BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रालयको निर्देशनपछि नागरिक लगानी कोषले स्टक डिलर कम्पनी खोल्ने, १० अर्ब पुँजी

२०७६ पुष ७

अर्थमन्त्रालयको निर्देशनपछि नागरिक लगानी कोषले स्टक डिलर कम्पनी खोल्ने, १० अर्ब पुँजी
अर्थमन्त्रालयको निर्देशनपछि नागरिक लगानी कोषले स्टक डिलर कम्पनी खोल्ने, १० अर्ब पुँजी

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थ मन्त्रालयको ठाडो निर्देशनपछि शेयर बजारमा लगानी गर्ने भन्दै १० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी खुल्ने भएको छ। 

मन्त्रालयले नागरिक लगानी कोषसहित आफ्नो प्रत्यक्ष लगानी भएका विभिन्न संस्थाहरुलाई कम्पनीमा शेयर हाल्न निर्देशन दिएको छ। यो कम्पनी दोस्रो बजारमा सूचीकृत हुनेछ।

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयन गर्ने क्रममा मन्त्रालयले यस्तो निर्देशन दिएको हो। नागरिक लगानी कोषले लामो समयदेखि स्टक डिलर खोल्ने भन्दै नेपाल स्टक एक्सचेन्जमा प्रस्ताव आह्वान गरेको थियो। तर काम भने गर्न सकेको थिएन। 

एक वर्ष अगाडिदेखि नै कोष आफैले स्टक डिलरको काम गर्ने तयारी गरेको थियो। तर सफल भने हुन सकेन। 

कोष आफैले गरेको पहल सफल हुन नसकेपछि मन्त्रालयले नागरिक लगानीकोष सहित आफ्नो प्रमुख लगानी भएका नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनी र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सहभागी गराएर कम्पनी खोल्न पहल गरेको हो। यसको अगुवाइ नागरिक लगानी कोषले गर्नेछ। बाँकी कुन कुन संस्थालाई समेट्ने र कसको कति प्रतिशत हिस्सा हुने विषयमा भने टुङ्गो लाग्न बाँकी छ।

अहिलेसम्म भएको सहमति अनुसार कोषको ५१ प्रतिशत शेयर हिस्सा हुनेछ। बाँकी ४९ प्रतिशतमध्ये कसले कति हाल्ने भन्ने विषयमा निर्क्योल हुन सकेको छैन। स्रोतका अनुसार छिट्टै नै कसले कति हाल्ने भन्ने विषयमा टुङ्गो लाग्ने छ। टुङ्गो लाग्ने वित्तिकै कम्पनी दर्ता गरेर काम सुरु गर्ने योजना रहेको छ। 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०७४ संशोधनको क्रममा छ। यो नियमावलीमा स्टक डिलरको व्यवस्था छैन। त्यसैले नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनका लागि मन्त्रालयमा पेश गरेको थियो। 

मन्त्रालयले नियमावली संशोधन गरेपछि मात्रै नेपाल धितोपत्र बोर्डले आवश्यक काम कारबाही अगाडि बढाउन सक्नेछ। मन्त्रालयले नियमावली पास गरुन्जेल कम्पनीले आफ्नो सम्पुर्ण कागजी प्रकृया पुरा गरी कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि पहल गर्नेछ। कोषले मात्रै सहायक कम्पनी खोलेर शेयरमा प्रभावकारी भुमिका निर्वाह गर्न नसक्ने भन्दै सकारले बजारमा प्रभाव पार्ने सक्ने कम्पनी खोल्ने तयारी गरेको हो। 

कम्पनीले नाफा मात्रै आर्जन गर्नेभन्दा पनि बजार धेरै तल झर्न थाल्यो भने बजारबाट शेयर उठाउने र धेरै माथि जान थाल्यो भने शेयर बेच्ने रणनीति लिने छ।

अहिले बजार घटिरहेको सन्दर्भमा सरकार आलोचित हुँदै आएको छ। बजार धेरै नै तल झर्दा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाइरहेका छन्। बजारबाट गुमाउनु परेपछि लगानीकर्ताहरुले अर्थमन्त्रीलाई दोश लगाउँदै आएका छन्। 

अर्थमन्त्री आफैले पटक पटक बजार सुधारका लागि बजार निर्माताको कुरा गर्दै आएका छन्। बजार निर्माताको कुरा उठे पनि अहिलेको सन्दर्भमा बजार निर्माताभन्दा पनि स्टक डिलरनै उपयुक्त हुने विज्ञहरुले सुझाव दिँदै आएका थिए। विज्ञहरुको सुझावपछि कोषले एक वर्ष अगाडिदेखि नै स्टक डिलरको काम गर्ने भन्दै आएको थियो। 

कोष आफैले यस्तो काम गर्दा २/३ अर्ब रुपैयाँभन्दा बढि लगानी गर्न नसक्ने र बजारमा खासै प्रभाव पार्न नसक्ने बुझाइ थियो। यस्तो कम्पनीले बजारलाई प्रयोग गरेर नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलन कायम गर्ने अस्त्रका रुपमा प्रयोग गरिने स्रोतको दाबी छ।