BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको ‘बिग बैंक थ्यौरी’: कहिलेकाँही ठूलो हुँदा भद्दा पनि भइन्छ, सिइओको तलवमा असन्तुष्टी

२०७६ मंसिर २०

अर्थमन्त्रीको ‘बिग बैंक थ्यौरी’: कहिलेकाँही ठूलो हुँदा भद्दा पनि भइन्छ, सिइओको तलवमा असन्तुष्टी
अर्थमन्त्रीको ‘बिग बैंक थ्यौरी’: कहिलेकाँही ठूलो हुँदा भद्दा पनि भइन्छ, सिइओको तलवमा असन्तुष्टी

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले 'बिग मर्जर' का फाइदा/बेफाइदा पढाउँदै सक्दो चाँडो मर्ज भएर ठूलो हुन सल्लाह दिएका छन्। उनले बैंक ठूलो हुँदा अरुलाई प्रतिस्पर्धामा चुनौती हुने भन्दै ठूलो भएर कारोबार गर्न सुझाब दिएका हुन्।

आफूभन्दा तीन बर्ष कान्छो जनता बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको ग्लोबल आइएमई बैंकको उद्घाटन गर्दै अर्थमन्त्रीले अहिलेको मर्जरले अरुलाई पनि प्रेरित गर्ने बताए।

'एकभन्दा बढि वित्तीय क्षेत्रमा शेयर भएकाहरु मर्जरका लागि आइदिनुहोस्। मर्ज गर्नुस भन्ने हाम्रो अनुरोध छ,' खतिवडाले चेतावनी शैलीमा भने, 'अनुरोधलाई पालना नगर्दा, यसको मर्म नबुझ्दा भोलि अलिक कठिन अवस्था आयो भने फेरि सरकार वा राष्ट्र बैंकले सुन्ने दिन टाढा पुगिसकेको हुन्छ।'

राष्ट्र बैकको गभर्नर हुँदा मर्जरको नीति आफूले लिएको बताउँदै उनले बिग मर्जरका बारेमा लामै टिप्पणी गरेका थिए। 'ठूलो हुँदाका केही लाभहरु छन्। हामीलाई लगानीको आवश्यकता ठूला पूर्वाधार आयोजनाहरु छ। व्यापारलाई मात्र प्रवर्द्धन गरेर, एलसी (प्रतितपत्र) कै कमिसन लिएर, आयात फाइनान्सका अन्य उपकरणबाट अथवा विदेशी विनिमयको मात्रै कारोबार गरेर वा ब्याज बढि भएको ओभरड्राफ्टको मात्रै कारोबार गरेर पैसा कमाउने दिन अब गए' खतिवडाले भने, 'अब मर्जर गरेर लागत कटौती गर्नु पर्छ।'

उनले अर्थतन्त्रको संरचना परिवर्तन हुँदै गएको बताउँदै परिवर्तित संरचनाले मध्यकालिन र दीर्घकालिन लगानी मागिरहेको समेत बताए। उनले यसका लागि ठूलो लगानी आवश्यक रहेकोसमेत बताए।

'कुनै बेला १० वटा बैंक मिल्दा ५ अर्ब रुपैयाँ जुटाउन गाह्रो थियो। अब पूँजी संरचना बलियो भएको छ। आज एउटै बैंकले १० अर्ब रुपैयाँ जुटाउन सक्ने समेत अवस्था आएको छ,' उनले भने, 'यसको तालमेल हाम्रो आर्थिक वृद्धिमा मिलाउनु पर्ने छ।'

अर्थमन्त्री  खतिवडाले अल्पकालिन वित्तीय स्रोत परिचालनबाट दीर्घकालिन आर्थिक वृद्धि हासिल गर्न नसकिने बताए। 'हामी लगातारको उच्च आर्थिक वृद्धिको बाटोमा त छौं। यो बर्ष अझ उच्च आर्थिक वृद्धि गर्नु छ। यो गर्न अल्पकालिन लगानीबाट हुनेवाला छैन। अर्को पाँच बर्षसम्म उच्च आर्थिक वृद्धिमा जाने हो भने अहिले ठूला पूर्वाधार तथा व्यवसायिक क्षेत्रमा लगानी गर्नु पर्छ,' उनले भने,  'उच्च आर्थिक वृद्धि संभव बनाउने हो भने ठूलो पूँजी हामीलाई चाहिन्छ। ठूलो पूँजी चाहिने कारणले ठूला बैंकहरु पनि हामीलाई चाहिएको छ। जसले उच्च आर्थिक वृद्धिका लागि चाहिने न्यूनतम पूँजी परिचालन गर्न सहयोग गर्न सकुन्।'

अर्थमन्त्री खतिवडाले बैंकको आन्तरिक पूँजी वा शेयरधनीको पूँजीले मात्रै उच्च आर्थिक वृद्धि दर हासिल गर्न नसकिने पनि बताए। तर ठूलो बैंक भएका नाताले विदेशबाट ऋण ल्याउन सहज वातावरण भने बनाउन सकिने उनले तर्क गरेका छन्। उनले वैदेशिक पूँजी परिचालन गर्न बैंकहरुले आफू ठूलो बैंक भइसकेको मार्केटिङ गर्न आवश्यक रहेको पनि बताए।

'बैंकले पनि हामी यति मिलियन डलरको हौं, हामीलाई ऋण देउ। हामी तिर्न सक्छौं। हाम्रो इन्डिकेटर राम्रा छन्। हाम्रो क्यापिटल एडुकेसी राम्रो छ। खराब कर्जा यस्तो छ। हाम्रो म्यानेजमेन्ट लेभल यस्तो छ भनेर विदेशी बित्तीय संस्थाबाट ऋण लिन सक्नु हुन्छ,' उनले भने, 'त्यो स्रोत यहाँ ल्याएपछि अनि दीर्घकालिन लगानीका लागि आधार बन्छ।'

अर्थमन्त्री खतिवडाले मर्जरले सञ्चालन खर्चसमेत घट्ने बताए। उनले महँगो ब्याजमा ऋणपत्र जारी गर्दा भोलि आउन सक्ने ब्यवहारिक कठिनाइका बारेमा पनि बैंकहरुलाई सचेत गराएका थिए। अर्थमन्त्रीले ऋणपत्र, सञ्चालन खर्च र मर्जरलाई आफ्नो विश्लेषण समेत सुनाए।

दीर्घकालिन वा मध्यकालिन लगानीका लागि ऋणपत्र राम्रो भएको भन्दै उनले ब्याजका बारेमा भने चिन्ता ब्यक्त गरे। 'तपाईहरुले ऋणपत्रको ब्याजदर कायम गरिरहँदा आजको बजारको ब्याज दरलाई हेरिरहनु भएको छ। भोलिको कस्ट अफ फण्ड (स्रोत लागत) लाई पनि हेर्नु पर्छ,' उनले भने, 'व्यवसायी भन्छन् ब्याज दर घटाउनुहोस्। तर व्यवसायीले नै ऋणपत्र साढे १० प्रतिशत ब्याज दरमा उठाइरहेका छन्। अनि नौं प्रतिशत ब्याजमा बैंकले त ऋण दिन सक्दैन। यहाँ तालमेल मिलाउन पनि जरुरी छ।'

उनले व्यवसायीलाई एकै पटक बचतमा उच्च ब्याज र ऋणमा सस्तो ब्याज नखोज्न आग्रह समेत गरे। तर मर्जरबाट यसको तालमेल भने मिलाउन सकिने उनले विश्लेषण सुनाए।

'हामीले बचत र ऋणीको ब्याज दरको अन्तर कम गर्नु पर्छ। अहिलेको ऋणको ब्याज कम गर्ने भनेको बाटो स्प्रेड कम गर्ने हो। त्यो स्प्रेड कम गर्ने भनेको बैंकको सञ्चालन कुशलता हो। त्यो सञ्चालन कुशलता भनेको ठूलो भएर कारोबार गर्दा लागत कम गर्ने भनेको हो,' उनले भने।

मर्जरपछि दुई सञ्चालक समिति, दुई सिइओ, एकै ठाउँमा दुई शाखा, दुई एटिएम आवश्यक नपर्ने भन्दै अर्थमन्त्री खतिवडाले यसले सञ्चालन खर्च घटाउने बताए। 'यसरी घटेको सञ्चालन खर्च बैंकहरुले ऋणको ब्याजमा पास अन गर्नु पर्छ,' उनले भने, 'अनि व्यवसायीहरुले मर्जरको बेनिफिट पायौं भन्नु हुन्छ।'

उनले बिग मर्जरले सँधै राम्रै गर्छ भन्ने पनि नहुने बताए। खतिवडाले व्यवसायिक कुशलता ठूलो हुँदा आउँछ भनेर भन्न नसकिने बताए। उनले मर्जरले संस्थागत क्षमता बढ्छ नै भनेर भन्न नसकिने बताउँदै धेरै ठूलो हुँदा कहिलेकाँही भद्दा पनि हुन सकिने बताए।

'धेरै भद्दा भएकै कारण हाम्रो स्मार्टनेश घट्न पनि सक्छ। फेरि ठूलो हुन वा मोटाउनलाई सजिलो छ। वजन घटाउनलाई त धेरै वर्कआउट पो गर्नु पर्छ त,' उनले भने, 'व्यवस्थापकीय समस्या पनि आउन सक्छ ठूलो भएपछि। कर्मचारी लथालिङ् हुने,  काम गर्ने वातावरण विग्रिने, वोर्डले धेरै समय दिन नसक्ने, व्यवस्थापनले धेरैतिर हेर्न नपाउने, कर्मचारी चिन्न नसक्ने। अवस्था पनि आउन सक्छ। यसमा सचेत हुनु पर्छ।'

खतिवडाले बैंक चलाउन रहर नभएका, बाध्यताले वा लहडमा आएकाहरुलाई मर्जरले निष्कने बाटो दिएको समेत सुनाए। खतिवडाले सिइओको तलवमाथि पनि प्रश्न उठाएका छन्। उनकै पालामा राष्ट्र बैंकले सिइओको तलवमा अंकुश लगाएको थियो। अहिले फेरि उनले सिइओको तलवमाथि प्रश्न उठाएका छन्।

'कुनै एउटा बैंकमा सात वा आठ तहमा काम गरेको छ। अर्को बैंकको सिइओ भइहाल्नु भयो। त्यसपछि फेरि अर्को बैंकको सिइओ हुनु भयो,' उनले भने, ५० हजार खानेले २ लाख हुँदै ३ लाखमा पुग्नु भयो। १० बर्षमा १० गुणाले तलब बढेर पो तपाईँहरु उदय भइदिनु भयो। यति छिटोछिटो नेपालमा आम्दानी बढेर धनी हुने भए त पोहोर परार नै समृद्ध नेपाल सुखी नेपाली भइसक्थ्यो।'

उनले बैंकर मात्र समृद्ध भएर मुलुक समृद्ध नहुने भन्दै बैंकका लगानीकर्ता, निक्षेपकर्ता, ऋणी पनि समृद्ध हुनुपर्ने  बताए।