BIZMANDU
www.bizmandu.com

१० अर्बमा तयार भयो रिद्धि सिद्धिको क्लिकंरसहितको प्लान्ट, १५ दिनपछि क्लिंकर उत्पादन थाल्ने

२०७६ मंसिर २२

१० अर्बमा तयार भयो रिद्धि सिद्धिको क्लिकंरसहितको प्लान्ट, १५ दिनपछि क्लिंकर उत्पादन थाल्ने
१० अर्बमा तयार भयो रिद्धि सिद्धिको क्लिकंरसहितको प्लान्ट, १५ दिनपछि क्लिंकर उत्पादन थाल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। १० अर्बको लागतमा रिद्धि सिद्धि सिमेन्टको क्लिकंरसहितको प्लान्ट तयार भएको छ। हेटौंडाको रातोमाटेमा रहेको उद्योगले ६ महिना अघिदेखि ग्राइन्डिङ युनिटबाट सिमेन्ट उत्पादन थालेको थियो।

दैनिक २८ सय टन क्लिकंर प्लान्टसँगै उद्योग पूर्ण रुपमा तयार भएको छ। अब उद्योगले १५ दिनपछि क्लिकंरको व्यवसायिक उत्पादन सुरु गर्नेछ।सिमेन्ट र स्टील उद्योगमा स्थापित शंकर र अम्बे समूहको लगानीमा ४० विघा जग्गामा यो उद्योग स्थापना भएको छ।  अम्बे समूहका चेयरम्यान हरि न्यौपानेले क्लिकंर उत्पादन सुरु भइसकेको बताउँदै १५ दिनपछि व्यवसायिक रुपमा बिक्री सुरू गर्ने जानकारी दिए।

यो उद्योगबाट दैनिक २८ सय टन क्लिकंर उत्पादन हुनेछ। क्लिकंर र सिमेन्टसँगै उद्योगको लागत १० अर्ब रुपैयाँ पुगेको छ। यो उद्योगबाट दैनिक २२ सय टन रिद्धिसिद्धि ओपिसी सिमेन्ट उत्पादन हुन्छ।

‘हामीले क्लिकंर प्लान्टको शुक्रबार पूजापाठ गरेर ‘फायर’(उत्पादन) गर्‍यौं। १५ दिनपछि हामी ग्राइन्डिङ युनिटलाई क्लिकंर बिक्री गर्न थाल्नेछौं,’ उनले बिजमाण्डूसँग भने। उनका अनुसार हेटौंडा लोकेशनका हिसाबले पनि सबैभन्दा राम्रो छ। ‘हेटौंडाबाट पूर्वका धेरै स्थानमा हामीले क्लिकंर बिक्री गर्न सक्छौं। धेरै स्थानमा हाम्रो क्लिंकर बिक्री गर्न लोकेशनले साथ दिन्छ,’ न्यौपानेले भने।

खानी पनि नजिक रहेकाले उत्पादन लागत घटेर क्लिकंरमा प्रतिस्पर्धा गर्न सक्ने उनले दाबी गरे।‘हाम्रो खानी र उद्योगको दूरी ४० देखि ४५ किलोमिटरभित्र छ। यो सिमेन्ट उद्योगका  लागि सबैभन्दा ठूलो एडभान्टेज हो,’ उनले भने, ’ढुवानी भाडाले हामीलाई फाइदा गर्छ।’ उनले अहिले बजारमा प्रतिस्पर्धा भएपनि उत्पादन र लागतका आधारमा क्लिकंर बिक्रीमा समस्या नहुने बताए। उद्योगसँग मकवानपुरको राक्सिराङ र निबुवाटारमा चुनढुंगा खानी छ, त्यसबाहेक चितवनको शक्तिखोरमा पनि खानी छ। ६ महिनाअघि व्यवसायिक रूपमा बिक्री सुरू गरेको रिद्धि सिद्धि ओपिसी सिमेन्ट बजार स्थापित भइसकेको उनले बताए।