फाइल फोटो
विराटनगर। विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीसम्म आइपुगेका मालवाहक कन्टेनरहरू नेपालस्थित भन्सारको यार्डमा आइपुग्न ७ दिनभन्दा बढी लाग्न थालेपछि पूर्वको निकासी–पैठारीमा प्रतिकूलता थपिएको छ।
विशेषतः तेस्रो मुलुकबाट आएका मालवस्तु बोकेका कन्टेनरलाई ७ किलोमिटर सीमान्त दूरी पार गरेर विराटनगर भन्सार यार्डमा आइपुग्न ७ दिनभन्दा बढी लाग्ने गरेको हो। जोगबनी बजारको जाम छिचोलेर भन्सारको यार्डसम्म कन्टेनर आइपुग्न एक हप्ताभन्दा बढी लाग्ने समस्या पहिलेदेखिकै भए पनि मंसिर महिना लागेपछि अझ जटिल भएको छ।
विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले तेस्रो मुलुकबाट आएका कन्टेनरहरू सहज ढंगले विराटनगर भन्सार परिसरमा आउन नपाएको पुष्टि गरे। उपाध्यक्ष उपाध्यायले तेस्रो मुलुकबाट भारतीय भूमि हुँदै नेपाल आएका मालवस्तु भारतीय पक्षले नेपाल–भारत व्यापार–पारवहन सन्धिअनुसार निर्वाध नेपाल पस्न दिनुपर्ने जिकिर गरे।
तर जोगबनीस्थित भारतीय प्रहरीले तेस्रो मुलुकका कन्टेनरभन्दा पनि भारतबाट नेपालतर्फ आउने कोइला, चामल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई बढी प्राथमिकता दिएर नेपाल छिराउने गरेको अनुभव व्यवसायीले गरेका छन्। पश्चिम बंगाल सरकारले कोइला निर्यातमा एक वर्षअघि प्रतिबन्ध लगाएपछि काँकडभिट्टा भन्सारबाट आउने गरेको कोइला विराटनगर भन्सारबाट पैठारी हुन थालेको छ।
‘कोइलाका ठेकेदारले निश्चित मितिमा कारखानामा माल झारिसक्ने सम्झौता गरेका हुन्छन्, त्यसैले ती ठेकेदारहरू ट्रक सँगसँगै हुन्छन्,’ भन्सार स्रोतले भन्यो, ‘ती ठेकेदारका ट्रकलाई जोगबनीमा ट्राफिक नियमले छुँदैन। उनीहरुले त्यहाँका प्रहरीलाई मिलाएका हुन्छन्। भारतीय प्रहरीले कोइलाका गाडीलाई ओभरटेक गराएर सबैभन्दा पहिला सीमा कटाइदिन्छन्। यसपछि चामल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई पनि भारतीय प्रहरीकै चलखेलमा ओभरटेक गराएर पठाइन्छ। यसरी समुद्रपारबाट पैठारी गरिएका मालवस्तु लोड गरिएका कन्टेनरहरू पछि पारिन्छन्।’
विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले आफू बिहान ७ बजेदेखि राति ९ बजेसम्म जाँचपासमा व्यस्त हुँदा पनि जामको व्यवस्थापन उस्तै रहेको बताए।‘म भर्खर सरुवा भएर आएको हुँ, मैले आउनेबित्तिकै पारिको भन्सार प्रशासन र प्रहरीसित पनि कुरा गरिसकेको छु,’ प्रमुख भण्डारीले बिजमाण्डूसँग भने, ‘तर जति अनुरोध गरे पनि जामको समस्या उस्तै छ। सबैले देखिरहनु भएकै छ।’
केही आलोचकले चाहिँ प्रमुख भन्सार अधिकृत भण्डारीले पारि समन्वय गर्न नसकेकाले जामको समस्या विकराल बन्नुका साथै व्यापार सहजीकरण हुन नसकेको आरोप लगाइरहेका छन्। ‘भन्सार कार्यालयको काम मालवस्तुको जाँचपास गरेर राजस्व असुल गर्नुमात्र होइन, व्यापार सहजीकरण पनि हो,’ आलोचकको भनाइ छ, ‘तर विराटनगर भन्सार व्यापार सहजीकरणका लागि सुस्त बनेको अनुभव गरिएको छ ।’
नेपालतर्फ आइरहेका कन्टेनरको लर्को सीमा नाकाबाट १० किमि दक्षिणसम्म रहेको क्लियरिङ एजेन्ट देवकी शर्माले बताए। जोगबनीका जाममा कन्टेनर रोकिने गरेका कारण समुद्रपारबाट हुने आयातको ढुवानी खर्च ३० प्रतिशतले महँगो भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यकारी सदस्य श्रवण अग्रवालको दाबी छ।
‘२० फिटको कन्टेनर बोकेको टेलर रहेछ भने त्यसको डिटेन्सन दैनिक भारू २ हजार र ४० फिटको टेलरको ३५ सय तिर्नुपर्छ,’ अग्रवालले भने, ‘यसबाहेक कन्टेनरको ड्यामरेज शुल्क छुट्टै छ। दिनको ५५ देखि ९५ डलरका हिसाबले कन्टेनरको ड्यामरेज चार्ज तिर्नुपर्छ।’ विराटनगर नाकाबाट कोइला दैनिक औसत ५० ट्रक, धान र चामल गरी दैनिक करिब सय ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कलरी सयवटाको हाराहारीमा भित्रने गरेको भन्सार कार्यालयले जनाएको छ।