BIZMANDU
www.bizmandu.com

चितवनमा तरकारी र फलफूलको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा, थप चार ठाउँमा तयारी

२०७६ पुष २

Tata
GBIME
Nepal Life

चितवन। चितवनमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। भरतपुर-२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलबारदेखि गरिएको छ। प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ/दशवटा फरक-फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ। एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ। परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ। यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ। प्रयोगशाला शुभारम्भका दिन लौकामा गरिएको परीक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिए।

प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको उनले बताए। प्रदेश सरकारको उपकरण, कृषि प्रवर्द्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गर्नेछन्।

फलफूल तथा तरकारीको परीक्षण हुने भएकाले यसअघि नै विषादी प्रयोग नगर्न कृषकलाई भनिएको महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए। उनका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ। चीन र भारतबाट पनि यहाँको बजारमा फलफूल र तरकारी आउँछ।

प्रदेश सरकारले चितवनमा जस्तै हेटौँडा, ललितपुर, नुवाकोट र  काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामग्री हस्तान्तरण गरेको छ। पाँच स्थानका लागि एक करोड ८० लाखको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा योगन्द्रकुमार कार्कीले जानकारी दिए।

उनका अनुसार प्रयोगशालासँग प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमूना परीक्षण गर्ने क्षमता रहेको छ। पाँचवटै प्रयोगशालाका लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना युवा कृषि स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ।