BIZMANDU
www.bizmandu.com

एटीआर अघि नयाँ सीआरजे-२०० जहाज ल्याउँदै सौर्य एयरलाइन्स, पुरानो एउटा जहाज फेजआउट

२०७६ पुष २२

एटीआर अघि नयाँ सीआरजे-२०० जहाज ल्याउँदै सौर्य एयरलाइन्स, पुरानो एउटा जहाज फेजआउट
एटीआर अघि नयाँ सीआरजे-२०० जहाज ल्याउँदै सौर्य एयरलाइन्स, पुरानो एउटा जहाज फेजआउट

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको वायु सेवा कम्पनी सौर्य एयरलाइन्सले ठूला जहाज एटीआर-७२ ल्याएर सञ्चालन गर्नुअघि एउटा सीआरजे-२०० जहाज थप्ने योजना बनाएको छ। 

कम्पनीले डेढ वर्ष अघिदेखि ग्राउण्डेड सीआरजे-२०० जहाजको पूर्ण रूपमा मर्मत सम्भार गर्न नसकेपछि त्यसलाई फेजआउट गरी नयाँ जहाज खरिद गर्न लागेको जनाएको छ। कम्पनीले केही समययता ठूला जहाज ल्याउनका लागि प्रारम्भिक प्रक्रिया सुरु गरे पनि अहिलेलाई तत्काल सीआरजे-२०० जहाज ल्याउने योजनालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

 'हामीले लामो समयदेखि ग्राउण्डेड सीआरजे मर्मत गर्ने कि नयाँ ल्याउने विषयमा छलफल गर्‍यौं। मर्मत गर्नुभन्दा नयाँ खरिद गर्दा भायवल हुने देख्यौं,' कम्पनीका एक पदाधिकारीले भने, 'छिटै नयाँ जहाज ल्याउने तयारीमा छौं।' नेपालमै पहिलोपटक जेट इन्जिनयुक्त जहाज सञ्चालन सुरू गरेको यो कम्पनीले हाल एउटा सीआरजे-२०० जहाजमार्फत विराटनगर, नेपालगञ्ज र भैरहवा लगायतका गन्तब्यमा उडान गर्दै आएको छ। कम्पनीले नौ महिनाको अवधिमा तीनवटा एटीआर जहाज थप्नका लागि मन्त्रालयमा प्रारम्भिक प्रक्रिया सुरू गरिसकेको छ।

'एटीआर जहाज ल्याउने निश्चित भइसकेको छ। नौ महीनाभित्र तीनवटा एटीआर-७२ ल्याउनेछौं,' कम्पनीका पदाधिकारी भन्छन्। कम्पनीले एटीआर सञ्चालनमा ल्याइसकेपछि दुईवटा जेट इन्जिन जहाजमार्फत पोखरा र भैरहवालगायत विभिन्न पर्यटकीय गन्तब्यमा उडान गर्ने योजना छ । एटीआरमार्फत धनगढी, नेपालगञ्ज, सिमरा र भरतपुर लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।