BIZMANDU
www.bizmandu.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेपछि किन भइरहेको छ ढिलाई?


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेपछि किन भइरहेको छ ढिलाई?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेपछि किन भइरहेको छ ढिलाई?


Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने देखिएको छ।

संरचना तथा पूर्वाधार तयार गर्ने कामको समयावधि लम्बिँदै गर्दा विमानस्थल सञ्चालनमा अर्को वर्ष कुर्नैपर्ने देखिएको छ। विमानस्थल आयोजनाले पूर्वाधार निर्माण पूरा गर्ने समयावधि अझै तीन महिना थप्नुपर्ने देखिएको जनाएको छ ।  

'पूरा गर्नुपर्ने समयसीमा आगामी गएको डिसेम्बर १९ (पुस ३) सम्म थियो, काम धमाधम भइरहे पनि मार्च ३१ (चैत १८) सम्म समयावधि थप्नुपर्ने देखियो,' आयोजना प्रमुख प्रवेश अधिकारीले भने, 'अहिलेको गतिमा काम भइरहे आगामी तीन महिनामा पूरा भएर एयरपोर्ट सञ्चालनका लागि तयार हुने देखिन्छ ।' समयसीमा थप्नका लागि मंत्रालयमा पत्राचार गरिएको उनले बताए।

तयार भएपनि तत्काल प्रयोग नहुने

निर्माण पूरा भएर उडानयोग्य भए पनि विमानस्थल तुरुन्तै सञ्चालनमा आउने छैन । तयारीमा थप समय लाग्ने देखिएको छ। गत असारमै विमानस्थल फुलफ्लेजमा ल्याउने योजना रहेको भए पनि आगामी असारसम्म सञ्चालनमा आउन पनि कठिन रहेको हवाइ सेवाका एक विज्ञ बताउँछन्।

'गौरवको आयोजना अन्तर्गतको यो प्रोजेक्टको कन्स्ट्रक्सनले विगतको तुलनामा गति लिएकै हो। तर तयार भए लगत्तै उडान अवतरण सुरु हुन्छ भन्न मिल्दैन,' उनले भने, 'यसका लागि आवश्यक सुविधा, सुरक्षा, यहाँ दिइने सेवा, कर्मचारी जनशक्ति परिचालन, वायुसेवा कम्पनीको काउन्टर, अध्यागमन, क्याटरीङ, फ्युलिङ र ग्राउण्ड ह्याण्डलिङ लगायतका कुराको प्रबन्ध हुन त बाँकी नै छ।' यी प्रबन्ध गर्दा थप समय लाग्ने देखिएको उनले बताए।

विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जर्मनीको म्युनिख विमानस्थललाई दिने योजना छ। मन्त्रालय स्रोतका अनुसार सञ्चालन जिम्माको विषयमा यही जनवरी दोस्रो सातामा म्युनिख विमानस्थलका प्रतिनिधिसँग छलफल हुनेछ।

यता नागरिक उड्डयन प्राधिकरणले भने विकल्पका लागि प्रतापबाबु तिवारीलाई विमानस्थल सञ्चालन तयारी कार्यदल संयोजकमा नियुक्त गरेको छ।

के गर्दैछ कार्यदल ?

प्राधिकरणले गठन गरेको कार्यदलले तयारीका लागि गृहकार्य सुरू गरिसकेको संयोजक प्रतापबाबु तिवारीले बताउँछन्।

करिब डेढ महिनाअघि संयोजकमा नियुक्त भएका उनले विमानस्थलमा आवश्यक सेवा सुविधा, आकस्मिक अभ्यास, एयर नेभिगेशन र एयर ट्राफिक कन्ट्रोल लगायत विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँगको प्रारम्भिक छलफल सुरू गरिसकेको बताए।               

'निर्माण पूरा भएसँगै विमानस्थलमा परिचालन गर्नुपर्ने दक्ष जनशक्ति, क्याटरीङ, ड्युटी फ्री, वायुसेवा कम्पनीको लागि नयाँ तालिका, आकस्मिक अभ्यास, एयर ट्राफिक कन्ट्रोल, एयर नेभिगेशन लगायत विभिन्न कुराको अध्ययन सुरू भइसकेको छ,' उनले भने, 'हाम्रा लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विशुद्ध नयाँ अन्तर्राष्ट्रिय विमानस्थल हो। यहाँको लागि प्राधिकरणको मात्र नभइ अध्यागमन, सुरक्षा, क्याटरीङ, ग्राउण्ड ह्याण्डलिङ लगायत विभिन्न निकाय यात्रु लक्षित व्यवस्थापनको आवश्यक्ता हुन्छ।'

ससाना व्यवस्थापनका कुरालाई मध्यनजर गर्दै अध्ययनका आधारमा गृहकार्य थालिसकेको उनले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा टीआइएको एक भाग जतिकै जनशक्ति आवश्यक हुने देखिएको उनको भनाइ छ। 'गौतमबुद्ध विमानस्थलको टर्मिनल भवनको यात्रु क्षमता प्रतिघण्टा चार सयजना छ। टीआइएको टर्मिनलमा प्रतिघण्टा १३ सय ५० यात्रु क्षमता छ,' उनले भने, 'त्यसैकारण गौतमबुद्धमा काठमाडौंको तुलनामा कम जनशक्ति चाहिन्छ।' 

ट्राफिक फोरकाष्ट र वायुसेवा कम्पनीको मागअनुसार निकट भविष्यमा नयाँ टर्मिनल आवश्यक रहन सक्ने उनले प्रक्षेपण गरेका छन्। विमानस्थल सञ्चालन गर्नु पूर्व अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विमानस्थल सञ्चालन निश्चित समय तोक्नु आवश्यक रहेको उनले बताए। निश्चित समय तोकेको ६ महीनाको अवधिमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो तयारी गर्ने अन्तर्राष्ट्रिय चलन छ।

'विन्टर र समर सेडुल लगायत दुईवटा सेडुल हुन्छ। उनीहरूलाई ६ महिना अगाडि नै सूचना जारी गर्नुपर्ने हुन्छ,' उनले भने, 'यसका लागि आइकाओको मापदण्डअनुसार डकुमेन्ट (म्यानुअल, कार्यविधि) बनाउनेछौं।'   

निर्माणको चरण पूरा भएपनि अत्यावश्यक व्यवस्थापनले केही सयम लिने उनले बताए । 'एरोड्रोम, एयर नेभिगेशन, सेक्युरिटी र सेफ्टी लगायतसँग सम्बन्धित डकुमेन्ट बनाउन सुरू गरिसकेका छौं। हामीले चेकलिस्ट बनाएर काम गरिरहेका छौं,' उनले भने, 'अहिले रिक्वायरमेन्ट बनाइरहेका छौं। हाम्रो सञ्चालन तयारी समय कति लाग्ने कुरा भने यकिन हुन बाँकी नै छ।' 

विमानस्थल सञ्चालनमा ल्याउनका लागि अध्यागमन र सुरक्षा लगायत निकायले दरबन्दी आह्वान गरिसकेको उनले बताए। 'उहाँहरुले आवश्यक जनशक्तिको लागि दरबन्दीको नोटिस निकालिसक्नु भएको छ। हामीले पनि व्यवस्था गर्नैपर्छ। फायर र एयर ट्राफिक कन्ट्रोलरको सूचना निकालिसकेका छौं,' उनले भने, 'नयाँ जनशक्ति उत्पादनका लागि १० महीना जति समय लाग्छ। रेटिङ एटिसी राखिन्छ। यसको बीचमा हामीले दक्ष जनशक्ति परिचालन गर्ने विषयमा छलफल गरिरहेका छौं। संगठनात्मक संरचना फाइनल भइसकेको छ।'  

विमानस्थल संचालन तयारी यात्रु सुविधा, सूचना प्रणाली, मानव संसाधन लगायतमा आधारित रहेको उनले बताए। पूर्व तयारीका लागि १५ सदस्यीय टोलीको सहकार्यमा यी कुराहरू समावेश गरिएको जानकारी उनले दिए।

के-केमा कति समय लाग्ने ?

सन् २०१४ मा तीन वर्षमा पूरा गर्नेगरि निर्माण सुरू भएको विमानस्थलको म्याद सरेको सरेकै छ। सुरूमा २०१७ डिसेम्बर १७ को म्याद पाएको विमानस्थल निर्माण पूरा गर्न म्याद थपेर १८ जुन २०१८ लाई तोकिएको थियो।

पछिल्लोपटक पूरा गर्न गत पुस ३ गते सम्मको म्याद थपिएको थियो। एडीबीको सहुलियत ऋणमा ६ अर्ब २२ करोड ५१ लाख लागत रहनेगरि निर्माणाधीन विमानस्थल पूरा भएर सञ्चालनमा आउँदा काठमाडौंको त्रिभुवन विमानस्थलको हवाइ चाप व्यवस्थापनको विकल्प हुने भनिएको छ। लगातार मिति सर्दै जाँदा गौरवको आयोजनामा सरकारी तयारी नपुगेको देखिएको छ।

गत साउनमा पर्यटन मन्त्री नियुक्त भएलगत्तै निरीक्षणका लागि पुगेका योगेश भट्टराइले विमानस्थल आगामी चार महिनामा सञ्चालनमा आउने घोषणा गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चासो रहेको उक्त विमानस्थललाई भ्रमण वर्ष २०२० सुरू हुनुअघि नै सञ्चालनमा ल्याउने गरि काम गर्नुपर्ने उनको भनाइ थियो।

पूर्वाधार र सञ्चालनका आन्तरिक व्यवस्थापनमा अझै वर्षदिन लाग्न सक्ने अनुमान आयोजनाको छ। विमानस्थलको संरचना तयार भएपछि दुई महिना अगाडि नै विश्वव्यापी रूपमा एयरनोटीकल इन्फर्मेसन पब्लिकेसनमा जाने उनले बताए। त्यसपछि पाइलट इन्जिनियर आएर अध्ययन गर्नेछन्। एयरोड्रोम सर्टिफिकेसन र फाइनल ट्रायल सफल भएपछि विमानस्थल सञ्चालनमा आउने छ।

'यो बीचमा समय लिने भनेको ग्राउण्ड ह्याण्डलिङले हो। ग्राउण्ड ह्याण्डलिङ कसलाई कुन तरिकामा रहेर दिने भन्ने कुरा आउँछ। प्रतिष्पर्धामार्फत जाने हो भने हाम्रो प्रोक्योरमेन्ट नै लामो छ,' तिवारीले भने, 'त्यसपछि कार्गो, क्याटरीङको जिम्मा प्रतिस्पर्धा अथवा सिधै दिने कुरामा भर पर्न आउँछ। यो विषयमा छलफल हुन बाँकी नै छ।'

विमानस्थल संरचना तयार र संचालन तयारी सँगसँगै अघि बढाउने योजना रहेको उनले बताए। उनका अनुसार एटीसी तयारका लागि सूचना प्रकाशनदेखि रिक्रुटमेन्टसम्म करिब १० महिना लाग्नेछ। उक्त अवधिमा प्राधिकरणले हाल भइरहेकै जनशक्तिमार्फत काम गराउने योजना छ।