BIZMANDU
www.bizmandu.com

पप्पु-जेडआइइसीसँग टेकु पुलको ठेक्का तोडियो, मापदण्ड पालना नगरी बनाएको आरोप

२०७६ पुष २५

पप्पु-जेडआइइसीसँग टेकु पुलको ठेक्का तोडियो, मापदण्ड पालना नगरी बनाएको आरोप
पप्पु-जेडआइइसीसँग टेकु पुलको ठेक्का तोडियो, मापदण्ड पालना नगरी बनाएको आरोप

Tata
GBIME
Nepal Life

काठमाडौं । मापदण्ड पूरा नगरी पुल निर्माण गरेको भन्दै डिभिजनल सडक कार्यालय मिनभवनले जेडआइइसी-पप्पु जेभीसँग ठेक्का तोडेको छ।
तत्कालीन काठमाडौं दिगो सहरी यातायात आयोजनाबाट निर्माण गरिएको टेकु-कालीमाटी जोड्ने विष्णुमती पुलको ठेक्का तोडिएको हो।

ठेक्का सम्झौताको प्रावधानअनुसार मापदण्ड नपुगेको भाग सच्याउनका लागि सूचना जारी गर्दा पनि सुधारका कार्य नभएकाले खरिद सम्झौताका सर्तहरू तथा सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन-२०७३ को दफा ५९ को उपदफा २(क) अनुसार खरिद सम्झौता अन्त्य गरिएको हो।

जेडआइइसी-पप्पु जेभीद्धारा निर्माणाधीन पुलमा परामर्शदाता कम्पनी र इन्जिनियरको निर्देशन तथा ठेक्का सम्झौताको स्पेसिफिकेशनसँग नमिल्ने गरि सुपर स्ट्रक्चर निर्माण गरिएको आयोजनाले जनाएको छ।  पटक-पटक लिखित र मौखिक निर्देशन गर्दा पनि अटेर गर्दै मापदण्ड विपरीत काम गरेका कारण ठेक्का तोडेर कम्पनीलाई कारबाही गर्न गर्न सिफारिस गरिएको डिभिजनल सडक कार्यालय मिनभवनका इन्जिनियर सुदर्शन कार्कीले बताए। आयोजनाले कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखि पठाउनुका साथै भने बैंक ग्यारेण्टी जफत गर्नका लागि पनि पत्राचार गरिसकेको छ।

 
करिब ६२ मिटर लम्बाइको उक्त पुलमा फाउण्डेसनमा कुनै समस्या छैन, तर सुपर स्ट्रक्चरमा मात्रै समस्या छ। पुलमा  प्रयोग गरिएको डण्डी र तार (केबल) मापदण्डभन्दा सानो प्रयोग गरिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले पनि यो पुलमा प्रयोग गरिएको डण्डी र केबल मापदण्डभन्दा कम रहेको रिपोर्ट दिइसकेको छ। त्यसलगत्तै तत्कालै काम रोक्न निर्देशन दिइएको थियो। तर पप्पु-जेआइसीले रातारात आयोजनाको इन्जिनियर नै नराखी पुल निर्माण पुरा गरे । त्यसपछि आयोजनाले ट्राफिक  प्रहरीलाई पत्राचार गर्दै जतिबेला पनि भत्कन सक्ने भन्दै पुल सञ्चालनमा रोक लगाउन आग्रह गरेको थियो। अहिले पुलको मध्यभागमा जाली उठाएर राखिएको छ। आयोजनाका एक इन्जिनियरका अनुसार डिस्प्युट बोर्डले पप्पुको पक्षमा निर्णय गरेसँगै आयोजनाले ठेक्का तोडेको हो।

 
एसियाली विकास बैंक (एडीबी)को करिब २० करोड १३ लाख रूपैयाँ ऋण सहयोगमा पुल निर्माण गरिएको हो। करिब २०७१ मा तीन वर्षमा (२०७४) सक्ने गरि ठेक्का सम्झौता गरिएको थियो। करिब डेढ वर्ष ढिला गरि पुल निर्माण गरिएको हो। पुल टेष्ट गर्दा केही स्थानमा क्षति समेत पुगेको सडक विभागको दाबी छ। नयाँ ठेक्कामार्फत सुपर स्ट्रक्चर निर्माण गर्ने योजना बनाइएको छ।