BIZMANDU
www.bizmandu.com

१८ वटा मर्जरपछि ‘नम्बर वान’ बन्यो ग्लोबल आइएमइ: बैंकहरुको एचआरप्रति गभर्नरको गुनासो

२०७६ मंसिर २०

१८ वटा मर्जरपछि ‘नम्बर वान’ बन्यो ग्लोबल आइएमइ: बैंकहरुको एचआरप्रति गभर्नरको गुनासो
१८ वटा मर्जरपछि ‘नम्बर वान’ बन्यो ग्लोबल आइएमइ: बैंकहरुको एचआरप्रति गभर्नरको गुनासो


काठमाडौं। गभर्नर डा. चरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थाको कर्मचारी ब्यवस्थापन पनि राष्ट्र बैंकले नै हेर्नु पर्ने अवस्था आएको बताएका छन्। उनले केही दिनअघि बैंकका कर्मचारीले असम्बन्धित ब्यक्तिहरुलाई चेक दिएर रकम झिकिएको घटनालाई संकेत गर्दै कर्मचारी ब्यावस्थापनका बारेमा खरो टिप्पणी गरेका हुन्।

Tata
GBIME
Nepal Life

केही दिनअघि केही बैंक तथा वित्तीय संस्थाबाट असम्बन्धित ब्यक्तिहरुले खातावालाहारुको चेक लगेर पैसा झिकेको घटना सार्वजनिक भएको थियो।

'हामीले कस्ता कर्मचारी राखेका रहेछौं। चेक बुक कसलाई दिनु पर्छ? किन दिनु पर्छ? कसरी दिनु पर्छ भनेर पनि कर्मचारीलाई सिकाएका रहेनछौं' उनले भने, 'मलाई यो कुरा गरिरहँदा नियामकको प्रमुखका नाताले लाच लागिरहेको छ।'

डा. नेपालले बैंकका सञ्चालक समितिलाई नाफा बढाउनका लागि प्रमुख कार्यकारीहरुलाई दबाब नदिन पनि निर्देशन दिएका छन्। 

उनले ठूलो भएसँगै ब्यवस्थपकीय चुनौती पनि थपिने भन्दै संस्थागत सुशासन र क्षमता बृद्धिमा ध्यान दिन आग्रह गरेका छन्। 

जनता बैंक नेपाललाई गाभेर एकिकृत कारोबार थालेको ग्लोबल आइएमइ बैंकको उद्घाटन कार्यक्रममा बोल्दै गभर्नरले राष्ट्र बैंकले बिग मर्जरलाई नरन्तरता दिइरहने बताए। 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तरलता अभाव सँधै किन हुन्छ भनेर अध्ययन गरिनु पर्ने बताए। यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मर्जरले संस्था ठूलो भएर लागत कटौती भएपनि त्यसको लाभ ऋणीले पाउन नसकेको गुनासो गरेका थिए।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललले संस्था ठूलो हुँदा जोखिम पनि उत्तिकै बढ्ने भन्दै त्यसतर्फ सचेन हुन आग्रह गरे। यसैगरी बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठनका प्रमुख पवन गोल्यानले सिइओ र सरकारबीच पुलको काम गर्न आफ्नो संगठन खुलेको प्रष्टीकरण दिए। 

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अहिले नै ग्लोबल आइएमइ ठूलो बैंक भएको बताउँदै अझै १/२ वटा मर्जरमा जान सुझाब दिए। उनको सुझाबमा उपस्थितहरु माझ हाँसो फैलिएको थियो। 

यस्तो बन्नेछ मर्जरले ग्लोबल आइएमइ
ग्लोबलले जनता गाभेपछि बाणिज्य बैंकको संख्या २७ मा झरेको छ। ग्लोबलसँग अहिलसम्म १० संस्था गाभिएका छन् भने जनतासँग ६ वटा। कुल १८ वटा संस्था गाभिएपछि ग्लोबल आइएमइ देशकै ठूलो बैंक बनेको छ।

जनता गाभिएपछि ग्लोबलको पूँजी कोक्ष २४ अर्बको पुगेको छ। बैंकको कुल निक्षेप २१७ अर्ब छ भने ऋण १९४ अर्ब पुगेको छ। 

बैंकका ३०० हाराहारी शाखा, २९५ एटिएम र ३३ एक्सटेन्सन काउन्टर छन्। बैंकका तीन देशमा प्रतिनिधि कार्यालय छ भने ३२ सय कर्मचारी पुगेका छन्।

जनता र ग्लोबल आइएमइबीच गत असार २० गते मर्जरमा जाने सहमति गरेको थियो भने मंसिर २० गते एकिकृत कारोबार गरेको छ।

वित्तीय क्षेत्रमा ग्लोबल आइएमइ बैंकलाई 'मर्जर किङ' भनिन्छ। यसका अध्यक्ष चन्द्र ढकाललाई 'मर्जर ढकाल' भनेरसमेत भन्ने गरिन्छ। ग्लोबलले जनताभन्दा अघि क वर्गको कमर्ज एण्ड ट्रस्ट बैंकलाई पनि गाभेको थियो।

बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्रीको पनि मर्जरमा एउटा रमाइलो संयोग छ। उनी जहाँजहाँ प्रमुख कार्यकारी भएर गएका छन् ती संस्था गाभिएर अझ बलियो बनेका छन्।

सुरुमा बैंक अफ एसिया नेपालमा प्रमुख कार्यकारी हुँदा बैंक एनआइसीमा गाभिएको थियो। अहिले एनआइसी एसिया देशकै ठूलो बैंकमध्ये पर्छ। त्यसपछि क्षेत्री शिघ्र सुधारात्मक कारवाहीमा परेको ग्राण्ड बैंक सुधार गर्न गएका थिए। त्यो बैंक पनि प्रभु बैंकसँग गाभियो। 

त्यसपछि केही समय विराम लिएका क्षेत्री त्रिवेणी र सिद्धार्थ डेभलपमेन्ट गाभिएपछि जनता बैक पुगेका थिए। सुरुदेखि नै मर्जरको पक्षमा रहेका क्षेत्रीकै पहलमा जनता बैंक ग्लोबलमा मर्ज भएको हो।