BIZMANDU
www.bizmandu.com

पाँच महिनापछि श्रीको टर्बोप्रोपलाई सिमरा र जनकपुर उडानका लागि अनुमति, पोखरा पनि प्रक्रियामा

२०७६ पुष २८

पाँच महिनापछि श्रीको टर्बोप्रोपलाई सिमरा र जनकपुर उडानका लागि अनुमति, पोखरा पनि प्रक्रियामा
पाँच महिनापछि श्रीको टर्बोप्रोपलाई सिमरा र जनकपुर उडानका लागि अनुमति, पोखरा पनि प्रक्रियामा

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ।

कम्पनीले टर्बोप्रोप ल्याएको पाँच महिनापछि यी दुई गन्तब्यका लागि स्लट अप्रुभल पाएको हो। पोखरा उडानका लागि भने प्राधिकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। कम्पनीले दुई साताअघि पोखरा उडानका लागि प्रक्रिया सुरु गरेको जनाएको छ।

प्राधिकरणले दुवै गन्तब्यमा दैनिक एउटा उडानका लागि स्लट अप्रुभल गरेको जनाएको छ। 'प्राधिकरणले दैनिक एउटा उडानका लागि स्लट अप्रुभल दिएको छ। निकट भविष्यमा दुई गन्तब्यमा माग अनुसार फ्लाइट फ्रिक्वेन्सी बढाउने योजना बनाएका छौं,' कम्पनीका प्रवक्ता अनिल मानन्धरले बिजमाण्डूसँग भने, 'हामी अहिले तयारीमा जुटिरहेका छौं। दुवै विमानस्थलमा आवश्यक उपकरण र जनशक्ति परिचालनको काम भइरहेको छ। माघको पहिलो सातादेखि नयाँ गन्तब्यमा उडान सुरु गर्ने योजना बनाएका छौं।'

प्रवक्ता मानन्धरका अनुसार सुरुमा जनकपुर उडान गरिनेछ। 

टर्बोप्रोपमार्फत उडान गर्नका लागि कम्पनीले गत मंसिर २५ गते प्राधिकरणको नियम अनुसार काठमाडौं-जनकपुर-सिमरा-काठमाडौं परीक्षण उडान-अवतरण गरेको थियो। परीक्षण उडान सफल भएपछि प्राधिकरणले श्रीलाई यी दुई गन्तब्यमा स्लट अप्रुभल दिएको जनाएको छ।   

कम्पनीले निकट भविष्यमा थप तीनवटा बम्बार्डियरको टर्बोप्रोप क्यु-४०० जहाज खरिद गरेर संचालनमा ल्याउने जनाएको छ।   

कम्पनीले हाल दुईवटा ५० सिटे सिआरजे-२००, दुई वटा ७८ सिआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ। माघदेखि कम्पनीको दुईवटा टर्बोप्रोपले थप दुईवटा नयाँ गन्तब्य (जनकपुर र सिमरा) मा नियमित उडान सुरू गर्नेछ।