BIZMANDU
www.bizmandu.com

वीरगंजमा केकका लागि लोकप्रिय रुबिज किचेन, बेकरीका साथै क्याटरिङको पनि फैलिँदो कारोबार

२०७६ पुष २८

Tata
GBIME
Nepal Life

वीरगंज। नेपालगंज माइती भएकी रुबि चमडिया विवाह गरेर २० वर्षअघि वीरगंज आएकी थिइन्।  उनले आफ्नै पहिचान बनाउने भन्दै सुरु गरेको बेकरीको ब्यापार अहिले फास्टफुड हुँदै क्याटरिङसम्म फैलिएको छ। १४ वर्षअघि आफ्नै भान्छाबाट उनले व्यवसाय सुरु गरेकी हुन्।

‘विवाह भन्दा पहिलेदेखि नै मेरो सपना थियो मास्टर सेफ बन्ने तर विवाहपछि घर गृहस्थी सम्हाल्दै त्यो सम्भव भएन,' ४० वर्षीया रुबि भन्छिन्, 'अब मैले पनि आफ्ना लागि केही गर्नुपर्छ भन्ने सोचले काम थालें।’

महिला विशेष म्यागजिन तथा खाना खजानाको रेसिपीका किताब हेर्दै उनले परिकार बनाउन सिकेको बताइन्। सुरुमा भान्छामा पकाउँदा कम लागतमा राम्रो आम्दानी गर्न थालिन् । अहिले उनी एक किलो कुकिजको ४ सय ५० देखि एक हजार ५० रूपैयाँको दरले बिक्री गर्छिन् । एक पाउण्ड केकको स्वाद र डिजाइनअनुसार ८ सय देखि १४ सय सम्ममा बिक्री गर्छिन् । हाल दैनिक आधा दर्जन केकको अर्डर आउने गरेको उनले बताइन् ।

उनी अहिले उत्पादन र बिक्री मात्र नभइ बेकरी तथा फास्टफुडको रेसिपी कोर्स नै संचालन गर्न सक्ने भएकी छन्। पकवानमा रुचि राख्नेहरूका लागि उनले ६ हजार रूपैयाँमा रेसिपी कोर्स संचालन गरिरहेकी छन् । उनी महिलाहरूलाई घरमै बोलाएर सिकाउने गर्छिन् । सिक्नका लागि भारतको बिहारका रक्सौल र सीतामढिबाट पनि महिलाहरू आउने गरेको उनले बताइन ।

पर्वको समयमा भने धेरै अर्डर आउने भएकाले उनलाई चकलेट बक्स बनाउन भ्याइनभ्याइ हुन्छ । उनले वीरगंजमै पहिलोपटक क्याटरिङको काम समेत सुरु गरेकी छन् । अर्डर अनुसार बक्समा पेस्ट्रिज, बर्गर, समोसा,  डोनट र पिज्जा लगायतका फास्टफुड तथा बेकरीका सामाग्री तयार गरेर उनी बिक्री गरिरहेकी छन्।

घरकै जस्तो स्वास्थकर बनाउने भएकाले कुकिज, बिस्कुट, जार, केक तथा चकलेट बनाइदिन वीरगंजका मारवाडी समुदायबाट धेरै अर्डर आउने गरेको उनले बताइन् ।

१६ घण्टा खट्छिन रुबि

कामको चापअनुसार रुबि बिहान ५ बजेदेखि रातको ९ बजे सम्म खट्छिन्। घरायसी काम सकेर दिउँसो ग्राहकको अर्डरको सामान तयार गर्ने गर्छिन् । 'एउटा केकको बेस तयार गर्न ४५ मिनेट लाग्छ, कुकिज ३० मिनेटमा तयार पार्न सकिन्छ,' उनी भन्छिन् ।

घरभित्रबाटै काम सुरुवात गरेकाले मान्छेको अभावमा उनलाई कहिले त भ्याइनभ्याइ हुन्छ।  यस्तो बेला सासुआमाले पनि सक्दो सहयोग गर्ने गरेको उनले बताइन् ।

रुबि ब्यापारमा मात्र नभई बिभिन्न संघसंस्थाहरुमा पनि आबद्ध छिन्  । उनी बिशेष ध्यान आफ्नो भान्सा घरबाट संचालन गरेको कामलाई नै दिने गरेकी छन् । भान्सामा केक र कुकिजको अर्डर नआएको दिन उनी गमलामा पेन्टिङ गर्छिन् ।

रुबिले बनाएको केक तथा कुकिज सीमाक्षेत्रका भारतीयहरूको रोजाईमा पनि पर्ने गरेको छ । वीरगंज, नेपालगंज र काठमाडौं लगायतका ठाउँसम्म उनको केक, कुकिज र ब्रेड चकलेट बक्स अर्डर बमोजिम पुग्ने गरेको छ ।  आफन्तको मद्दतले भारतको दिल्ली, कोलकाता र राजस्थानलगायत अन्य थुप्रै ठाउँहरूमा पनि उनले कुकिज बनाएर पठाउने गरेको बताइन ।