BIZMANDU
www.bizmandu.com

आफ्नै होटलमा साधारणसभा नगर्दा सोल्टीका सेयरधनी असन्तुष्ट, नेपालगञ्जको नाफा अर्को वर्ष  

२०७६ पुष २५

आफ्नै होटलमा साधारणसभा नगर्दा सोल्टीका सेयरधनी असन्तुष्ट, नेपालगञ्जको नाफा अर्को वर्ष  
आफ्नै होटलमा साधारणसभा नगर्दा सोल्टीका सेयरधनी असन्तुष्ट, नेपालगञ्जको नाफा अर्को वर्ष  

Tata
GBIME
Nepal Life

काठमाडौं। सोल्टी होटलले ११.३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर पारित गरेको छ। बिहीबार सम्पन्न ४५ औ वार्षिक साधारणसभाले २० कित्ता बराबर तीन कित्ताको अनुपातमा बोनस सेयर पारित गरेको हो। 

साधारणसभामा बोल्ने क्रममा सेयरधनीले आफ्नै होटलमा साधारणसभा नगरेको भन्दै असन्तुष्टि पोखेका थिए। लगानीकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष दिनेशबहादुर विष्टले होटलको क्षमता भन्दा धेरै सेयरधनी उपस्थित भएपछि अन्य भेन्यु खोज्नु परेको जवाफ दिए।

गएका वर्षमा साधारणसभा गर्दा होटलका कर्मचारी र सेयरधनीहरू बीचमा मनमुटाव भएपछि बाध्य भएर अन्यन्त्रै साधारणसभा गर्नुपरेको उनको भनाइ थियो।

 होटलको हलमा जम्मा ६ सय जनाको मात्रै क्षमता छ । तर सेयरधनीको उपस्थिति नौ सय जनाभन्दा धेरै भएपछि प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आयोजना गरिएको भन्दै जवाफ पनि उनले दिएका हुन्। कतिपय सेयरधनीहरूले होटलले रुम बेचेर भन्दा फुड एण्ड वेभरेजबाट धेरै आम्दानी गरेकाले नाफा बढ्न नसकेको भन्दै अकुपेन्सी रेसियो बढाउन सुझाव दिएका थिए।

लगानीकर्ताको सुझाव सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्लो समय नयाँ नयाँ होटल खुलेर रुमका लागि पर्यटक तथा ग्राहक अन्यन्त्र जान थालेपछि होटललाई समस्या परेको बताए। यसका लागि होटलले रिनोभेसन गर्नेदेखि लिएर विभिन्न प्रविधि भित्र्याउने काम गरिरहेको उनले जनाए।

 
सेयरधनीहरूले नाफाको अनुपातमा लाभांश कम दिएको भन्दै गुनासो गरेपछि अध्यक्ष विष्टले अहिले नै नाफा जति लाभांश वितरण गर्दा भोलिका दिनमा कुनै पनि समस्या पर्दा लाभांश दिन नसकिने अवस्थालाई मध्यनजर गर्दै जगेडा बढाउदै गरिएको बताए। ‘हिजोका दिनमा हामीले यस्तो समस्या भोगिसकेका छौ। होटलको व्यवसाय सधैं राम्रो हुन्छ भन्ने हुँदैन,' उनले भने, 'नभएको अवस्थामा पनि सेयरधनीहरुलाई खाली नराख्ने हाम्रो योजना हो।’

होटलले गत वर्षबाटै नेपालगञ्जमा पहिलो वातावरणमैत्री पाँचतारे होटल निर्माण गरेको थियो। गत वर्षबाट सञ्चालनमा आएपनि सुरुवाती अवस्थामा सञ्चालन मुनाफा नोक्सानमा थियो। उक्त होटलमा चालु वर्षदेखि मुनाफामा देखिन थालेको हुँदा सेयरधनीहरूले अर्को वर्षदेखि उक्त होटलको नाफा पनि प्राप्त गर्न सक्ने जानकारी सभामा दिइयो।

 यसबाहेक होटलले पोखरामा अर्को होटल बनाउन जग्गा किनेर राखेको अध्यक्षले सेयरधनीहरूलाई जानकारी दिए। तर पोखरामा चलिरहेकै होटलको व्यापार राम्रो नभएको हुँदा हतार गरेर अर्को होटल नबनाउने उनको तर्क थियो। यसैमा उनले थपे ‘यदि पोखराको एयरपोर्ट अन्तर्राष्ट्रिय हुने पक्का भयो र थप पर्यटक जाने अवस्था बन्यो भने तुरुन्तै होटल निर्माणको काम अगाडि बढाउछौं।’ 

कतिपय शेयरधनीहरूले ८ अर्बको वाणिज्य बैंकमा सातजना सञ्चालक भए पुग्ने, तर एक अर्ब रूपैयाँभन्दा बढि पुँजी नभएको होटलका लागि किन १० जना सञ्चालक आवश्यक पर्यो  भन्दै प्रश्न गरेका थिए। यस्ता प्रश्नको पनि जवाफ दिँदै अध्यक्ष विष्टले भने ‘सञ्चालकको विषयमा हामीले होटल स्थापना भएदेखिकै प्रबन्धपत्र र नियमावलीलाई पच्छ्याएका हौं। त्यसमा पनि कम्पनी रजिष्ट्रारले तोकेको सीमाभन्दा कम नै छौं।’

होटलको सञ्चालन खर्च तथा कर्मचारी खर्च धेरै भयो भन्ने शेयरधनीहरूलाई पनि जवाफ दिँदै अध्यक्षले भने ‘हाम्रो होटल स्थापना भएको ५० वर्ष भयो। होटल जति पुरानो भयो कर्मचारीहरूको सेवा सुविधा थप बढ्दै जान्छ। तथा पुराना कर्मचारीहरुको खर्च पनि बढ्छ।’ नयाँ होटलहरूमा नयाँ कर्मचारी हुन्छन् साथै उनीहरूको खर्च पनि कम हुन्छ। त्यसैले गर्दा नयाँ होटल सँग दाज्न नमिल्ने अध्यक्ष विष्टको तर्क थियो। 
गत आर्थिक वर्षमा होटलको कर्मचारी खर्च मात्रै ५५ करोड १० लाख रूपैयाँ भएको छ। होटलको सञ्चालक समितिले गत वर्ष बैठक भत्ता वापत ८ लाख ११ हजार रूपैयाँ बुझेका छन्।