BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले पारित गर्‍यो २५% बोनस , कर्मचारीको बोनस मात्रै ४८ करोड, बिकेको भागमा पौने १५ करोड

२०७६ पुष २३

Tata
GBIME
Nepal Life

काठमाडौं। एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांश पारित गरेको छ। साधारणसभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको हो।

बैंकको प्रमुख शेयरधनी पञ्जाब नेशनल बैंकले नगद लाभांस बापत ३२ करोड १६ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै विके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बापत १४ करोड ७४ लाख रुपैयाँको नगद लाभांश प्राप्त गरेका छन्।

गत आर्थिक वर्षमा संचालक समितिले बैठक भत्ता वापत १७ लाख ९० हजार रूपैयाँ बुझेका छन्। गत वर्ष यस्तो भत्ता ७ लाख १० हजार रूपैयाँ मात्रै लिएका थिए। संचालक समितिले जम्मा गरेको निक्षेप वापत ११ करोड ७२ लाख रूपैयाँको ब्याज रकम पाएको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पारिश्रमिक तथा अन्य सुविधावापत चार करोड ११ लाख रूपैयाँ बुझेका छन्। गत वर्ष यस्तो व्यवस्थापनले दुई करोड ८२ लाख रूपैयाँ मात्रै बुझेका थिए। उनीहरुले जम्मा गरेको निक्षेपबाट ७ लाख ११ हजार रूपैयाँ ब्याज पाएको बैंकले जनाएको छ।

बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीसहित गिरीश कोहली, राजीव जैन, केशवराज पौडेल, आशुतोष शर्मा रहेका छन्। त्यस्तै एसिस्टेन्ट जनरल म्यानेजरमा थप चार जना कर्मचारी छन्। कर्मचारीहरुले बोनस वापतमात्रै ४८ करोड ३० लाख रूपैयाँ बुझेका छन्। बैंकले कर्मचारी खर्च मात्रै ६० करोड ७७ लाख रूपैयाँको गरेको छ। 

पञ्जाब नेशनल बैंकबाट आएका प्रतिनिधिले आतेजाते, सुरक्षा तथा अन्य प्रशासनिक खर्च वापत एक करोड १३ लाख रूपैयाँ लिएका छन्। अघिल्लो आर्थिक वर्षबाट पारित भएको नगद लाभांश वापत ३० करोड ६ लाख रूपैयाँ लाभांश वापत पञ्जाब नेशनल बैंकले लगेको थियो।

यसरी भयो शेयर संरचनामा परिवर्तन

गत वर्षबाट बैंकको प्रमुख शेयरधनीमा प्रतिमा श्रेष्ठ भएकी छन्। उनको शेयर हिस्सा १४.९१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष उनको शेयर हिस्सा जम्मा ५.९० प्रतिशत मात्रै थियो।

नेपाल राष्ट्र बैंकले एकाघर भित्र नियम भन्दा धेरै शेयर भएको भन्दै विनिवेश गर्न निर्देशन दिएपछि बिकेले नजिकको आफन्त प्रतिमा श्रेष्ठको नाममा शेयर सारेका थिए। यो सँगै विकेको एकाघरकी राधा श्रेष्ठको शेयर छैन। त्यस्तै नेपाल कृष्ण श्रेष्ठको नामको शेयर पनि प्रतिमा श्रेष्ठको नाममा सारिएको छ।