काठमाडौं। एनएमबि बैंकका शेयरधनीहरूले साधारणसभाका क्रममा अहिलेको वृद्धिदरलाई कायम राख्न सुझाव दिएका छन्।
केही शेयरधनीहरूले बैंकलाई नबिल बैंकसँग तुलना गर्दै नबिलसँगै काँध जुधाउने बेला आएको बताए। उनीहरुको भनाई थियो- ‘हिमालयन, एभरेष्ट बैंकहरू भन्दा माथि गयौं, तर यसलाई मेन्टेन गर्न गाह्रो छ।’
ओम डेभलपमेन्ट गाभेर धेरै राम्रो गरेको हुँदा बैंकले अझै अर्को एउटा सानो तर धेरै राम्रो संस्थालाई लिएर बलियो बनाउनु पर्ने लगानीकर्ताहरूको सुझाव थियो।
बैंकले शाखा विस्तार हुने र प्रतिशेयर आम्दानीमा गिरावट नआउने किसिमको संस्थालाई गाभ्न सुझाव दिएका हुन्।
साधारणसभामा बैंकका सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले ओमलाई रणनीतिक मर्जर गरिएको बताए। उनले भने ‘बैंकको शाखा विस्तारलाई टेवा पुर्याउन त्यो रणनीतिक मर्ज थियो।’ बैंकले विदेशी रणनीतिक साझेदारको परामर्शमा धेरै भन्दा धेरै एसएमइ कर्जामा ध्यान दिएको गोल्यानले जानकारी दिए।
शेयरधनीहरूले रणनीतिक साझेदारका रूपमा रहेको बैंकले नेपालको आवश्यकतालाई हेरेर काम गर्नु पर्ने बताएका थिए। नेपालको आयात भन्दा निर्यात धेरै कम भएको हुँदा बैंकले निर्यातलाई बढावा दिने क्षेत्रमा लगानी गर्न माग गरेका हुन्।
अन्य वाणिज्य बैंकहरूको भन्दा खुद ब्याज आम्दानीको अनुपात धेरै कम भएको हुँदा बैंकले यसलाई बढाउन लगानीकर्ताहरूले सुझाव दिएका छन्। विदेशबाट कर्जा ल्याएर बैंकले गाउँ गाउँमा गएर कृषि कर्जा प्रवाह गर्दै आएको गोल्यानले बताए। बैंकले महिला उद्यमशिल महासंघसँग सम्झौता गरेर १२ हजार महिलाहरुसँग बैंक जोडिने क्रममा रहेको उनले शेयरधनीहरूलाई जानकारी दिए।
विदेशबाट फर्केका नेपालीहरूलाई प्राविधिक सुविधासहित कर्जा प्रवाह गर्न लागेको उनले बताए। यसै आर्थिक वर्षमा एक हजार भन्दा धेरैलाई यस्तो कर्जा प्रवाह गर्न लागेको हो। बैंकको पुँजी बढ्दै गर्दा प्रतिफल त्यही अनुपातमा बढ्न नसकेको हुँदा आगामी वर्षमा यही प्रतिफललाई निरन्तरता दिन मुश्किल पर्ने गोल्यानले बताए। तैपनि बैंकले यही लाभांशलाई निरन्तरता दिने प्रयास गर्ने उनको भनाई छ ।
बैंकले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट १४ प्रतिशतका दरले नगद लाभांश र २१ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई साधारणसभाले पारित गरेको छ। बैंकले नगद र बोनस शेयरसहित चार अर्ब तीन करोड रूपैयाँ लाभांश वितरण गरेको हो।
बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २६ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। ओमलाई गाभेपछि संचित मुनाफा ५४ करोड ८९ लाख रूपैयाँ र शेयर स्वाप अनुपातबाट ६० करोड ३६ लाख रूपैयाँ जगेडा कोषमा लगिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।