BIZMANDU
www.bizmandu.com

पप्पु पथमा प्रचण्डको घरबेटी अधिकारी, राजनीतिक आडमा आयोजना हात पार्ने अनि अलपत्र छाड्ने

२०७६ पुष २८

पप्पु पथमा प्रचण्डको घरबेटी अधिकारी, राजनीतिक आडमा आयोजना हात पार्ने अनि अलपत्र छाड्ने
पप्पु पथमा प्रचण्डको घरबेटी अधिकारी, राजनीतिक आडमा आयोजना हात पार्ने अनि अलपत्र छाड्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। पप्पु कन्स्ट्क्सनले देशैभर पुलको ठेक्का लिएर अलपत्र पारेको छ। बर्दियाको जब्दिघाटस्थित बबइ नदीको पुल निर्माणाधीन अवस्थामै भाँचिएपछि भ्रष्टाचारको मुद्दा खेपिरहेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षका लागि कुनै पनि ठेक्कामा भाग लिन नपाउने गरि कालोसूचीमा राखेको छ। कामै नगरेपछि जेभी भएर ठेक्का हालेका पार्टनर कम्पनीहरुले पप्पुको काम लिदै आफै गर्न थालेका छन्। ती परियोजनाको प्रगति राम्रो छ। पप्पुको पथमा छ अर्को निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन। यो कम्पनीले पनि पप्पुले जस्तै अर्बौको ठेक्का परियोजना लिएर अलपत्र पारेको छ।

गृह मन्त्रालयले तयार पारेको 'कामचोर ठेकेदारको सूची' मा अग्रपंक्तिमा शैलुङकै नाम छ। शैलुङले राजनीतिक शक्तिको आडमा अर्बौको ठेक्का लिने र मोबिलाइजेसन लिएर आयोजना अलपत्र पार्ने काम गरिरहेको छ।

शैलुङका मालिक हुन् शारदाप्रसाद अधिकारी। अधिकारी उनै हुन् जसको घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बस्दै आएका छन्। अधिकारीले काठमाडौं भित्रकै धेरै सडक आयोजना अलपत्र पारेका छन्। तर उनलाई कारवाही गर्न भने हिम्मत कसैसँग छैन। राजनीतिक आडकै कारण उनले जनतालाई सास्तीमा राखेर पनि उन्मुक्ति पाइरहेका छन्।

भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवका अनुसार शैलुङ पनि पप्पु जस्तै कम्पनी हो। ‘पप्पु र यो कम्पनीमा कुनै फरक छैन। यो कम्पनीका संचालकले समेत जस्तो सुकै माध्यम अपनाएर पनि ठेक्का हात पार्छन् तर काम गर्दैनन्। राजनीतिक कनेक्सनदेखि कम मूल्यांकन देखाएर ठेक्का पारेर आयोजनानै डेड बनाउने कम्पनीमा यो पर्छ,’ ती सहसचिवले भने। यो कम्पनीले अलपत्र पारेका आयोजनाको सूची लामो छ। 

डिभिजनल सडक कार्यालय काठमाडौंमा पाँचवटा सडक आयोजना शैलुङले पाएको छ। चारवटा शैलुङ एक्लैको जिम्मामा छ भने एउटामा मात्र जेभी पार्टनर छ। डिभिजनका एक इन्जिनियरका  अनुसार अधिकांश आयोजनामा पछिल्लो समयमा दबाबका कारण केही काम भएपनि अति सुस्त छ। कपन क्षेत्रमा सडकको बेहाल छ। बर्खामा हिलाम्मे हुने गरेको छ भने हिउँदमा धुलाम्मे। 

'ताकेता गर्दा गर्दा हैरान भइसक्यौं। काम गर्दै खाली बाहानाबाजी खोजेर हुन्छ,' ती इन्जिनियरले भने। गत वर्ष नै सक्नुपर्ने ठेक्कामा आधा पनि काम हुन सकेको छैन। यो सडकका लागि त्यहाँका स्थानीय सांसद गगन थापा सडक विभागमै गएर समेत धर्ना बसे। तर यो सडकको अहिलेसम्म पनि राम्रोसँग काम अघि बढेको छैन।

परियोजना

कम्पनी

सम्झौता रकम (रु हजारमा)

सम्झौता मिति

सम्पन्न गर्नुपर्ने मिति

प्रगति (प्रतिशतमा)

सुन्दरबस्ती – आदर्शनगर चुनिखेल- टुसाल

जगडोल राष्ट्रिय सहिदपार्क सडक निर्माण सुधार

शैलुङ कन्स्ट्रक्सन प्रा.ली.

३९६४१

२०७२/०३/०३

२०७५/०६/१९

६०

सिद्धार्थमार्ग- बुद्धनगर र रत्नराज्य स्कुल पाण्डेश्वर मन्दिर सडक (नारायण,माताकुमारी मार्ग)

शैलुङ कन्स्ट्रक्सन प्रा.ली.

३४७९१

२०७२/०३/०३

२०७४/०४/२०

२७

साततले – आकाशेधारा वालुवाखानी सडक (कपन)

दिवा/शैलुङ जेभी

खुमलटार

२०३३८८

२०७३/०२/२३

२०७५/०२/२२

४०

आकाशेधारा राममन्दिर कृष्ण मन्दिर सडक

शैलुङ कन्स्ट्रक्सन प्रा.ली.

६५५८०

२०७३/०३/३१

२०७४/०६/३०

३०

कामपा वडा न १६ पुलिसचौकी उत्तरतर्फ हुदै बोहराटार हुदै वनस्थली स्कुल रिङरोड

शैलुङ कन्स्ट्रक्सन प्रा.ली.

६५६२८

२०७३/०३/२९

२०७६/०८/३०

८०

स्रोत: डिभिजनल सडक कार्यालय मिनभवन,काठमाडौं 

त्यस्तै  अवस्थामा काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा पनि छ। कलंकी- नागढुंगा सडकको जिम्मा पाएको शैलुङले काम नगर्दा लामो समय राजधानी प्रवेश गर्ने मुख्या नाकामा सास्ती व्यहोर्नुपर्यो।

घण्टौ जामको समस्या धुँवा धुलोको सास्ती उत्तिकै ब्योहोरे। अहिले यो आयोजनना करिव करिव अन्तिम चरणमा पुगेको छ। अझै पूरा गर्नका लागि कम्पनीलाई आयोजनाले दबाब दिइरहनुपरेको छ।

त्यस्तै समस्या इमाडोल सडकमा हालत उस्तै छ। अहिलेसम्म यो सडकको प्रगति १० प्रतिशत मात्रै छ। 

परियोजना

कम्पनी

सम्झौता रकम (रु हजारमा)

सम्झौता मिति

सम्पन्न गर्नुपर्ने मिति

प्रगति (प्रतिशतमा)

कलंकी– त्रिपुरेश्वर -नागढुङगा सडक

दोस्रो प्याकेज (३ किमी)

शर्मा/शैलुङ/कान्छाराम जेभी

३१४५६०

२०७२/०३/३१

२०७५/०६/३०

७०

सोही सडकको तेस्रो प्याकेज (३ किमी)

लुम्विनी/शैलुङ/साप जेभी

३४७४२६

२०७२/०३/३१

२०७५/०६/३०

५०

चौथो प्याकेज (३.१०० किमी)

शर्मा/शैलुङ/कान्छाराम जेभी

४७६४४७

२०७२/०३/३१

२०७६/०३/२५

८०

इमाडोल-सिद्धिपुर-गोदावरीखोला-लुभु-लामाटार सडक (पहिलो प्याकेज३.२००किमी)

दिवा/शैलुङ जेभी

२३३१४६

२०७३/०२/२६

२०७६/०३/२५

१०

स्रोत: काठमाडौं उपत्यका सडक विस्तार आयोजना 

डेढ अर्बको मेलम्ची खानेपानी आयोजनाको ठेक्का 
शैलुङले मेलम्ची खानेपानी उपआयोजना दुई अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)बाट करिब डेढ अर्बको ठेक्का पाएको छ। 

यो कम्पनीले बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा  पाइपलाइन बिछ्याउने र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो। आरुबारीमा करिब १२ सय ७० घनमिटर क्षमताको ओभरहेड ट्यांकी र बुढानिलकण्ठ, कपन क्षेत्रमा करिब १ सय ६० किमी पाइपलाइन विस्तार गर्न ठेक्का पाएको छ। आयोजनाका अनुसार शैलुङसँग करिब १ अर्ब ४१ करोड ६९ लाख रूपैयाँको ठेक्का सम्झौता भएको छ।

३० महिनामा पूरा गर्ने गरि करिब १० महिनाअघि नै ठेक्का लागेको हो। तर ९ महिनासम्म कामै सुरु नै गरेन्।

आयोजनाले बारम्बार ताकेता गरेपछि बल्ल काम सुरु गर्ने तयारी गरेको आयोजनाका एक अधिकारीले जानकारी दिए। आयोजना प्रमुख भोजविक्रम थापाका अनुसार कम्पनीले करिब डेढ महिना अघिबाट नै काम सुरु गरिसकेको छ भने निर्माणका लागि आवश्यक पर्ने सामाग्रीहरु ल्याइरहेको छ। ‍

उनका अनुसार बिछ्याउने पाइप ल्याउन सुरु गरेको छ भने ओभरहेड ट्यांकीको फाउण्डेसनको काम सुरु गरेको छ। यो ठेक्का सडकमा पाइप बिछ्याएपछि उसैलै री-स्टेटेमेन्ट अर्थात पुरेर कालोपत्रे गरिदिनुपर्नेछ। 

आयोजनाका एक इन्जिनियरका अनुसार शैलुङले यो ठेक्का भारतीय कम्पनी सीआइपीइलसँग जेभी बनाएर हात पारेको हो। 'कुनै हालतमा यो ठेक्कामा शैलुङको योग्यता पुग्दैनथ्यो। भारतीय कम्पनीलाई लिडिङ जेभी बनाएर ठेक्का हात पारेको हो,' ती इन्जिनियरले भने।

भारतबाट ल्याउनुपर्ने केही पाइप कम्पनीले ल्याइसकेको छ भने नेपालमै खरिद गर्ने कम्पनी पनि स्वीकृत भइसकेको आयोजनाले जनाएको छ। शैलुङले जनवरी २० देखि पाइपलाइन विस्तारको काम गर्ने भन्दै आयोजनालाई कार्यतालिका समेत उपलब्ध गराएको छ। 

त्यसै गरि संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमार्फत मेलम्चीको पाइपलाइन विस्तार गरिएको ठाउँमा करिब १२ किमि ठेक्का लागेर काम भइरहेको छ। विविध कारणले काम हुन नसकेपछि शैलुङले लिएको करिव ६ करोड रुपैयाँ मोविलाइजेसन फिर्ता गर्न बैकलाई आयोजनाले पत्राचार गरिसकेको छ। बैक ग्यारेण्टीमार्फत मोविलाइजेसन फिर्ता गर्न लागिएको हो। 

उपत्यकामा मेलम्चीको पानी वितरणका  लागि विछ्याईएका पाइपहरू खनेको ठाउँमा री-स्टेटमेन्टका लागि विभिन्न कम्पनीसँग जेभी बनाएर शैलुङले काम गरिरहेको छ। शैलुङको कामप्रति आयोजनाको अधिकारीहरुले चित्त बुझाएका छैनन्।

भारतीय एक्जिम बैकको सहयोगमा निर्माण भइरहेको दुईवटा सडकमा पनि शैलुङले जेभी बनाएर ठेक्का हात पारेको छ। तर ती आयोजनामा पनि कामलाई गति दिन सकेको छैन्।

नगरकोट भक्तपुर सडक चौथोपटक म्याद थप
पर्यटकीयस्थल नगरकोटसम्म पुग्ने भक्तपुर नगरकोट सडक विस्तार थालेको पाँच वर्ष वितेपनि अझै पूरा हुन सकेको छैन्।  

भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने १५.६६ किमीको यो सडक २ वर्षमा सम्पन्न गर्ने गरि २०७१ साल असार २ गते शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भयो। २०७३ साउनमा नै पुरा गर्नुपर्ने आयोजनामा लामो समय कामै भएन। तर पछिल्लो समय तुलनात्मक रूपमा काम भइरहेको आयोजना प्रमुख जगत प्रजापतिको दाबी छ। आयोजनाका अनुसार ठेकेदार कम्पनीलाई चारैतिरबाट दबाब परेपछि कामलाई केही गति दिएको छ।

आयोजनाका अनुसार कम्पनीको  नगद प्रवाहको समस्या भएर काम नगरेको हो। 'हामीले केही सहजीकरण गरिदिएका छौं। उसले निर्माण सामाग्री ल्याउने क्रसरमै गएर सामान दिन आग्रह गर्‍यौं। त्यसपछि कामले गति लिएको छ,' प्रजापतिले भने। अहिलेसम्म करिब ७० प्रतिशत भौतिक प्रगति छ।

आयोजनाले चौथौपटक म्याद थपिसकेको छ। पछिल्लो संशोधित तालिका अनुसार २०७७ बैशाख सम्मका लागि समय थपिएको छ भने करिब ३५ करोड ठेक्काको ३० प्रतिशत जरिवाना तिराइएको छ। दैनिक रूपमा जरिवाना तिरेर काम  गरिरहेको आयोजनाले जनाएको छ। बैशाखमा पुरा गरे कम्पनीले झण्डै तीन करोड सरकारलाई बुझाउनुपर्छ। आयोजनाका अनुसार जति ढिला गरे जरिवाना पनि बढ्दै जान्छ।

आयोजनाका अनुसार पहिलेको तुलनामा सडक धेरै सुधार छ। छठ पछाडि निर्माण कम्पनीले काम गर्न थालेको थियो। तर कालोपत्रे नहुँदा धुलो र हिलोको सास्ती भने हट्न सकेको छैन्। अहिले चिसो मौसम रहेका कारण आयोजनाले कालोपत्रेका लागि निर्माण कम्पनीलाई दबाब दिएको छैन । तर कालोपत्रे गर्नका लागि चाहिने निर्माण सामाग्री तयार पारेर राख्न निर्देशन दिएको छ। 

कामलाई गति दिए बैशाखमै पूरा हुने तर पहिलेजस्तै प्रवृत्ति देखाइरहे अझै वर्षदिन बढी लाग्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ।  बेस तयार पारेर कालोपत्रे गर्न तयारी अवस्थामा बस्ने र चिसो कम भएसँगै धमाधम कालोपत्रे गर्न लगाउने आयोजनाको तयारी छ। 

यो सडक नबनाएको भन्दै प्रधानमन्त्रीदेखि संसदसम्म गुहार्दासमेत काम नभएको भन्दै स्थानीयले शारदा अधिकारीको फोटोसँग कुकुर र बाँदरको फोटो राखेर 'कमलविनायक-नगरकोट सडकको ठेकेदार : छिटो कालोपत्रे गर' भनेर लेख्दै विभिन्न ठाउँमा टाँसेका थिए।

बालाजु रानीपौवा त्रिशुली सडक उस्तै 
बालाजुबाट रानीपौवा हुँदै त्रिशुलीको पिपलटार पुग्ने सडकको अवस्था पनि उस्तै छ। करिब ५६ किमीको यो सडकलाई दुई खण्ड बनाएर ठेक्का लगाइएको छ। पहिलो खण्डको जिम्मा शैलुङ कन्स्ट्रक्सन र भारती कम्पनीले जेभीमा पाएका छन्। 

आयोजनाका अनुसार पहिलो खण्ड मुड्कुबाट रानीपौवासम्म करिब १७ किमी छ भने बाँकी दोस्रो खण्ड ३९ किमी छ, जुन पिपलटारसम्म पुग्छ। २०७०/७१ सालमा ठेक्का लागेको यी दुई खण्डको कामको प्रगति पनि सन्तोषजनक छैन। दुई वर्षमा सक्ने भन्दै ठेक्का लगाएको भएपनि आधा पनि काम हुन सकेको छैन्। 

आयोजनाका अनुसार पहिलो खण्डको ४८ प्रतिशत प्रगति छ भने दोस्रो खण्डको ४३ प्रतिशत छ। पहिलो खण्ड शैलुङ एआइपीएल जेभीले पाएको छ भने दोस्रो खण्ड दीनेश, चन्द्रलाल अग्रवाल, नागर्जुन, कोसी न्यौपाने जेभीले पाएको छ। आगामी एक वर्षमा पूरा गर्ने प्रतिबद्धता गरेपनि काम नभएका  कारण सर्वसाधरणले सडकका कारण ठूलो सास्ती खेपिरहनुपरेको छ। यहि गतिमा काम भए कुनै हालतमा एक वर्षमा आयोजना पूरा हुँदैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शैलुङ कन्स्ट्रक्सन 'क' वर्गको निर्माण कम्पनी भएकाले सडकसँगै पुल भवन लगायत संरचना समेत निर्माण गर्दै आएको छ। ती परियोजनाको समेत काम सन्तोषजनक छैन्। 'कुनै पनि परियोजनाको राम्रो काम गर्‍यो भनेको सुनेको छैन्,' एक सहसचिवले भने, 'मोविलाइजसन लिएका पैसा जग्गा लगायत अन्य क्षेत्रमा लगानी गरेर अहिले काम अगाडि बढाउन नसकेको सुनिन्छ।'