BIZMANDU
www.bizmandu.com

पोखरामा पुस १२ गतेदेखि सडक महोत्सव, पर्यटकीय गतिविधिलाई चलायमान बनाउने

२०७६ मंसिर १८

Tata
GBIME
Nepal Life

पोखरा। रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख) सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ।

‘सडकमै खाऔं, सडक रमाऔं' भन्ने नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आइएको महोत्सवलाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए। पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम संख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए।

रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव यहाँको पहिचानजस्तै बनेको बताउँदै यसलाई सरकारी तवरबाटै राष्ट्रिय महोत्सवका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा यस महोत्सवले उक्त लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताए। महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक प्रदर्शनी लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।