काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूको निःशुल्क बीमा सुविधा भन्दै प्रचार गर्न थालेपछि बीमा समितिले कडाइ गरेको छ।
बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवासाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन २०७६’ जारी गर्दै बैंकहरूले आफ्ना निक्षेपकर्ताहरूको बीमा गर्दा उनीहरुको सम्पूर्ण व्यक्तिगत विवरण बीमा कम्पनीहरूलाई बुझाउनु पर्ने व्यवस्था गरेको छ।
पछिल्लो समय बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न जीवन तथा निर्जीवन बीमा गराउँदै छन् । बैंकहरूले निक्षेपकर्ताको बीमा गरेको भन्दै प्रचार गरे पनि दाबी लिन जाँदा बेवास्ता गरेको भन्दै निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
बीमा व्यवसायको सिद्धान्त विपरित बैंकहरूले बीमा सुविधा सित्तैमा भन्दै प्रचार गर्न थालेको उनले बताए। मार्गदर्शनअनुसार अबदेखि बैंकहरूले आफ्ना निक्षेपकर्ताको बीमा गराउँदा एकमुष्ट रूपमा बीमा लेख खरिद गर्नु पर्नेछ।
बीमा लेख खरिद गर्दा बैंकले आफ्ना निक्षेपकर्ताको नाम तथा व्यक्तिगत विवरण बीमा कम्पनीहरुलाई उपलब्ध गराउनु पर्ने मार्गदर्शनमा उल्लेख छ।
संस्थाले आफ्ना निक्षेपकर्ता, सदस्य वा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्दा ग्राहकको केवाइसी (नो योर कस्टमर) विवरण र स्वास्थ्य सम्बन्धी फारम भर्न लगाउनु पर्नेछ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता, ऋणी वा सदस्यलाई बीमालेखको विवरण सहित प्रमाणपत्र प्रदान गर्नु पर्नेछ। यसका साथै बीमितले आफ्नो बीमा लेख बैंक तथा वित्तीय संस्थाको वेबसाइटबाट हेर्न सक्ने व्यवस्था गर्नुपर्ने भएको छ।
समितिले घातक रोगको बीमा गराउँदा अधिकतम बीमांक रकम १० लाख र औषधोपचार बीमा गराउँदा अधिकतम बीमांक रकम एक लाख रूपैयाँ तोकिदिएको छ। बैंक तथा वित्तीय संस्थाले तोकिएको अधिकतम सीमाभन्दा माथिको बीमा गराउन पाउँदैनन्। बैंकहरूले अबदेखि निक्षेपकर्ताको निःशुल्क बीमा गरेको भन्दै प्रचार गर्न पाउने छैनन्।