन्छ,' उनले भने, 'अध्ययन थालेको २१ महिनाभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ।' विस्तृत अध्ययन र ड्रइङ डिजाइनसँगै वातावरणीय प्रभाव मूल्याङकन समेत सोही ठेक्काबाटै गर्न लागिएको छ। विपी हाइवे वातावरणमैत्री हिसाबले बनाइएकाले सोहीअनुसार विस्तार गर्ने योजनामा आयोजना छ। अहिलेको संरचनामा धेरै फेरबदल नगरी विस्तारका काम गर्नुपर्ने भएकाले अध्ययनका लागि २१ महिनाको समयावधि राखिएको प्रमुख भाटले बताए।

'विद्यमान सडकलाई विस्तार गर्न लागेका हौं,' उनले भने, 'छनोट हुने परामर्शदाता कम्पनीले कहाँ कहाँ कसरी विस्तार गर्न सकिन्छ भनेर डिटेलमा अध्ययन गर्नेछ।' हाल यो सडक ५ मिटरको सिंगल लेन छ। जसलाई ठाउँअनुसार ८ देखि १२ मिटरसम्म विस्तार गर्ने योजना हो। '७ मिटर अनिवार्य रूपमा क्यारिज-वे हुनेछ, जसमा ३.५/३.५ मिटरको लेन हुनेछ,' उनले भने, '७ मिटर कालोपत्रे बाहिर ड्रेनेज र सोल्डर रहनेछ।'
सडक विस्तार नेपाल सरकारको आफ्नै आन्तरिक स्रोतबाट गर्न लागिएको हो। 'सडक उनीहरूले नै बनाइदिएका भएपनि सडक हामी आफैं विस्तार गर्छौ। अर्थमन्त्रालयले बजेटको व्यवस्था गरिदिन्छ,' भाटले बिजमाण्डूसँग भने 'उनीहरूले चासो देखाए बेग्लै कुरा हो। हामीले नसक्ने कामका लागि अनुरोध गर्ने हो। आफैं गर्न सक्ने सबै कुरामा उनीहरूकै भर किन पर्ने ?'

दुईवटा खण्ड बनाएर अध्ययन र विस्तारको काम सुरू गर्ने योजना छ। धुलिखेलबाट नेपालथोक हुँदै मुलकोटसम्म करिब ७०  किमि र बगान-बर्दिवास ४४ किमि गरि दुई खण्ड छुट्याइएको छ। काठमाडौंलाई पूर्वी तराइसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको विपी राजमार्ग साँघुरो भएर सवारीसाधन आवतजावतमै समस्या भएपछि दुई लेनमा विस्तार गर्न लागिएको हो।

 
पृथ्वी राजमार्गमा दिनहुँ थपिएको सवारी चापको विकल्पमा पूर्वी तराइ आउजाउ गर्न विपी राजमार्ग अत्यधिक प्रयोगमा छ। सुरू सुरूमा साना सवारीलाई मात्रै गुड्न दिइएको उक्त रुट ठुला सवारीका लागि पनि खुला गरिएपछि चाप बढ्यो। बढेको चापसँगै सडक साँघुरो भएर दुर्घटना बढेपछि विस्तारको योजना बनेको हो। बढ्दो सवारी चापलाई ध्यानमा राखेर विस्तार गर्न लागिएको भाटले जानकारी दिए। 

पूर्वी तराइबाट संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने अहिलेको चलनचल्तीका राजमार्ग बनेको विपी हाइवेलाई विस्तार गर्दा जापानीले बनाइदिएको संरचना नबिगारी काम गर्नुपर्ने भएकाले हतार गर्नुभन्दा समय लगाएर अध्ययनपछि मात्रै काम थाल्ने योजनामा छ । 

सुरुङमार्ग पनि बन्ने 
राजमार्गको खुर्कोट-चियाबारी खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको छ। 
खुर्कोटदेखि चियाबारी खण्ड अत्यन्त घुमाउरो र साँघुरो रहेका कारण सुरुङमार्ग निर्माण गर्न लागिएको हो। आयोजनाका अनुसार अहिले फिजिविलिटी रिपोर्ट फाइनल भइरहेको छ। फाइनल रिपोर्ट तयार भएपछि डीपीआर र निर्माणका लागि जापानलाई आग्रह गर्ने योजना रहेको भाटले जानकारी दिए।

 
उनका अनुसार जापानसँग सफ्ट लोन लिएर यो सुरुङमार्ग बनाउने योजना छ। जापान सरकार सहमत नभए नेपाल सरकार आफैंले भए पनि बनाउने सडक विभागले जनाएको छ। तर अनौपचारिक छलफल हुँदा सुरुङमार्ग निर्माणका लागि जापान इच्छुक देखिएको आयोजनाका अधिकारीहरूको भनाई छ। 

करिब ७ किमि सुरुङमार्ग निर्माण हुनेछ। सुरुङमार्ग तीन लेनको हुनेछ। जसमा दुईवटा लेन सवारीसाधन आवतजावतका लागि र एउटा लेन सवारीसाधन बिग्रिए वा कुनै समस्या आए साइड लाउनका लागि प्रयोग हुनेछ। डीपीआर तयार पारेर आगामी पाँच वर्षमा सुरुङमार्ग नै तयार पार्ने लक्ष्य लिइएको छ।