BIZMANDU
www.bizmandu.com

अल्पकालीन लगानीकर्ता हावी हुँदा शेयर बजारमा नागबेली चाल, सूचकसँगै कारोबार रकम समेत सुध्रियो

२०७६ मंसिर २४


काठमाडौँ। लगातार पाँच कारोबार दिनदेखि बढेको शेयर बजार मंगलबार समेत निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २.४८ अंकले बढेर ११५१.३६ अंकमा उक्लिएको छ ।

Tata
GBIME
Nepal Life

अल्पकालीन लगानीकर्ता हावी हुँदा मंगलबार सामान्य अंकको वृद्धि देखिएको हो । लगानीकर्ताले छोटो समयको नाफा सुरक्षित गर्दा मंगलबार शेयर कारोबारमा नागबेली चाल देखिएको थियो ।

कारोबारको सुरुवाती आधा घण्टामा नौ अंक बढेको शेयर बजार त्यसपछि भने घट्दो लयमा देखिएको थियो । साढे १२ बजेपछि बिस्तारै बढेको बजार पुनः १ बजेपछि घट्दो लयमा देखिएको थियो । कारोबारको अन्तिम समयमा बजार सुधारिँदा सूचक दुई अंकले बढेको हो ।

लगानीकर्ताले लगातार नेप्सेमा वृद्धि हुँदा मंगलबार नाफा सुरक्षित गर्ने प्रयास गरेको एक ब्रोकर कम्पनीले जनाएको छ । उसका अनुसार कारोबारको बीचमा लगानीकर्ताले बिक्री चाप बढाएका थिए।

कारोबारमा सुधार हुँदै जाँदा त्यसको असर कारोबार रकममा समेत देखिन थालेको छ । मंगलबार आधा अर्ब रूपैयाँको शेयर कारोबार भयो । सोमबारभन्दा कारोबार रकम चार करोड रूपैयाँले बढेको हो । मंगलबार ४६ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार १ सय ७० कम्पनीका शेयर कारोबार भए । जसमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । माछापुच्छ्रे बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो ।

उसको मात्रै सात करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा एनएमबि बैक दोस्रो भएको छ । उसको ३ करोड ८५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भयो ।

कारोबारमा आएका कम्पनीहरूको उपसूचक मिश्रित देखिएको छ । १२ समूहको शेयर कारोबारमा आठ समूहको उप-सूचक बढेको छ । चार समूहको उप-सूचक घटेको हो । सबैभन्दा बढी ट्रेडिङ समूहको ४.९७ प्रतिशतले बढेको हो । अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।