BIZMANDU
www.bizmandu.com

ठोरीमा पहिलोपटक हात्ती तथा जीप सफारी महोत्सव हुँदै, निकुञ्जको जंगल सफारी पनि गराइने

२०७६ पुष २४

Tata
GBIME
Nepal Life

वीरगंज। पर्साको ठोरीमा पुस २५ गतेदेखि हात्ती तथा जीप सफारी महोत्सव आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा सरकारको एक वर्षमा २० लाख पर्यटक भित्र्याउने अभियानका साथै पर्साको सुदुर पश्चिम गाउँपालिका तथा पर्यटकीय गन्तव्यको रुपमा पहिचान दिलाउने लक्ष्यका साथ महोत्सव हुन लागेको ठोरी गाउँपालिकाका अध्यक्ष तथा महोत्सव आयोजना मुल समारोह समिति संयोजक पदमलाल श्रेष्ठले बताए ।

ठोरी गाउँपालिकाकाको वडा नं ५ सुवर्णपुरको गडुवालाइनमा हुने महोत्सवमा दैनिक १० हजार पर्यटकलाई अवलोकन गराउने हिसाबले महोत्सवको तयारी रहेको बताइएको छ।

चितवनपछि पर्सामा पहिलोपटक हुन लागेको हात्ती महोत्सवले नेपाल तथा भारतीय पर्यटकलाई आकर्षण गर्ने हुने भएकाले हात्ती तथा जीप सफारी महोत्सव आयोजना गर्न गाउँपालिकाकाले भूमिका निर्वाह गर्दैछ ।

महोत्सव स्थलभन्दा ३० किलोमिटर पूर्व–उत्तरमा रहेको दुग्देश्वर महादेव मन्दिरको दर्शन पनि पर्यटकले गर्न सकिने व्यवस्था मिलाइने छ ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने मन्दिरको दर्शन गर्न जाँदा जीपबाट विभिन्न वन्यजन्तुको अवलोकन अर्थात जंगल सफारी गर्दै लाने पनि कार्यक्रम तय भएको हो ।

महोत्सव स्थल वरपर करिब एक घण्टे हात्ती सफारी  राखिएको छ । हात्ती सफारीका लागि नेपालीलाई ६ सय र विदेशी नागरिकलाई ११ सय रूपैयाँ तोकिएको छ ।

जीपबाट जंगल सफारी गर्ने पर्यटकहरुबाट प्रति व्यक्ति ११ सय शुल्क लिएर जीपधनीले २५ सय निकुञ्ज प्रशासनलाई प्रवेश शुल्क वापत दिनु पर्छ ।

महोत्सव स्थलमा सुवर्णपुरको सुनाखरी होमस्टेले दैनिक दुई सय जनाको वास तथा खानेकुराको व्यवस्थापन मिलाउने तयारी गरिएको छ ।
होमस्टेका अध्यक्ष शम्भुराम पौडेलका अनुसार बास बसेवापत एउटा कोठाको ५ सय र एक छाक सादा खाना १२० रूपैयाँ तिरे पुग्छ।

सुवर्णपुरमा एक रातमा १२० जना र बाँकीलाई ठोरीमा बस्ने व्यवस्था मिलाइने छ । ठोरी–१ तीनघरेमा रहेको तीनघरे मध्यवर्ती होमस्टेमा करिब ८० जनाको बास तथा खानेकुराको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

होमस्टेमा तामाङ र मगर समुदायको साँस्कृतिक प्रस्तुति पनि देखाइने बताइएको छ । सुवर्णपुरमा साँस्कृतिक कार्यक्रम गर्न कल्चर भवन पनि निर्माण भइसकेको छ।

महोत्सवका लागि गाउँ सभाबाट १२ लाख विनियोजन भएको छ भने अनुमानित बजेट २० लाख २० हजार अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।